पल्लव साहित्य प्रतिष्ठानले ‘बृहत् साहित्यिक कुम्भ मेला’ काे अवसर पारेर ६ स्रष्टालाई सम्मान अर्पिने भएकाे छ।
भदौ १३ गते हुने ‘बृहत् साहित्यिक कुम्भ मेला’ पल्लव साहित्य प्रतिष्ठान, चितवनको आयोजनामा बर्सेनि हुँदै प्रदान गर्दै अाएकाे छ।नारायणगढस्थित पर्व पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाेमा छ स्रष्टा तथा द्रष्टालाई समारोहमा ‘पल्लव राष्ट्रिय साहित्य सम्मान- २०८३’ सहित विभिन्न पुरस्कार अर्पिने भएकाे आयोजकले जनाएको छ।
प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साइलो) का अनुसार संस्कृत विधामा विद्यावारिधि गर्ने प्रथम नेपाली महिला डा. दिव्यप्रियंवदा काफ्लेको प्रमुख आतिथ्यमा कार्यक्रम हुँदै छ।
सम्मानित तथा पुरस्कृत हुनेहरूमा स्याङ्जा गल्याङका चण्डिप्रसाद भट्टराई (बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार) र स्याङ्जाकै वालिङका मिलन समीर (शेषनाथ लामिछाने स्मृति बालसाहित्य पुरस्कार) रहेका छन्।
त्यस्तै विराटनगरकी नानुमैया दाहाललाई मीना-रत्न साहित्य पुरस्कार, मध्यपुर ठिमी, भक्तपुरकी दुर्गा घिमिरेलाई केदारनाथ रिजाल, गुणकुमारी एवम् रोगकुमारी रिजाल स्मृति पुरस्कार, बेलकोटगढी, नुवाकोटका शिखरनाथ ढकाललाई काजीमान श्रेष्ठ तथा नन्दकुमारी-सन्तकुमारी श्रेष्ठ रत्न पुरस्कार र गैडाकोट, नवलपुरकी भूमिका गैह्रे तिम्सिनालाई युसुफदिन-हलिमा पुरस्कार प्रदान गरिनेछ।
पुरस्कृत सबै स्रष्टालाई ‘पल्लव राष्ट्रिय सम्मान-२०८३’ बाट समेत विभूषित गरिने अध्यक्ष लामिछानेले जानकारी दिएका छन्।
देशभरका साहित्यकारहरूको उपस्थिति रहने उक्त समारोहमा ‘नारी स्रष्टा परिचयकोष-२’, ‘पल्लव’ को ३० औँ अंक, छन्द कवितासङ्ग्रह ‘अभीप्सा’ र कथासङ्ग्रह ‘लावण्यस्मृति’ जस्ता कृतिको सामूहिक लाेकार्पण गरिने कार्यक्रम रहेको छ।
प्रकाशित: २७ श्रावण २०८३ ११:४५ बुधबार





