नेपाली साहित्यको उन्नयनमा बाँके जिल्ला निकै अगाडि देखिएको छ। खासगरी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, वागेश्वरी क्याम्पस कोहलपुर लगायत अन्य धेरै सामुदायिक तथा संस्थागत शैक्षिकस्थलहरूका कारणले बाैद्धिक वर्गहरूको पनि ठूलै जमात रहेको छ बाँके क्षेत्रमा। अझ भनौँ बाँके जिल्ला भारतीय सिमानासँग जोडिएको हुनाले पनि स्रष्टाहरूका लागि यो क्षेत्र सिर्जनाका लागि उर्वर बनेको हो। यस क्षेत्रमा हुने हरेक साहित्यिक कार्यक्रममा भारतीय साहित्यकारहरूको नियमितजसो उपस्थिति पाइन्छ। यसबाट दोहोरो फाइदा हुने गरेको छ। पहिलो कुरा त साहित्यको माध्यमबाट छिमेकी देशसँगको सौहार्दता कायम भैरहेको छ भने अर्को कुरा विभिन्न साहित्यिक अनुभवहरूको आदाप्रदान गर्ने अवसर पनि जुटेको छ।
बाँकेमा क्रियाशील विभिन्न साहित्यिक संस्थामध्येको एउटा संस्था हो, ‘हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान’। यस संस्थाको कार्यालय कोहलपुर रहेको छ। डा. पुष्कर रिजालको अध्यक्षतामा रहेको यस संस्थाको संस्थापक अध्यक्ष महानन्द ढकाल हुन्। नेपाली भाषा, साहित्यको क्षेत्रमा ‘गजल! लेखनबाट उदाएका ढकाल नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य पनि हुन्। उनको साहित्य लेखनले विभिन्न मोडउपमोड पार गर्दै विधागत रूपमा पछिल्लो समयमा उपन्यासकारका रूपमा देखापरेका छन्। तीन दशक लामो साधनापछि भर्खरै मात्र ‘हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान’ ले उनको समालोचनासङ्ग्रह ‘खटप्लालबाट नियाल्दा’ प्रकाशन गरेको छ। यस सङ्ग्रहमा लेखकले विभिन्न पत्रपत्रिकामा प्रकाशन गरेका समालोचकीय अवधारणाहरू सङ्गृहीत छन्।
‘खटप्लालबाट नियाल्दा’ समालोचना कृतिमा सङ्ग्रहित समालोचनामध्ये पहिलो समालोचना नेपाली समालोचनामा बाँके र यहाँको साहित्यबारे परिचर्चा गरिएको छ भने दोस्रोमा लोकसाहित्यमा बाँके, तेस्रो, चौथो र पाचौंमा क्रमशः आठौंसम्म बालसाहित्य र कोहलपुर, नेपाली लघुकथाको विगत, वर्तमान र बाँके, नेपाली गजलमा देखिएको विवाद र बाँके, त्यसैगरी छैटाैं समालोचनाका रूपमा गजल साहित्यमा देखिएको तस्बिर रहेको छ।
यस समालोचनामा बाँकेका सशक्त गजलकार कपिल अन्जानको गजलीय प्रवृत्तिल केलाउने प्रयास गरिएको छ। समालोचना कृतिको सातौं समालोचनाका रूपमा कवि तथा समालोचना हरिप्रसाद तिमिल्सिनाको ‘केही टिप्पणी केही समालोचना’ कृतिमाथि खटप्वालबाट नियाल्ने यत्न गरिएको छ भने आठौं समालोचनाका रूपमा लोपोन्मुख चिडीमार जातिको नालीबेली केलाइएको छ र अन्तमा सन्दर्भ सामग्रीहरू प्रस्तुत गर्दे यो कृतिलाई विराम दिइएको छ।
मध्यम आकारमा रहेको यो कृतिमा १३९ पृष्ठ छन्। मिसन प्रेस कोहलपुरबाट मुद्रण गरिएको यस कृतिको अर्थपूर्ण आवरण आयुष्मा ढकालले तयार गरेकी हुन्। ‘हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर, बाँके’ का अध्यक्ष डा. पुष्कर रिजालद्वारा सम्पादित यस कृतिको मूल्य २५०/-रूपैयाँ छ।
अध्यक्षको प्रकाशकीय र लेखकका केही कुराबाट आरम्भ गरिएको यो समालोचकीय कृति नेपाली समालोचनाको विगत र वर्तमान बुझ्न र यसको अध्ययनमा रुचि राख्ने जो कोहीका लागि पनि निकै उपयोगी सन्दर्भ सामग्रीको रूपमा लिन सकिन्छ।
आधुनिक नेपाली समालोचनाको विगतदेखि वर्तमानसम्मको अवस्था साँच्चिकै खटप्वालबाट नियालिएको छ। लेखकले भने जस्तै अपेक्षित दूरी र गहिराइ नभेटे पनि यसले विहङ्गमदृष्टि भने प्रदान गरेको छ। यो कृतिको अध्ययन गर्दै जाँदा लेखकमा गहिरो अध्ययन र परिपक्व लेखन शिल्प भेटिन्छ। यही खारिएको शिल्पको उपज नै यति सुन्दर कृति आम पाठकमाझ पस्किन सफल भएकोमा लेखकलाई बधाई छ।
विषयगत विविधता
‘खटप्लालबाट नियाल्दा’ समालोचनामा विभिन्न विषयगत समालोचनाहरू समेटिएका छन्। यस कृतिको पहिलो खण्डमा ‘नेपाली समालोचनामा बाँके र यहाँको समालोचना’ अन्तर्गत नेपाली समालोचनाको शुरूवातको क्रम भनेको मोतीराम भट्टले भानुभक्त चिनाउन लेखेको ‘भनुभक्तको जीवनचरित्र’ नामक कृतिबाट शुरू भएको पृष्ठभूमिबाट अगाडि बढ्दै गर्दा पछिल्लो समयमा विभिन्न सैद्धान्तिक पृष्ठभूमिबाट अगाडि बढेको कुरा लेखकले उल्लेख गरेका छन्।
खासगरी नेपाली साहित्य विश्व जगतमा पुग्न नसक्नुका कारण नेपाली समालोचनामा देखिएको सुस्तता हो भन्दै लेखकले साहित्य लेखनमा स्तरीयता खोज्ने हो भने समालोचना लेखनलाई महत्त्व दिनुपर्नेमा जोड दिएका छन्। लेखकले बडो सजगताका साथमा आधिकारिक स्रोतहरू उल्लेख गरी बाँकेमा समालोचनाको समालोचनालाई बडो मिहीन ढङ्गले केलाउने प्रयास गरेका छन्।
बाँके जिल्लाको साहित्य उर्दु, अवधि, हिन्दी भाषाको साहित्यबाट प्रभावित भएकोमा पछिल्लो समयमा अन्य भाषाका साहित्यकारहरूले पनि नेपाली भाषामा लेखन अभ्यास गरिरहेको सन्दर्भ उल्लेख गर्दै समालोचक ईश्वरीप्रसाद रिजालले लेखेको ‘बाँकेको समालोचना यात्रा’, (रिजाल, २०७९) अनुसार बाँकेको साहित्येतिहासको कालक्रम विभाजन पाँच चरणमा विभाजन गरिएको उल्लेख छ।
अझ यसको सुन्दर पक्ष के छ भने प्रत्येक चरणको प्रतिनिधि सर्जकहरूको नाम र प्रकाशन सहितको विवरण उल्लेख भएको हुनाले बाँकेको साहित्येतिहासलाई अगस्टकोम्टेले भने जस्तै मानवीय चेतन अङ्गहरूका माध्यमबाट कालक्रमिक अनुसार नै प्रस्तुत गरिएकाले यो कृतिलाई ऐतिहासिक साहित्यिक दस्तावेजका रूपमा लिन सकिन्छ।
शीर्षकको सार्थकता
बाँके जिल्ला साहित्य सिर्जनामा उर्वर क्षेत्र हो भन्दा अतिशयोक्ति नहोला। यस क्षेत्रका सर्जकहरूले साहित्यका सबै विधामा कलम चलाएको पाइन्छ। जसको ज्वलन्त प्रमाण भनेकै महानन्द ढकालको समालोचकीय कृति ‘खटप्वालबाट नियाल्दा’ हो। प्रज्ञा नेपाली बृहत् शब्दकोश अनुसार ‘खट’ भन्नाले ‘घर आदि बनाउँदा डकर्मीहरू बसेर काम गर्न बनाइने काठ, बाँस आदिको टाँड’ र ‘प्वाल’ भन्नाले ‘दुलो वा छिद्र’ भन्ने बुझिन्छ।
यस अर्थलाई हेर्दा खटप्वालको मद्दतले कुनै घरले जसरी उचाइ प्राप्त गर्छ र त्यसकै आधारमा थप तलाको निर्माण हुन्छ, ठिक त्यसैगरी ‘खटप्वालबाट नियाल्दा’ कृतिले बाँकेको साहित्यमा तला थप्ने काम गरेको मात्र छैन कि ढलानपूर्व अपनाउनुपर्ने सावधानीका सन्दर्भमा पनि सर्जकहरूलाई एकपटक टक्क अडिएर गम्भीर भएर सोच्न बाध्य पार्दछ। अतः यस कृतिमा समाविष्ट गरिएका विधागत समालोचनाहरूले नै कृतिको शीर्षक अझ बढी सार्थक बनाएको छ।
कृतिमा समावेश गरिएका बाँकेको समग्र समालोचनाको धरातल, लोकसाहित्य, बालसाहित्य, लघुकथा, गजल, कविता र अनुसन्धानात्मक आलेख समेटिनुलाई कृतिकारले बाँकेको साहित्यलाई खटमा राखिएको प्वालबाट आवश्यक उचाइ तय गरेर मजाले नियालेको पाइन्छ।
कवितादेखि लोकसाहित्यसम्म, गीतदेखि गजलको सोपान चढेर सानो प्वाल भए पनि आँखाको नानी घुमाइघुमाइ ठ्याक्कै रेटिनामा तस्बिर बनाउन सफल देखिन्छ। तसर्थ पनि यस कृतिको शीर्षकीकरणले सार्थकता पाएको छ। यसलाई बाँकेको साहित्यिक सिर्जनारूपी प्रकाश विच्छेदित हुँदा देखिएको सुन्दर ‘इन्द्रधनु’ को रूपमा लिन सकिन्छ।
विषयवस्तुको गहिराइ
समालोचना साहित्यको एक विधा हो। यसका विविध प्रकारमध्ये यस कृतिमा कृतिपरक/सिर्जनापरक, व्याख्यात्मक र सैद्धान्तिक समालोचनाका धारहरू भेटिएका छन्। खासगरी केही लेखनमा विगत केलाउने प्रयास गरिएको हुँदा कृतिले इतिहास केन्द्रित समालोचनाको सोपान समेत आरोहण गर्न भ्याएको छ। यसमा समावेश गरिएका अध्ययनमूलक आलेख सहित आठ समालोचना छन्।
‘नेपाली समालोचनामा बाँके र यहाँको समालोचना’ शीर्षकमा केन्द्रित रही लेखकले समालोचनाको पूर्वीय दर्शनका सैद्धान्तिक धारहरू सहित बाँकेमा समालोचनाको विगतदेखि वर्तमानसम्म केलाएका छन्। २०२८सालपूर्वको अनुमान कालदेखि शुरू भएको बाँकेको समालोचनाको यात्राले डा. गोपालप्रसाद शर्मा अधिकारीको ‘भीमनिधि तिवारीको कवितामा व्यङग्य चेतना’ कृति नै पहिलो प्रकाशित कृति रहेको उल्लेख छ।
२०२८ सालमा शशाङ्ख शेखर चटर्जीबाट रोपेको समालोचनाको बिउ न त बढ्न सक्यो, न त मर्न सक्यो। टुसाउन त टुसायो तर जरा फाल्न नसकेको अवस्थामा २०५६ सालपछि भने जरा फैलिएर पात पनि पलाउन थालेको बिम्बात्मक शैलीमा लेखकले प्रस्तुत गरेका छन्।
‘खटप्लालबाट नियाल्दा’ समालोचना कृतिमा लेखक भन्छन् “समालोचना मस्तिष्कसँग जोडिएको हुन्छ। बौद्धिकतासँग जोडिएको हुन्छ। चेतना र दृष्टिकोणसँग जोडिएको हुन्छ। मन, भावना र हार्दिकतासँग जोडिएका विषयवस्तुलाई मस्तिष्क, बौद्धिकता, चेतना र दृष्टिकोण प्रयोग गरेर गुण र दोष केलाउनु समालोचना हो।” (पेज, २४)
कृतिको दोस्रो समालोचनाको विषय बाँकेको लोकसाहित्यमा केन्द्रित छ। लोकसाहित्यको परिचय सहित विशेष गरी बाँके जिल्लामा रहेका विभिन्न जातजाति र उनीहरूको लोकसाहित्यमा आधारित भएर यो खण्डलाई अगाडि बढाइएको छ। यसमा लोकगीतका उदाहरणहरू सहित लोकगीतमा प्रयोग हुने उखानटुक्काबारे लेखकले उल्लेख गरेका छन्। समग्र नेपाली लोक साहित्यको दर्पणबाट अवधि, थारु, उर्दु भाषाका लोक साहित्यबारे उदाहरण सहित उल्लेख गरिएको छ।
यसैगरी बाँकेको बालसाहित्यको समग्र इतिहास र यसको समग्र विकासक्रमबारे उद्देश्य, प्रयोगसहित चर्चा गरिनुका साथै २०३० सालमा प्रकाशित नन्दराम लम्सालको कृति मिठो कुरा बाँकेको बालसाहित्यको जगको रूपमा रहेको प्रसङ्ग यसमा समेटिएको छ।
यसका साथै पछिल्लो समयमा बाँकेको कोहलपुर क्षेत्रबाट बालसाहित्यको क्षेत्रमा भएका विद्यालयबाट प्रकाशित भित्तेपत्रिकाहरू लगायत हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको साहित्यिक पत्रिका ‘पूर्णिमा’ मा बालसाहित्य प्रकाशन हुँदै आएको र यस क्षेत्रको बालसाहित्यको उन्नयमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टाहरूको नाम उल्लेख छ।
यस कृतिको चौथो समालोचनामा नेपाली लघुकथाको विगत, वर्तमान र बाँके शीर्षकमा नेपाली लघुकथालाई काल विभाजनसहित बाँके जिल्लामा लघुकथा र यसको ऐतिहासिक पृष्ठभूमिसहित बाँकेबाट लघुकथाको विधामा कलम चलाउने स्रष्टाहरूको योगदानका सन्दर्भ उल्लेख गरिएको छ।
यो कृतिको निकै महत्त्वपूर्ण र रोचक पक्ष के हो भने बाँकेको गजल लेखनले हासिल गरेको उच्चता समेट्दै गजलका सैद्धान्तिक आधारहरू प्रस्तुत गर्दै गजल लेखनमा पछिल्लो समय देखापरेको विवादलाई, “तर्क गर्नु राम्रो तर तथ्य लुकाउनु राम्रो होइन” भन्दै समयानुकूल परिवर्तनमा विवाद गर्नु आवश्यक नरहेको तर्कपूर्ण तरिकाले प्रस्तुत गरिएको छ।
बाँकेको गजलकारितामा अलग पहिचान बनाएका गजलकार कपिल अन्जानको ‘तस्बिर’ र यसमा रहेको श्रृङ्गारिकता, देशप्रेम, समसामयिकता सहित उनका गजलमा प्रयोग गरिएको बिम्ब प्रतीक र अलङ्कारका बारेमा उनका केही गजलका सेरहरूसहित प्रस्तुत गरिएको छ।
‘हरिप्रसाद तिमिल्सिना र उनको केही टिप्पणी केही समालोचना’ समालोचनात्मक कृतिमाथि समालोचनामा पनि समालोचना गरेर लेखक महानन्द ढकालले यस कृति मार्फत आफ्नो समालोचकीय शिल्पलाई निखार्न खोजेको देखिन्छ। पछिल्लो समय बाँकेमा रहेर प्राध्यापन पेसामा संलग्न रही भेरी साहित्य समाज लगायतका साहित्यिक तथा विभिन्न सामाजिक संघस्थाहरू मार्फत साहित्यिक तथा सामाजिक योगदान दिँदै आएका हरिप्रसाद तिमिल्सिनाले भर्खरै मात्र विद्यावारिधि उपाधि हासिल गरेका छन्। तिमिल्सिना खरो समालोचक भएकोले उनकको कृतिको शीर्षकीकरणमा अलिक बठ्याइँ गर्दै ‘केही टिप्पणी केही समालोचना’ राखिएको ढकालको दाबी छ।
सैद्धान्तिक, व्याकरणिक, कृतिपरक, खोजअनुसन्धानमूलक, स्रष्टापरक समालोचनाहरूका पाटाहरूलाई बडो मिहीन ढङ्गबाट केलाएको उल्लेख गरेका छन्। समालोचनामाथि नै समालोचना गर्नु चानचुने कुरा होइन त्यसैले यस समालोचनामा कहीँ कतै १९७४ मा श्यामजीप्रसाद अर्यालद्वारा सम्पादित ‘सुक्तिसिन्धु’ प्रकाशनको लामो समयावधिपछि अर्थात् २०१७ सालमा यदुनाथ खनाल र रामकृष्ण शर्माबिच भएको रस्साकस्सीको झझल्को आउँछ।
यस कृतिमा भने कृतिकार ढकालले तिमिल्सिनाको समालोचनाप्रति बाँकेको गजल अध्ययनमा अलिक गहिराइ नपुगेको भन्दै गर्नेका सय गल्ती, नगर्नेका एक गल्ती भने जस्तै कृति आफैमा सुन्दर हुँदाहुँदै कृति दोषमुक्त नभएको र बाँकेमा योगदान दिँदै आएका साहित्यिक संस्था तथा साहित्यकारहरूप्रति भने तिमिल्सिना अनुदार बनेको कुरा कृतिमाथि समालोचकीय धारणा व्यक्त गरेका छन्।
कृतिको अन्त्यमा ‘लोपोन्मुख चिडीमार जाति’ शीर्षकमा अनुसन्धनात्मक आलेख प्रस्तुत गरिएको छ। जसमा बाँकेको कोहलपुर क्षेत्रमा चिडीमारहरूको बसोबास रहेको उल्लेख गर्दै अवधि भाषी उनीहरूको प्राचीन थलो भनेको भारतको बहराइच जिल्ला अन्तर्गत पर्ने नवावगन्ज र बाबागन्जबाट पाँच पुस्ता पहिले नेपालगन्ज आएको उनीहरूले चिडिमार पहिले आफ्नो ‘वहेलिया’ लेख्ने गरेको प्रसङ्ग उल्लेख गरिएको छ।
हिन्दु धर्मको अनुसरण गर्ने चिडीमारहरूका संस्कार तथा चाडपर्वहरू पनि हिन्दु संस्कार अनुसार रहेको र उनीहरू खासगरी प्रकृतिको निकट रही हावा, पानी, आगो, शिला, माटो, वनजङ्गल, पर्वत लगायत विभिन्न जिवजनावर तथा पन्छीहरूको पूजा गर्दै आएको उल्लेख गरिएको छ। यसका साथै उनीहरूको समुदायमा रहेको सामाजिक व्यवस्था, न्यायिक प्रचलनदेखि जन्म, विवाह, मृत्यु लगायतका संस्कारमा रहेका प्रचलनहरू समावेश गरिएको छ। समुदायको शैक्षिक अवस्था र प्रचनमा रहेका भाषा, कला र साहित्यमा खासै विकास हुन नसकेको र पछिल्लो समयमा यस जातिको आफ्नो मौलिक पहिचानको आधार हराउँदै गएको आफूले जानको कला र सिप परिस्कृत गर्दै आधुनिक प्रविधि र व्यवसायसँग नजोडिएकोमा लेखकले यस जातिको पहिचान हराउनेमा चिन्ता समेत व्यक्त गरेका छन्।
निष्कर्ष
कुनै पनि कृतिमा लेखकले आफ्नो तर्फबाट सकेसम्म कमजोरी नहोस् भन्ने चाहना राख्नु स्वाभाविकै हो। कहिलेकाहीँ कृतिको लेखनपछि सम्पादन गर्ने क्रममा सम्पादकको नजर पर्न नसकेको अवस्थामा पनि केही वर्ण विन्यासमा समस्या रहन सक्दछन्। यसमा यो कृति ‘खटप्वालबाट नियाल्दा’ पनि अछुतो रहन सकेको छैन।
कृतिमा लेखकले प्रशस्त मिहिनेत गरेको देखिन्छ तैपनि केही स्थानमा उदाहरणहरू अझ थप गर्न पाएको भए उत्कृष्टताको एक ईंटा भए पनि थपिन्थ्यो। पेज नं. ११ मा ‘सकियो’ हुनुपर्नेमा ‘सकिथो’, पेज २७ मा ‘हाटबजार’ हुनुपर्नेमा ‘हात बजार’, पेज २८ मा ‘बज्जिका’ हुनुपर्नेमा ‘बन्जीका’, पेज ४५ मा ‘बालबालिकाहरू’ हुनुपर्नेमा ‘बालबालिकारहरू’ पेज ४५ मा ‘विद्वान’ हुनुपर्नेमा ‘विद्धान’, पेज ६० मा ‘मुर्छित’ हुनुपर्नेमा ‘मर्छित’, पेज ९० मा ‘किशोरावस्था’ हुनुपर्नेमा ‘किशोरा अवस्था’ भएको छ भने पेज ७८ मा ‘निर्मित नियम तथा सिद्धान्त ......’ यसपछिको भाग नै गायब भएको छ अर्थात् पुरा वाक्य नै छैन।
अन्त्यमा लेखकको लेखनयात्रा गजलबाट प्रारम्भ भएको हुनाले पनि हुन सक्छ यसमा साहित्यका अन्य विधाभन्दा गजलबारे अलि बढी नै चर्चा परिचर्चा भएको छ। बाँकेमा गजल लेखनको क्षेत्रमा अन्य स्रष्टाहरू हुँदाहुँदै कपिल अन्जानको गजलसङ्ग्रह ‘तस्बिर’ बारे मात्र चर्चा छ।
गजलमा शृङ्गारिकताका साथै देशप्रेमका भावमा अब्बल भएर पनि उनको यो कृति छनोटमा परेको हुन सक्छ। अन्य कृतिहरू समेट्न नसकिनुमा कृतिकारका आफ्नै सीमितताहरू पनि हुन सक्छन्। यति हुँदाहुँदै समालोचनाका क्षेत्रमा अध्ययन गर्न चाहने जो कोही साहित्यानुरागीका लागि यो कृति अध्ययनका लागि उपयुक्त छ। कृतिकार महानन्द ढकाललाई हार्दिक बधाईं सहित आगामी दिनमा अझ त्रुटिरहित स्तरीय कृतिहरू प्रकाशनका लागि हार्दिक शुभकामना।
प्रकाशित: ३१ श्रावण २०८२ १०:१५ शनिबार





