११ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

शान्ति र मानव

दर्शन

विश्व शान्ति दिवसको सुरुवात सन् १९८२ देखि भएको थियो। सुरुसुरुमा विश्वशान्ति दिवस सेक्टेम्बरको तेस्रो मंगलबार मनाउने गरिन्थ्यो तर पछि मिति तोकेर यो दिवसका लागि सेक्टेम्बर २१ निर्धारित गरियो।

टेक्सासमा एउटा उखान छ - सबै स्वर्गवासी हुन चाहन्छन् र मर्न कोही पनि चाहँदैनन्। ठ्याक्कै त्यस्तै हामी सबै शान्ति चाहन्छौं तर शान्तिका लागि कुनै काम गर्दैनौं। इमानदारीपूर्वक हामी शान्तिका लागि प्रयास गर्‍यौं भने निश्चित रूपमा हामीलाई शान्ति प्राप्त हुन्छ किनकि शान्तिबाट हामी जिरो किलोमिटर मात्रै टाढा छौं।

शान्तिबिना मानव जीवनको कुनै मूल्य छैन। संसारभरिका हरेक मानिसको अन्तिम चाहना शान्ति नै हो। केही समय अघि हाम्रो मानसिक शान्ति हाम्रो हातमा थियो तर वर्तमान अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा यस्तो नराम्रो स्थिति सिर्जना भएको छ कि हाम्रो शान्ति हाम्रो हातमा छैन।

देशको स्थिति तथा सामाजिक व्यवस्था अनुसार मानसिक शान्ति प्राप्त हुन्छ। किनकि कुन देशको नेताले कुन बेला अनावश्यक समस्या पैदा गर्छ, ठेगान छैन। आफ्नो व्यक्तिगत लाभका लागि राष्ट्र प्रमुखहरू अनावश्यक विवाद गरिरहन्छन्। थरी थरीको आन्दोलनले गर्दा पनि देशको विकासमा रोकावट तथा दैनिक जनजीवन प्रभावित भइरहन्छ। यसका साथै समाजकल्याणका लागि सरकारका तर्फबाट कुनै खास प्रयास भएको छैन।

तीन प्रकारका शान्ति

राष्ट्रिय शान्ति - राष्ट्रिय स्तरमा सबै देशबिच राम्रो सम्बन्ध भएपछि मात्र राष्ट्रिय शान्ति हुन सक्छ। यसका लागि पञ्चशीलको सिद्धान्त पारित गरिएको छ।

- हरेक देशले अर्को देशको प्रादेशिक अखण्डता र सम्प्रभुताको सम्मानगर्नुपर्छ।

- एकअर्काविरुद्ध आक्रामक कारबाही गर्नु हुँदैन।

- एक अर्काको आन्तरिक विषयमा बाधा पुर्‍याउनु हुँदैन।

- समानता र लाभको नीतिलाई पालना गर्नुपर्छ।

- सबै देशले शान्तिपूर्ण तरिकाले विकास गर्ने नीतिमा भरोसा राख्नुपर्छ।

पञ्चशीलको सिद्धान्त व्यवहारमा प्रयोग गरे विश्वमा शान्तिको स्थापना हुन सक्छ तर वर्तमानमा कुनै पनि देशमा शान्तिको स्थिति छैन। यहाँसम्म कि पृथ्वी, आकाश र सागर सबै अशान्त छन्।

सामाजिक शान्ति– जातिवाद, छुवाछुत, लोभ, शिक्षा, अज्ञानता र थरी थरीका रोगहरूजस्ता समस्याले गर्दा पनि सामाजिक शान्तिमा बाधा भईरहन्छ।

व्यक्तिगत शान्ति– व्यक्तिगत शान्ति सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसका लागि तीनवटा आवश्यकता पूर्ण हुनुपर्छ। त्यो हो गास, बास र कपास। हुन त यी सबै कुरा कम वा बढी सबैलाई प्राप्त भइरहन्छ तर यसलाई झन् राम्रो गर्न मान्छे सारा जीवन भौंतारिइरहन्छ। यस क्रममा आन्तरिक शान्तिबाट मान्छे टाढा हुन्छ। यसपछि पूरै विश्वमा नयाँ समस्या जन्मन्छ। त्यो समस्या हो - गरिबी। वर्तमान समयमा पूरै विश्वमा दश प्रतिशत मान्छे धेरै नै गरिब छन्। यिनीहरूको आवश्यकता पनि पूरा हुँदैन। यस्तो स्थितिमा शान्तिको कुरा गर्नु कल्पनाजस्तो लाग्छ।

मानिसको अर्को महत्त्वपूर्ण आवश्यकता आध्यात्मिकतासँग जोडिएको छ। आध्यात्मिकता बिना परम शान्ति प्राप्त हुन सक्दैन। अध्यात्म एउटा दिव्य सिद्धान्त हो, राजमार्ग हो। यस मार्गमा यात्रा गरे जीवन सुखी र शान्त हुन सक्छ।

हुन त शान्ति पाउन महान् र कठिन काम हो तर पनि केही कुरा याद राखे शान्ति प्राप्त गर्न सकिन्छ। आन्तरिक शान्तिको बाहिरी समस्यासित सम्बन्ध त्यति हुन्छ, जसरी तपाईं  समस्यालाई हेर्नुहुन्छ।

जीवनमा दुःख तथा समस्या हुँदा हुँदै पनि मान्छे काम गरिरहन्छ। बेलाबेला हाँसिरहन्छ। शान्ति र आनन्द उसको स्वभाव पनि हो, चाहना पनि हो। यसैकारण बाहिरी  उल्झन, असन्तुलन भए पनि मान्छे आआफनो बुझाइअनुसार आफै शान्त र आनन्दित रहन्छ।

व्यक्तिगत शान्तिका लागि

भावशुद्धि - भावशुद्धिको अर्थ हो हाम्रो मनमा सबैका लागि कल्याणको भाव राख्नु। यसप्रकारको भावना आन्तरिक शान्तिले वृद्धि गर्छ।

स्वीकार भाव - एउटा उखान छ - हामी जे सोच्छों, त्यो हुँदैन, जे हुन्छ त्यसबारे सोचेका हुँदैनौं। महात्मा बुद्ध भन्नुहुन्छ - चाहिने कुराका लागि सक्दो प्रयास गर्ने तर जति प्राप्त भयो त्यसलाई स्वीकार गर्ने। स्वीकारले भाव सन्तुष्टि दिन्छ र सन्तुष्टिले शान्ति दिन्छ।

ध्यानसाधना -  सानो हुँदा हामी शान्त र आनन्दित रहन्छौं । प्राकृतिक रूपले यो स्थिति तीन वर्षसम्म रहन्छ तर तीन वर्षदेखि सात वर्षसम्म पुग्दा प्राकृतिक आनन्दबाट हामी टाढा हुँदै जान्छौं। यसकारण ध्यानसाधना हामीलाई आफूसित पहिचान गराउने बाटो हो। दैनिक जीवनमा हामी ध्यानसाधना गर्छौं भने शान्ति, स्वास्थ्य र सुखमा वृद्धि हुन्छ।

प्रकाशित: ११ आश्विन २०८२ १२:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App