६ भाद्र २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

गायिका समीक्षा अधिकारीलाई डेढ वर्षदेखि हैरान बनाइरहेका ‘रमेश शाही’

गायिका समीक्षा अधिकारीले आफूलाई पछिल्लो डेढ वर्षदेखि अज्ञात व्यक्तिले फरक-फरक नम्बरबाट फोन गरेर हैरान पारेको बताएकी छिन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रमेश शाही नाम बताउने एक व्यक्तिले निरन्तर फोन गरेको खुलाएकी हुन्। अधिकारीका अनुसार फोन उठाउँदा उनले ‘म रमेश शाही’ भनी परिचय दिने गरे पनि ‘के कामले फोन गर्नुभएको?’ भनी सोध्दा भने आफ्नो नामबाहेक कुनै स्पष्ट कुरा गर्दैनन्। 

एउटा नम्बर ब्लक गर्दा अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिने गरेको र अहिलेसम्म करिब ५०० वटा फरक-फरक नम्बर ब्लक गरिसकेको उनको भनाइ छ। अझै पनि ती व्यक्तिले अरू मान्छेका मोबाइल नम्बर प्रयोग गरेर फोन गर्ने क्रम नरोकिएको उनले जनाएकी छिन्।

गायिका अधिकारीले आफ्नो मोबाइल नम्बर कसैले माग्दैमा बिनाकारण र बिनासोचविचार अरूलाई नदिन पनि सबैसँग आग्रह गरेकी छिन्। उनले ती व्यक्तिले नम्बर किन र के कामका लागि मागेका हुन्, एक पटक बुझेर मात्र दिन र आफ्नो नम्बर उपलब्ध गराउनेहरूले पनि गम्भीर हुन अनुरोध गरेकी छिन्।

हेर्नुस् उनको फेसबुक पोस्ट
करिब डेढ वर्षदेखि एउटै व्यक्तिले पटक–पटक फरक–फरक नम्बरबाट मलाई फोन गरिरहनुभएको छ। फोन उठाउँदा “म रमेश शाही” भन्नुहुन्छ, तर “के कामले फोन गर्नुभएको?” भनेर सोध्दा आफ्नो नामबाहेक कुनै स्पष्ट कुरा गर्नुहुन्न। एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट फेरि उही कुरा दोहोरिन्छ।
डेढ वर्षसम्म लगातार यस्तो भइरहेपछि आज यो कुरा सार्वजनिक रूपमा लेख्नुपर्ने बाध्यता भयो।
डेढ वर्षको अवधिमा अहिलेसम्म करिब ५०० वटा फरक–फरक नम्बरबाट आएका कल ब्लक गरिसकेँ होला। अझै पनि उहाँले अरू व्यक्तिहरूको मोबाइल नम्बर प्रयोग गरेर मलाई फोन गरिरहनुभएको छ। एउटा नम्बर ब्लक गरेपछि फेरि अर्को नम्बरबाट फोन आउने क्रम रोकिएको छैन।”
कृपया मेरो नम्बर कसैले माग्दैमा बिना कारण र बिना सोचविचार अरूलाई नदिनुहोला। उहाँले मेरो नम्बर किन र के कामका लागि माग्नुभएको हो, एक पटक बुझेर मात्र दिनुहोला। साथै, उहाँलाई आफ्नो मोबाइल नम्बर दिने सबै जनाले पनि कृपया सोचेर र बुझेर मात्र आफ्नो नम्बर उपलब्ध गराइदिनुहोला।
यो पोस्ट कसैलाई अनावश्यक रूपमा आरोप लगाउनका लागि होइन, तर लामो समयदेखि भइरहेको यस्तो व्यवहार रोकियोस् भन्ने उद्देश्यले लेखेकी हुँ। सबैले यस विषयलाई गम्भीर रूपमा बुझिदिनुहोला।

प्रकाशित: ६ भाद्र २०८३ १३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App