आगामी मंसिर ४ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘जलाकी’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार (राइट्स) अमेरिका र क्यानडाका लागि बिक्री भएको छ।
अमेरिका र क्यानडाको प्रदर्शन अधिकार ‘पिएनएम एलएलसी’ ले खरिद गरेको निर्देशक मगरले बुधबार जानकारी दिए। ती देशहरूमा फिल्म प्रदर्शन हुने मिति वितरक कम्पनी र निर्माताबीचको आपसी छलफलपछि तय गरिने उनले बताए।
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका सार्वजनिक गीत र टिजरले सामाजिक सञ्जालमा चर्चा पाइरहेका छन्। विशेषगरी ‘चाँदी जलप’ बोलको गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनिसकेका छन्। यस्तै ‘कलेजीको छेऊ’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतहरू पनि रिल्स तथा सर्ट्समा दर्शकले निकै रुचाएका छन्।
‘जलाकी’ को कथा मगर र गुरुङ समुदायको आस्था, संस्कृति, परम्परा र भावनामा केन्द्रित छ। निर्देशक मगरका अनुसार मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा ढुङ्गाले बनाइने विशेष स्तम्भलाई ‘जलाकी’ भनिन्छ। फिल्मले यही मौलिक सांस्कृतिक प्रतीकलाई मुख्य विषयवस्तु बनाएको छ।
फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर र दुइसाङ थिनले अभिनय गरेका छन्। यही चलचित्रमार्फत ‘मिस सिक्किम’ साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन्।
यसैगरी, फिल्मको विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर रहेका छन्।
एम मिडिया प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रका निर्माता ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।
नेपालभित्र भने फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ।
प्रकाशित: ११ कार्तिक २०८३ १४:२६ बुधबार

