नेपालको भविष्य कस्तो बनाउने भनेर सोच्नुअघि हामीले ‘नेपाल के हो?’ र ‘हामी नेपाली को हौं?’ भन्ने कुरा बुझ्न एकदमै जरुरी छ। नेपाल भनेको नक्सामा देखिने एउटा जमिनको टुक्रा मात्र होइन, यो त दक्षिण एसियाकै सबैभन्दा पुरानो र सधैं स्वतन्त्र रहेको गौरवशाली राष्ट्र हो। यो हाम्रो इतिहास, धर्म र प्राचीन सभ्यताको जग पनि हो।
यो पवित्र भूमिले हजारौं वर्षदेखि ज्ञान, ध्यान र जीवन जिउने सही तरिकालाई जोगाएर राखेको छ। यही भूमिबाटै संसारलाई बाटो देखाउने सनातन धर्म, बुद्ध दर्शन, किरात संस्कृति र प्रकृतिलाई पुज्ने परम्पराहरूको जन्म भएको हो। संसारकै महान् धर्म र संस्कारहरू मानिने हिन्दु र बौद्ध धर्मको जरा यही माटोमा छ। शान्ति र दयाका प्रतीक भगवान् बुद्ध जन्मिएको लुम्बिनी यहीं छ, जसले आज पनि संसारभरि शान्तिको सन्देश फैलाइरहेको छ।
यस पवित्र भूमिमा कालान्तरमा किरात धर्म र संस्कृति पनि मजबुत रूपमा विकसित भयो, जसले आदिवासी पहिचानमा आधारित धार्मिक र सांस्कृतिक विविधता ल्यायो। प्राचीन समयदेखि नै नेपाली जीवनशैलीमा प्रकृतिपूजाको ठुलो महत्त्व रहँदै आएको छ। रुख, नदी, हिमाल र सूर्यको पूजा केवल धार्मिक कर्मकाण्ड मात्र होइन, जीवनसँग जोडिएको गहिरो सोच र अनुभूति हो। नेपाली सभ्यताले मानिस र प्रकृतिबीचको सम्बन्ध सन्तुलित राख्ने ज्ञान र संयम सिकाएको छ, जुन कुरा आज पनि विश्वका धेरै सभ्यताले सिक्न खोजिरहेका छन्।
नेपालको गौरवशाली इतिहास जनकपुरको चर्चा नगरी पूरा हुँदैन। मिथिलाको राजधानी जनकपुर राजा जनक र देवी सीताको जन्मभूमि हो। यसले रामायणकालीन परम्परालाई नेपाली संस्कृति र जीवनसँग जोडेको छ। त्यस्तै, हिमाली क्षेत्रमा अवस्थित सगरमाथा। विश्वकै सबैभन्दा अग्लो शिखर, ले नेपालको पहिचानलाई केवल भौगोलिक रूपमा मात्र होइन, आध्यात्मिक रूपमा पनि विश्वसामु उचालिदिएको छ। यी सबै पक्षले नेपाललाई शान्ति, आस्था र चेतनाको भूमि बनाएका छन्।
सदियौंदेखि ऋषि–मुनिहरूको तपोभूमि रहँदै आएको नेपालले वैदिक साहित्यको विकासमा महत्त्वपूर्ण योगदान दिएको छ। महर्षि वेदव्यासले यही हिमालयका गुफाहरूमा वेदको संग्रह र सम्पादन गरे, महाभारत लेखे र पुराणहरूको रचना गरे। त्यसैले नेपाल केवल ऐतिहासिक देश मात्र होइन, सनातन सभ्यताको एक महत्त्वपूर्ण आधार पनि हो। हिन्दु, बौद्ध र किरात धर्म–संस्कृतिबिचको सहअस्तित्व र आपसी समझदारीले नेपाली समाजलाई आत्मिक रूपमा एकतामा बाँधेको छ। धर्मका अभ्यास फरक भए पनि नेपालीहरूको आस्था, परम्परा र सांस्कृतिक आधार मूलतः एउटै रहँदै आएको छ।
आधुनिक नेपाल निर्माणसँगै पछिल्लो कालखण्डमा इस्लाम र इसाई धर्मका अनुयायीहरू पनि नेपालमा आए। नेपाल अधिराज्यको एकीकरणको अभियानमा सानै संख्यामा भए पनि मुस्लिम समुदायले योगदान गरेको छ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले हतियार र बारुद बनाउनका निम्ति बनारसबाट केही मुस्लिम कालीगढहरू झिकाएको इतिहासमा उल्लेख छ।
मल्लकालीन समयमा इसाई धर्मावलम्बी पादरीहरू काठमाडौं उपत्यकामा आएर धर्मान्तरणको कार्यमा संलग्न रहेको पाइन्छ। पछि पृथ्वीनारायण शाहले सनातन धर्म र संस्कृति विपरीत गतिविधि गरेका कारण पादरीहरूलाई देशनिकाला गरेका थिए। सन् १९५० को दशकपछि भने शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने गरी इसाई मिसनरीहरूलाई नेपालमा प्रोत्साहित गरिएको थियो।
प्राचीनकालदेखि धार्मिक सहिष्णुता र सहअस्तित्व नेपाली संस्कृतिको विशेषता रहँदै आएको छ। यहाँ विभिन्न जाति, धर्म, भाषा, वर्ग र सम्प्रदायको सहअस्तित्व केवल सम्भावना होइन, यथार्थ हो। विविधताभित्रको एकता नेपाली राष्ट्रको परिचय हो। ‘एकं सत् विप्राः बहुधा वदन्ति’ - सत्य एउटै छ, तर विद्वान्हरूले सत्य प्राप्तिको मार्गहरू विविध छन् भन्छन्। यो भनाइ वैदिक दर्शनको आधारभूत मान्यता हो। यो मान्यता आधुनिक बहुलवादको दार्शनिक स्रोत हो।
नेपाली समाजको मूल जीवनदर्शन यो प्राचीन श्लोकमा प्रतिविम्बित हुन्छ–
‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग्भवेत्।’
अर्थात्, सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैले कल्याण देखून्, कसैले पनि दुःख भोग्न नपरोस्। यो मन्त्र केवल धार्मिक होइन, राज्यदर्शनको आधार हो। जनताको हित, समाजमा शान्ति, जीवन र सम्पत्तिको सुरक्षा तथा वातावरणको संरक्षण– यी राज्यका दायित्व हुन् भन्ने विश्वास वैदिक युगदेखि नै रहँदै आएको छ। यो मान्यता आधुनिक विश्वले स्वीकार गरेको सामाजिक न्याय र समानताको सिद्धान्त हो।
पश्चिमी राष्ट्रदर्शनले धर्मलाई राजनीति वा राज्यबाट अलग गर्ने ‘धर्मनिरपेक्षता’ को अवधारणा प्रस्तुत गरे पनि, पूर्वीय परम्पराले धर्म र राजनीतिलाई एकाकार मानेको छ। अधर्म (अन्याय), विधर्म (संस्कारविपरीत चिन्तन) वा धर्मनिरपेक्षता नेपालीपन होइन। परम्परादेखि नेपालमा चलिआएका पर्व, चाड, सांस्कृतिक अभ्यास, जीवनशैली र कानुनी नैतिकतासम्ममा धर्मको गहिरो प्रभाव छ।
नेपाली जनताको राष्ट्रिय एकता कुनै राजनीतिक व्यवस्थाको उपज होइन, यो सनातन धर्म, संस्कृति र साझा परम्परामा आधारित भावनात्मक एकता हो। चाहे हामी हिमाल, पहाड वा तराईमा बसौं, हाम्रा साझा भगवान् छन्। एउटै देवीदेवता, परम्परा र मूल्यबाट गाँसिएका छौं। पूजाविधि फरक हुन सक्छ, तर परमसत्यको भाव एउटै छ। यही भावले नेपालीलाई आत्मिक, सांस्कृतिक र राष्ट्रिय भावनामा बाँधेको छ। यो नै नेपालको आत्मा वा मौलिक नेपालीपन हो।
प्राचीनकालमा वर्तमान नेपाली भूखण्डमा कायम रहेका धर्म–संस्कृति एवं मूल्य–मान्यताले एउटा छुट्टै सभ्यताको प्रत्याभूति गराएका थिए। भारतवर्षमा विकसित कतिपय सभ्यता र संस्कारजन्य पद्धतिको स्रोत पनि हिमवत्खण्ड र मानसखण्ड नै थियो। विशेष गरी काठमाडौं उपत्यका,काठमाडौं, भक्तपुर र पाटन, ले कला, शिल्प, व्यापार र ज्ञानको केन्द्रका रूपमा परिचय बनायो। बौद्ध स्तूपहरू स्वयम्भूनाथ, बौद्धनाथ र बहु–तले मन्दिरहरू नेपाली वास्तुकलाका विश्वप्रसिद्ध उदाहरण हुन्।
यी सबैले नेपाललाई केवल धार्मिक भूमि मात्र नभई विशिष्ट ‘सभ्यता राष्ट्र’को पहिचान दिएका छन्। नेपाल केवल भूगोल मात्र होइन, यो सनातन सभ्यताको जीवन्त प्रतीक हो, आध्यात्मिकताको केन्द्र हो र मानवताको साझा सन्देश बोकेको पवित्र भूमि हो।
इतिहासकारहरूले राजा मानदेव (ई.सं. ४६४–५०५) को शासनकाललाई नेपालको सुव्यवस्थित राज्य सञ्चालन र सांस्कृतिक समृद्धिको महत्त्वपूर्ण युग मान्दछन्। चाँगुनारायणको शिलालेख यस युगको प्रमाण हो। त्यस समयमा राज्य सुदृढ, नीति सुसंगत र संस्कृति समुन्नत रहेको प्रमाणित हुन्छ।
(राप्रपा नेता कमल थापाद्वारा लिखित पुस्तक ‘संवर्धनवाद: राष्ट्रिय पुनर्जागरणको प्रस्ताव’को अंश। पुस्तक शनिबार सार्वजनिक हुँदै छ।)
प्रकाशित: २ फाल्गुन २०८२ ०९:२३ शनिबार





