दक्षिण कोरियाको एक अदालतले बोय ब्यान्ड विनरका सदस्य, संगीत निर्माता तथा पप गायक सोङ मिन होलाई वैकल्पिक अनिवार्य सेवाका क्रममा काममा उपस्थित नभएको अभियोगमा एक वर्षको जेल सजाय सुनाएको छ।
३३ वर्षीय सोङ मिन हो ‘मिनो’ नामले पनि चिनिन्छन्। सोल पश्चिमी जिल्ला अदालतले बिहीबार उनलाई सैनिक सेवा ऐन उल्लंघन गरेकोमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।
मिनोले मार्च २०२३ देखि डिसेम्बर २०२४ सम्म पश्चिमी सोलस्थित एक संस्थामा सामाजिक सेवा एजेन्टका रूपमा वैकल्पिक अनिवार्य सेवा गरेका थिए। तर, उक्त अवधिमा उनी कुल १०२ दिन कार्यस्थलमा उपस्थित नभएको आरोप लागेको थियो।
सरकारी अभियोजन पक्षले उनलाई १८ महिनाको जेल सजाय दिन माग गरेको थियो। फैसलाअघि मिनोले आफ्नो कामप्रति पछुतो लागेको र आफूलाई माया तथा समर्थन गर्नेहरूसँग क्षमाप्रार्थी रहेको बताएका थिए।
दक्षिण कोरियाको कानुनअनुसार शारीरिक रूपमा सक्षम पुरुषले कम्तीमा १८ महिना अनिवार्य सैन्य सेवा गर्नुपर्छ। केहीले छुट पाउने भए पनि अन्यले वैकल्पिक सेवामार्फत आफ्नो दायित्व पूरा गर्छन्।
प्रकाशित: १६ आश्विन २०८३ १६:२५ शुक्रबार


-600x400.jpg)


