बलिउड कलाकार रणवीर सिंह, आलिया भट्ट र रणबीर कपूर ‘सेवा संकल्प अभियान’सँग जोडिएका छन्। यस अभियानअन्तर्गत रणवीर सिंहले एक हजार छात्राको शिक्षामा सहयोग गर्ने जिम्मेवारी लिएका छन् भने आलिया भट्ट र रणबीर कपूरले मुम्बईका २० वटा विद्यालयलाई सुधार गर्न सहयोग गर्ने संकल्प गरे।
रणवीर सिंह बिहीबार भगवान् गणेशको आशीर्वाद लिन मुम्बईको प्रसिद्ध लालबागचा राजा पण्डाल पुगेका थिए। त्यहाँ उनले पर्वको अवसरमा एक हजार छात्राको शिक्षामा सहयोग गर्ने संकल्प लिएको बताए।
गणेश चतुर्थीका अवसरमा रणवीर सिंहले भने, 'म ‘सेवा संकल्प अभियान’सँग जोडिन र १ हजार छात्राको शिक्षामा सहयोग गर्ने संकल्प लिन्छु। मलाई आशा छ, यसबाट बप्पा प्रसन्न हुनुहुनेछ र उहाँको आशीर्वाद सधैँ हामीसँग रहनेछ।'
भारतीय मिडियाका अनुसार रणवीर यस सामाजिक अभियानमा सहभागी हुने बलिउडका कलाकारमध्ये एक हुन्।
आलिया भट्ट र रणबीर कपूरले पनि मुम्बईका २० वटा विद्यालयको नवीकरण तथा सुधारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनका अवसरमा आलिया भट्टले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै रणबीर कपूरसँग मिलेर यो नयाँ पहलको घोषणा गरेकी हुन्।
प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिँदै आलियाले लेखेकी थिइन्, 'हाम्रा सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई जन्मदिनको शुभकामना आगामी वर्ष तपाईंका लागि स्वस्थ र खुसीले भरिपूर्ण रहोस्।'
उनले थपेकी थिइन्, 'यस दिनलाई मनाउन र यस पुण्य कार्यमा सहयोग गर्न रणबीर र म बीएमसीको सिफारिसअनुसार २० वटा विद्यालयलाई सुधार गर्ने संकल्प गर्दैछौँ, ताकि हाम्रा बालबालिकाले सिक्न र अगाडि बढ्नका लागि अझ राम्रो तथा आवश्यक सुविधाले सम्पन्न वातावरण पाउन सकून्।'
कामको कुरा गर्दा रणवीर सिंह आफ्नो आगामी फिल्म ‘प्रलय’ का कारण चर्चामा छन्।
प्रकाशित: २ आश्विन २०८३ १३:५९ शुक्रबार

