यस धरतीमा जन्मेपछि हरेक मानवले अनेकौँ चुनौती पार गर्दै संघर्षपूर्ण जीवन व्यतीत गर्नुपर्ने हुन्छ। त्यसमा पनि नारीको जीवन अझ कष्टकर र संघर्षपूर्ण बन्न पुग्छ। उसका अगाडि चुनौतीका पहाडहरू ठडिएका हुन्छन्। ती पहाडहरू पार गर्न जीवनमा भएभरको शारीरिक र मानसिक शक्ति लगाउँदा पनि कतिपय अवस्थामा सहज हुँदैन।
हाम्रो समाजमा शिक्षित भनिएका महिलाहरूले समेत अनेकौँ सामाजिक, पारिवारिक तथा मानसिक उत्पीडन भोग्नुपरेको छ भने अशिक्षित, आर्थिक रूपमा विपन्न तथा पिछडिएका वर्गका महिलाहरूको अवस्था कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ।
नारीले भोग्नुपरेका यिनै विविध पीडा, उत्पीडन, उपेक्षा र संघर्षको मार्मिक चित्रण स्रष्टा मुना मिश्रले आफ्नो आत्मकथात्मक कृति ‘अतीतका घाउहरू’ मार्फत गरेका छन्।
यसरी कथामा नारीले भोग्नुपरेका विविध पीडा, उत्पीडन, उपेक्षा र संघर्षको मार्मिक रूपमा प्रस्तुत गरिएकाे छ।
यो कथासंग्रह श्रष्ठा मुना मिश्रकाे काल्पनिक कथा नभएर स्वयं उनले आफैँले भोगेका पीडाहरू पोखेकी हुँ भन्ने कुरा भावुक हुँदै सुनाउँछिन्।
धनकुटामा जन्मिएर मोरङ बेलबारीलाई कर्मथलो बनाउँदै आएकी स्रष्टा मिश्रलाई मैले पाँच–छ वर्षअघि एक कविका रूपमा मात्र चिनेकी थिएँ।विभिन्न साहित्यिक कार्यक्रममा अत्यन्त मीठा छन्दबद्ध कविता सुन्न पाइन्थ्यो।
अति मिलनसार, सरल र भद्र स्वभावकी मिश्रभित्र यति गहिरो संवेदनशीलता रहेछ भन्ने कुरा उनको कृति ‘अतीतका घाउहरू’ पढेपछि अझ छर्लङ्ग भयो।
यस कृतिमा उनले आफैँले भोग्नुपरेका पारिवारिक पीडा, उत्पीडन र संघर्षलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरेकी छन्। माइती र घर दुवैतर्फबाट भोग्नुपरेका हिंसा, उपेक्षा र मानसिक पीडालाई उनले कथाका माध्यमबाट पोखेकी छन्।
आफ्ना जीवनका भोगाइलाई क्रमबद्ध रूपमा कतै नछुटाई प्रस्तुत गर्ने प्रयास उनको लेखनमा देखिन्छ। उनका कथामा बनावटीपनभन्दा यथार्थता बढी पाइन्छ। त्यसैले पाठकले यी कथाहरू पढ्दा आफूले आफ्नै वरिपरि देखेका, सुनेका वा भोगेका घटनाहरूको अनुभूति गर्न सक्छन्।
कथा सूची ‘सम्झनाका तरङ्गहरू’ बाट सुरु भएर ‘सफलताको चुचुरो चढ्दै’, ‘बुहारीलाई हेर्ने दृष्टिकोण’, ‘गाउँ छाडेको पल’, ‘एसएलसीको परिणाम’, ‘जीवनको पहिलो कमाइ’, ‘पढेरभन्दा पढेर जान्नु’, ‘जीवनको पहिलो यात्रा’, ‘अनुशासन’, ‘यौवनसँग यौन इच्छा’, ‘गीताका ‘नयाँ अध्याय’, ‘मनको कुरो मनमै गुम्स्याएँ’, ‘आमा हुनु धेरै जान्नु पर्दो रहेछ’, ‘भारी मन’, ‘डिप्रेसन भयो’, ‘आमाछोराको लामो बिछोड’, ‘माइतमा पनि विपरीत भयो’, ‘उथलपुथल’, ‘सुनिता मेरी पथप्रदर्शक’, ‘डाक्टरको रूपमा भगवान्’, ‘समवेदना’, ‘आँसुका भेलहरू’ हुँदै ‘कलिलो मुना’ मा पुगेर अन्त्य हुन्छ। ४६ शीर्षकमा आफ्नो आत्मकथा अटाउनुभएको छ। यी कथाहरूमा मुख्य पात्र सर्जकले आफैँलाई उभ्याएकी छन्।
यी सबै शीर्षकका मर्मस्पर्शी कथा पढ्दै जाँदा प्रत्येक कथामा पीडा भोग्ने पात्र कतै न कतै आफूभित्रै उभिएको अनुभूति हुन्छ। कतिपय प्रसङ्गमा त पीडा भोग्ने पात्र आफैँ भएजस्तो लागेर आँखाबाट आँसु बग्न थाल्छन्।
लेखकले आफ्ना जीवनका घाउहरूलाई शब्दमा उतार्दा पाठकको मनसम्म पनि ती पीडाका तरङ्गहरू पुग्छन्।
बेलबारी साहित्य विकास समितिले प्रकाशित गरेकाे यस कथासंग्रहमा समितिकी अध्यक्ष तथा साहित्यकार तिला लेकालीको प्रकाशकीय तथा शुभकामना मन्तव्य छ। त्यस्तै समितिका सचिव धनजित पराजुलीको सम्पादकीय भनाइ तथा शुभकामना सन्देश पनि समेटिएको छ। त्यसपछि लेखकले आफ्नो भनाइ प्रस्तुत गरेकी छन्।
नारीको मन पनि आखिर मन नै हो। उसले पनि माया खोज्छे, अपनत्व खोज्छे, दुःखमा कसैको काँध खोज्छे र खुसीमा कसैसँग मुस्कुराउन चाहन्छे तर विडम्बना, हाम्रो समाजले नारीलाई प्रायः सहनशीलताको मूर्ति बनाइदिएको छ। उसका आँखामा आँसु देखिए पनि भनिन्छ, ‘तिमी त बलियो हुनुपर्छ।’
उसको ओठमा मुस्कान नदेखिँदा सोधिन्छ, ‘के भयो?’ तर उसको मनभित्रको गहिरो पीडा सुन्ने फुर्सद कति जनासँग हुन्छ र?
नारी बिहानको पहिलो किरणसँगै उठ्छे र रातको अन्तिम तारासँगै निदाउँछे। घरका सबैका आवश्यकता सम्झिन्छे, सबैको रोजाइ बुझ्छे र सबैको खुसीमा आफ्नो खुसी खोज्छे तर कहिलेकाहीँ ऊ आफैँलाई प्रश्न गर्छे, ‘मेरो थकान कसले बुझ्छ? मेरो मनको भारी कसले बोक्छ?’ यस्ता प्रश्नहरू उसका ओठसम्म आइपुग्छन् तर आवाज नबनी फेरि मनमै बिलाउँछन्।
उसलाई सधैँ जिम्मेवारीको भारी बोक्न सिकाइन्छ तर मनको भारी बिसाउने चौतारी कहाँ छ भनेर कसैले सिकाउँदैन।
ऊ छोरी हुँदा बाबुआमाको इज्जत सम्झेर चुप लाग्छे। बुहारी हुँदा घरको मर्यादा सम्झेर चुप लाग्छे। श्रीमती हुँदा परिवारको भविष्य सम्झेर चुप लाग्छे। आमा हुँदा सन्तानको खुसीका लागि आफ्ना चाहना थाती राख्छे। यसरी चुपचाप सहँदासहँदै कतिपय नारीका मनमा पीडाका पहाड ठडिन्छन्।
शरीरमा लागेको घाउ देखिन्छ, त्यसमा औषधि लगाउन सकिन्छ तर मनमा लागेको घाउ देखिँदैन। त्यसका लागि औषधिभन्दा बढी आवश्यक हुन्छ-उसको संवेदना सुन्न तयार कान र ‘म तिम्रो साथमा छु’ भन्ने आत्मीय शब्द।
त्यसैले भनिन्छ, ‘नारीको मनभित्रका पीडा बिसाउने चौतारी भएन भने मानिस कहाँ बाँच्न सक्छ र?’ चौतारी बाटोको छेउमा बनाइएको विश्रामस्थल मात्र होइन, त्यो त थाकेको मनले केही क्षण अडिन पाउने ठाउँ हो। जहाँ प्रश्नहरूको वर्षा हुँदैन, दोष खोजिँदैन र आँसु लुकाउनुपर्दैन। जहाँ मनले निसङ्कोच भन्न सकोस्, ‘आज म थाकेँ।’
हरेक नारीलाई यस्तो चौतारी चाहिन्छ - आमालाई, छोरीलाई, श्रीमतीलाई, बुहारीलाई र दिदीबहिनीलाई। कहिलेकाहीँ उनलाई ठूलो उपदेश होइन, केवल सुनिदिने एउटा आत्मीय मान्छे चाहिन्छ। उनको समस्या तुरुन्त समाधान गरिदिनु आवश्यक नहुन सक्छ; उनको पीडा बुझिदिनु नै पर्याप्त हुन्छ।
नारीलाई सधैँ त्यागको प्रतिमूर्ति होइन, आफ्नै सपना, इच्छा र संवेदना बोकेकी पूर्ण मानवका रूपमा हेर्नुपर्छ। किनकि नारीको आँसु रोक्ने सबैभन्दा ठूलो शक्ति कुनै औषधिमा होइन, आत्मीय सम्बन्धमा हुन्छ।
जब घरमा एउटा यस्तो चौतारी बन्छ, जहाँ नारीले आफ्नो मन बिसाउन सक्छे, त्यहाँ घर केवल इँटा र ढुङ्गाले बनेको संरचना रहँदैन; त्यो प्रेम, विश्वास र सहानुभूतिले भरिएको आश्रय बन्छ। अनि त्यहीँबाट जन्मिन्छ -साँच्चिकै सुखी परिवार, स्वस्थ सम्बन्ध र सुन्दर समाज।
नारीको मन नबुझी समाज पूर्ण हुनै सक्दैन।
‘अतीतका घाउहरू’ एउटा महिलाको व्यक्तिगत जीवनभोगाइको दस्तावेज मात्र होइन; यो हाम्रो समाजमा अझै विद्यमान महिला उत्पीडन, असमानता, उपेक्षा र मौन पीडाको ऐना पनि हो।
यस कृतिमा एउटी नारीको जीवनका घाउहरू बोल्छन्, उनका आँसुहरूले प्रश्न गर्छन् र उनका संघर्षहरूले समाजलाई आत्मसमीक्षाका लागि आह्वान गर्छन्। यही कारणले यो कृति व्यक्तिगत आत्मकथाभन्दा माथि उठेर सामाजिक दस्तावेजको स्वरूप ग्रहण गर्न सफल भएको छ।
साहित्यकार मुना मिश्र एक दिन अब्बल कथाकारका रूपमा परिचित हुनुहुनेछ भन्ने छनक उहाँको यस कृति ‘अतीतका घाउहरू’ बाट स्पष्ट देखिन्छ।
आगामी दिनमा उनको कलम अझ सशक्त हुँदै जाओस्, समाजमा विद्यमान विकृति, विसङ्गति, अन्याय र उत्पीडनविरुद्ध निरन्तर झकझक्याइरहोस् र साहित्यका माध्यमबाट अझ धेरै आवाजविहीनका आवाज बन्न सकोस्, हार्दिक शुभकामना।
प्रकाशित: ४ आश्विन २०८३ ०७:०४ आइतबार





