साहित्य मानवीय भावना र अनुभूतिको अभिव्यक्ति मात्र होइन, जाति, समाज, संस्कृति र राजनीतिको प्रतिविम्ब पनि हो। हाम्रा वेद, रामायण, महाभारतदेखि वर्तमान अवस्थासम्म मानवजीवनका बहुआयामिक पक्षहरूलाई साहित्य र साहित्यकारहरूले प्रतिविम्बित गर्दै आएका छन्।
नेपाली साहित्यका सन्दर्भमा पनि यो ऐतिहासिक यथार्थ अभिव्यक्त भएको छ। वीरधाराका नेपाली कविहरूले आफ्ना कविताका माध्यमबाट राजनीतिक कर्तव्य र वीरताको वर्णन गरेका छन्। भानुभक्त, मोतीराम, लेखनाथ, लक्ष्मीप्रसाद, गोपालप्रसाद रिमाल, भूमिको कवितामा अभिधात्मक, लाक्षणिक र व्यञ्जनात्मक रूपमा युगीन राजनीतिक सन्दर्भहरू अभिव्यक्त भएका छन्। नेपालको प्रजातान्त्रिक राजनीतिक इतिहासका शिखर पुरुष तथा नेपाली आख्यान साहित्यका विराट प्रतिभा बिपीले साहित्यसिर्जनाका माध्यमबाट मानवीय स्वतन्त्रता, प्रजातान्त्रिक मूल्य र कलात्मक सौन्दर्यबिचको अनुपम समन्वय प्रस्तुत गरेका छन्।
यद्यपि बिपी औपचारिक रूपमा साहित्य र राजनीतिलाई जीवनका अनिवार्य तर परस्पर भिन्न उद्देश्यद्वारा स्थापित क्षेत्र स्विकार्थे, तापनि उनको साहित्यसाधनामा अथवा राजनीतिक सङ्घर्षमा यी दुई क्षेत्रबिच पारस्परिक समन्वय थियो। बिपीको राजनीतिक अभिव्यक्ति कलात्मक सौन्दर्यमिश्रित हुन्थ्यो भने साहित्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा राजनीतिक विषयले महत्त्व पाएको हुन्थ्यो। नेपालको राजनीतिक इतिहासमा बिपी एक त्यस्ता विशिष्ट प्रतिभा थिए, जसमा प्रजातान्त्रिक समाजवादी राजनीतिक चिन्तन र साहित्यसौन्दर्यको सैद्धान्तिक र प्रयोगात्मक समन्वय थियो। विश्वको राजनीतिक तथा साहित्यिक इतिहासमा यस प्रकृतिको गुणसम्पन्न प्रतिभा विरलै पाइन्छन्। बिीका कविता, कथा, उपन्यास र निबन्धहरूमा उनको राजनीतिक चिन्तनले उच्च साहित्यसौन्दर्य प्राप्त गरेको छ । उनका ‘आफ्नो कथा’, ‘आत्मवृत्तान्त’, ‘जेलजर्नल’जस्ता राजनीतिक दस्ताबेजहरू साहित्यसौन्दर्यले भरिभराउ छन्।
बिपीको प्रजातान्त्रिक समाजवादी चिन्तन र साहित्य साधनाका कुशल अध्येता तथा व्याख्याता प्रदीप गिरी लेख्छन्– ‘जन्मदै कोही महिला दोस्रो दर्जाका प्राणी हुँदैनन्। समाज र संस्कृतिले महिलालाई यस्तो दर्जा दिन्छ। महिलाको प्रश्नका दृष्टिले बिपीको ‘तीन घुम्ती’ उपन्यास अनुपम कृति हो। यसमा नायिका इन्द्रमाया पति पीताम्बरसँग सवालजवाफ गर्छिन्। इन्द्रमायाका शब्द खरा र स्पष्ट छन्। बिपी राजनेता, प्रखर चिन्तक र साहित्यकार थिए। उनमा गान्धीको नैतिक तडप र नेहरूको बौद्धिक खोजको समन्वय थियो। बिपी साहित्यमा पाइने सुसंस्कृत समाजको चित्रले नेपाली बौद्धिक विमर्शलाई एउटा उचाइ दिएको प्रमाणित गर्छ । समाजवाद बिपीको राजनीतिक लक्ष्य थियो। किशोरावस्थादेखि नै उनमा एकै साथ राजनीतिक र साहित्यिक चेतनाको विकास भएको थियो।
बिपी सुरु सुरुमा माक्र्सवादी थिए। श्रमिकको गुणगान गरेर कहिल्यै नथाक्ने माक्र्सले श्रमिकलाई जन्मदिने महिलाको योगदान र मूल्य देखेनन् । बिपीले अघि बढेर आफ्नो समाजवादी चिन्तनमा नारीको अस्तित्व र मूल्यलाई उच्च महत्त्व दिएका छन्। उनको समग्र साहित्यसिर्जना यही चिन्तनबाट अनुप्रेरित देखिन्छ । उनको प्रथम कविता ‘बम्बई प्रति’ (१९८७) बम्बई नगरलाई नारीकृत गरेर स्वतन्त्रताको शङ्खघोष गर्न सफल छ भने पहिलो कथा ‘चन्द्रवदन’ (१९९२) र उपन्यास ‘तीन घुम्ती’ (२०२५) नारी समस्या र अस्तित्वका सौन्दर्यात्मक अभिव्यक्ति हुन्। बिपी साहित्यका माध्यमबाट नारी स्वतन्त्रताको मनोवैज्ञानिक तथा बौद्धिक पक्ष प्रस्तुत गरी समाजमा नवीनता र परिवर्तनको स्थापना गर्न चाहन्छन्। यथास्थितिप्रति विद्रोह र परिवर्तनको चाहना बिपीका राजनीतिक र साहित्यिक लक्ष्य हुन्। प्रजातान्त्रिक समाजवादका माध्यमबाट राजनीतिक लक्ष्य प्राप्त गर्न र मनोवैज्ञानिक तथा वैचारिक आख्यान साहित्यका माध्यमबाट साहित्यिक लक्ष्य प्राप्त गर्न बिपी सफल भएका छन् । यसैले साहित्यमा राजनीतिक प्रतिविम्ब र राजनीतिमा साहित्यिक प्रतिविम्ब बिपीका अन्योन्याश्रित शिल्पहरू हुन्।
बिपी साहित्यमा लाक्षणिक र व्यञ्जनात्मक रूपमा राजनीतिक प्रतिविम्बको खोज गर्ने हो भने उनका प्रायः सबै रचनामा यत्रतत्र समाजवादी चिन्तनको प्रभाव भेटिन सक्छ। केही रचनाहरूमा भने प्रत्यक्ष रूपमै स्पष्ट राजनीतिक प्रतिविम्ब पाइन्छ।
बिपी आफ्नो पहिलो कवितामा अङ्ग्रेजी शासनकालदेखिको व्यापारिक केन्द्र बम्बईलाई कुवेरनगरीको संज्ञा दिँदै नारीकरण गरेर पराधीन बम्बई र स्वतन्त्र बम्बईको यसरी तुलना गर्छन्–
हे कुवेरकी भव्य पुरी!
एक दिन तँ हाँस्थिस् घमण्डले
आज तँ हाँस्तै छस् स्वाभिमानले
आज तेरो सौभाग्यशाली शिर
कति उच्च, कति विशाल छ।
आज आकाश पनि तेरो सौभाग्यमा
मुग्ध भएर, नतमस्तक भएर
तँलाई चुम्न चाहन्छ।
बिपीको प्रस्तुत कविता किशोर काल १९८७ मा प्रकाशित भए पनि बाल्यकालमै लेखिएको हो। जब बिपी १२–१३ वर्षका थिए, स्वतन्त्र भारत र प्रजातान्त्रिक नेपालको परिकल्पना गरेर लेखेका हुन् । यस कवितामा काव्यात्मक गुणहरू पूर्ण रूपमा समाविष्ट छन् । विषयको रूपमा भारतीय स्वतन्त्रतालाई स्वीकार गरिएको छ भने कविताको गद्य शैलीलाई साहित्यशिल्पको रूपमा चयन गरिएको छ। यही कविता प्रजातान्त्रिक समाजवादी राजनेता र विशिष्ट साहित्यशिल्पीको प्रस्थानविन्दु मानिएको छ। उदीयमान नेता र साहित्यकार बिपीको जन्मको प्रथम क्षण मानिएको छ।
बिपीको पूरै जीवन प्रजातान्त्रिक राजनीतिक सङ्घर्षमा बितेको हो । बिपीले जुद्ध शमशेरको शासन कालमा एउटा कथा लेखे– ‘महाराजको सवारी’। त्यस कथामा जुद्ध शमशेरको विराटनगरमा भएको दौडाहालाई ‘महाराजको सवारी’ नाम दिएर राणाशाहीर उसको आर्थिक भ्रष्टाचारको सजीव चित्रण गरे। यसमा राणाशाहीको प्रत्यक्ष चित्रण थिएन, तापनि राणाहरूले बिपीको यो कथा प्रकाशित हुन दिएनन्। छापिँदा–छापिँदै जफत गरे। बिपीले १९९८ को पहिलो कथा ‘चन्द्रवदन’मै राजनीतिक प्रतिविम्ब दिन खोजेका छन्, यद्यपि यो कथा नारीस्वतन्त्रता र यौनमनोविज्ञानसँग सम्बन्धित मनोवैज्ञानिक रचना हो । यसमा चन्द्रवदनको लोग्ने अकारण पक्राउ पर्छ । राणा शासनले उसलाई निकै तनाब दिएको छ, जसका कारण ऊ पत्नी चन्द्रवदन र सानी छोरीलाई प्रेम–ममता दिन सक्तैन, पाउँदैन।
बिपीले पहिलो उपन्यास ‘तीन घुम्ती’मा पनि राजनीतिक अवस्थाको प्रतिविम्ब प्रस्तुत गरेका छन् । यस उपन्यासको नायक पीताम्बर राजनीतिक कारणले जेल पर्छ । नायिका इन्द्रमायाको ‘माता’ बन्ने चाहना अधुरो रहन्छ। पीताम्बरको साथी रमेशसँगको सहवासमा इन्द्रमाया गर्भिणी हुन्छे र पुत्रीलाई जन्म दिन्छे । प्रेम, नारीत्व र मातृत्वको संगम ‘तीन घुम्ती’ राजनीतिक चेतनाका दृष्टिले पनि उल्लेखनीय छ। पछिल्लो समय बिपीले अर्को एउटा कथा लेखे– ‘एक रात’। यो कथा प्रत्यक्ष रूपमै राजनीतिक विषयवस्तुमा आधारित भएर लेखिएको छ। यसको प्रकाशन पनि बिपीको निधनपछि मात्र भएको हो । यस कथाको नायक किशोर नेपालमा प्रजातन्त्रको स्थापना गर्ने उद्देश्यले निरङ्कुश राजा महेन्द्रलाई सचेत गराउन उनी सवार गाडीमा जनकपुरमा बम प्रहार गर्छ। यसले राजा महेन्द्रलाई कुनै क्षति गर्दैन, तापनि उनको पञ्चायती तानासाही सरकारले किशोरलाई मृत्युदण्ड दिन्छ। किशोरको मृत्युदण्डको समयलाई आधार मानेर कथाको नाम ‘एक रात’ राखिएको हो।
कथाकार बिपीको यो अन्तिम कथा हो। यस कथाको किशोर कमिस्नरले सोधेको अन्तिम इच्छासम्बद्ध प्रश्नमा नेपालको भविष्यको लागि प्रत्युत्तर गर्छ– ‘तमाम किशोर युवकहरूको जीवनमा मानवीय मर्यादा र सुख सम्भव हुन जाओस् ।’ त्यस युवकले ६४ वर्षअघि गरेको कल्पना अहिलेको गणतान्त्रिक नेपालमा पनि पूरा भएको थिएन। त्यसका निमित्त भदौ २३ मा तिनै किशोरहरूले फेरि सहादत दिनुपरेको थियो। विश्वको इतिहासमा स्रष्टाहरूले आफ्नो सिर्जनाका माध्यमबाट राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनको आह्वान गरेका छन्। यसको प्रभाव नेपाली साहित्यकारहरूमा पनि पाइन्छ। कवि धरणीधर कोइराला, गोपालप्रसाद रिमाल, भूपी शेरचन राजनीतिक व्यक्तित्व थिएनन्, तापनि उनीहरूले प्रत्यक्षअप्रत्यक्ष रूपमा राजनीतिक तथा सामाजिक परिवर्तनको शङ्खघोष गरे। धरणीधरले ‘जाग जाग अब जाग न जाग’ भनेर परिवर्तनको आह्वान गरे भने गोपालप्रसाद रिमालले ‘त्यो आउँछ, त्यो हुरी भएर आउँछ, तिमी पात भएर पछ्याउँछौ’ भनेर परिवर्तनलाई स्वागत गरे । भूपीले ‘हामी’ र ‘घुुम्ने मेचमाथि अन्धो मान्छे’का माध्यमबाट सामाजिक राजनीतिक विकृति र विसंगतिको चित्रण गर्दै त्यसप्रति चोटिलो व्यङ्ग्य गरे।
बिपी पारिवारिक परिवेश र विरासतदेखि नै राजनीतिक व्यक्ति थिए। यिनी सँगसँगै राजनीतिक परिवर्तन र साहित्यिक नवीनताका निमित्त विद्रोही भएर लागे । विचार र चिन्तन तथा विषयका रूपमा बिपी साहित्यमा प्रचुर मात्रामा प्रजातन्त्र र समाजवादी जीवनमूल्यका सन्दर्भहरू पाइन्छन्। कतै प्रत्यक्ष रूपमा पाइन्छन् भने कतै प्रच्छन्न रूपमा पाइन्छन् । बिपीका राजनीतिक अभिव्यक्तिहरू भाषा, अलंकार, विम्ब र प्रतीक, उदाहरण आदि साहित्यसौन्दर्यले पूर्ण छन् भने साहित्यमा विचार विषयवस्तुका रूपमा राजनीतिक सन्दर्भ र घटनाले प्रभाव पारेको देखिन्छ।
बिपीको साहित्यमा राजनीतिक प्रतिविम्ब र राजनीतिमा साहित्यिक प्रतिविम्ब अन्योन्याश्रित देखिए पनि उद्देश्य भने नितान्त स्पष्ट र भिन्न थिए। सामाजिक र राजनीतिक परिवर्तनका निमित्त उनको राजनीति केन्द्रित थियो भने मानवीय अनुभूति र भावनाको विकासद्वारा मानवजीवनलाई उन्नत, परिवर्तित र समृद्ध बनाउनु साहित्यिक उद्देश्य थियो । बिपीको प्रतिभा विश्वमा दुर्लभ मानिने जीवनका दुवै राजनीतिक र सामाजिक वृत्तिपूर्ण गर्न सफल थियो।
प्रकाशित: १२ वैशाख २०८३ ०७:५० शनिबार





