आमाको मुख हेर्ने औंसीको दिन कवि डा. अनन्त अधिकारी र सरस्वती चिमौरियाले आफ्ना दशदश थान कविता सुनाएका छन्।
सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको सभाध्यक्षता तथा मुक्तक साम्रज्ञी लाेकप्रिय साहित्यकार उषा शेरचनकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेलमा भएको कविता वाचन कार्यक्रममा डा. अनन्त अधिकारीले नयाँ वर्ष, भन बकरा, गनगने लोग्नेको श्रीपेच, काठमाडौँ र काठमाडौंहरू, सर्वाइवल नोट, पाउजु नामको स्वतन्त्रता हुँदैन, बासँग आग्रह, डोरप्रसादको डेरा, उप्रान्त मेरो भगवान लगायतका कविता सुनाए।
यसैगरी कवि चिमौरियाले आमा, वर्तमानको सारथी म, देश त संघीयतातिर जाँदैछ नि, आउ एउटा पार्टी खोलौं, ओ मेरो छोराकी प्रेमिका, आफन्तले, मैले दिन सकिन, दुखियाको जिन्दगी, म छाया खोजिरहेछु सुनाइन्।
प्रमुख अतिथि उषा शेरचनले कविहरूलाई सम्मानपत्र प्रदान गर्दै कविताले मन छोएको बताइन्। यस्तो व्यस्तताका बीचमा पनि कवि मनहरूको उल्लेख्य उपस्थिति हुनु सकारात्मक भएकाे भन्दै प्रशंसा गरिन्। शेरचनले सुन्दर बिम्बहरूको प्रयोगले कविताहरू बलिया रहेको बताइन्।
यसअघि अग्रज साहित्यकार, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले धेरै अघिदेखि कवितामा सुनिएकी कवि चिमौरियाका वाचित कविताहरू सुन्दर रहेको बताए। उनले भने, नयाँ वर्ष र आमालार्य भावनात्मक रूपले प्रस्तुत गरेर युगबोध हुने खालका अन्य कविता साँच्चै सुन्दर छन्।
देशप्रतिको चिन्ताको प्रकटीकरण भएका छन्। बेथितिप्रति कटाक्ष गर्दै जनताको असन्तुष्टिको भकारीमा अन्न राखेर बढ्दै गएजस्तै भरिएको चित्रण गरिएका छन्। उनले भोलिका दिनको चिन्ता र व्यवहार सचेत गराउने गरी कविता आएको बताए।
अर्का कवि डा. अधिकारीका कविताप्रति टिप्पणी गर्दै रोदनले भने, कविताहरू सकारात्मक आयाममा आएका छन्। मान्छेका मन छामेर उपचार गर्नुपर्ने चिकित्सकले कवितामा समग्र मानवीयता पोखेको बताए।
उनले भने, ‘डा. अधिकारीका कविता मान्छेका विभिन्न भूमिकाप्रति लक्षित छ। देखिएका सबै सत्य नहुन सक्छ भन्ने गहन भावका कविता पनि सुनिएका छन्। काठमाडौँको विशालताभित्रका असंख्य पीडाका कविता पनि आएका छन्।’
डा. अधिकारीको कवित्व चेत उच्च रहेको पनि उनले बताए।
लेखनाथ हुमागाईले आफूले पढाएका विद्यार्थीहरूको साहित्य सिर्जना र सकारात्मक कार्यमा लगनशीलता देखेर मन खुशी भएको बताए।
संस्थाका महासचिव प्रदीप सापकोटाले सहजीकरण गरेकाे कार्यक्रममा उपाध्यक्ष रामसुन्दर देउजाले शब्दमार्फत उपस्थितजनकाे स्वागत गरेका थिए।
अतिथिहरूलाई खादाद्धारा चिवहाल परिवारका राष्ट्रमान तुलाधरले सम्मान अर्पिएका थिए। कविद्वयलाई प्रमुख अतिथि शेरचनले माला लगाएर सम्मान अर्पिएकी थिइन्।
कार्यक्रम चिबहाल, गौचर ठमेलको सहकार्यमा भएको थियो। इखवर नेट मिडिया पार्टनर रहेको थियो। कार्यक्रममा लाेकप्रिय कविलेखकहरूकाे उल्लेख्य उपस्थिति थियो।
प्रकाशित: ५ वैशाख २०८३ ०६:३५ शनिबार





