हामी प्रश्नहरू खाँदै
प्रश्नहरू सिरानी लगाउँदै
सुतिरहेछौं
प्रश्नहरूकै खाटमा
लाखौं प्रश्नमध्ये
एउटा सन्दर्भ
प्रश्नहरू एयरपोर्टबाट
प्रश्न गर्दै बाहिरिरहेछन्
प्रश्नहरू
माटोलाई चुम्छन् पनि
माटोलाइ थुक्छन् पनि
बसेर
उत्तर दिने कुर्सीमा
दिनुपर्ने सेवाग्राहीको उत्तर
उल्टै सोधिरहेछ प्रश्न
यो दरबार
ढुङ्गामाटोले बन्यो कि
जनताको खुनपसिनाले?
प्रश्नहरू
प्रश्नहरूलाई नै
प्रश्न सोधिरहेछन्
अचम्म त यो छ कि
जब पुग्छन् सत्तामा
प्रश्नहरू आफैँ
आतुर हुन्छन्
लुकाउन उत्तरपुस्तिकाहरू
चुप बस्छन् प्रश्नहरू
जब फालिन्छन् सत्ताबाट
छाद्छन् प्रश्नहरू
जुरमुराउँछन् प्रश्नहरू।
प्रकाशित: २८ असार २०८३ ०९:४६ आइतबार





