२४ आश्विन २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

पितृहरू र हामी

कविता (सोह्र श्राद्ध विशेष)

पितृहरूकै अंश हौं हामी

पितृहरूकै वंश हौं हामी

हामीमा छाया‍छवि उहाँहरूकै त छ!

बगिरैछ रगत यी नसानसामा

उहाँहरूकै पूरा देन त हो सिङ्गो यो जीवन!

रूपरङ, आनीबानी, शीलस्वभाव

प्राय: सबै उहाँहरूकै जस्तै नै त छ!  

कहाँ उहाँहरू हामीबाट पृथक् हुनुहुन्छ र

हामी नै त हौं उहाँहरूको विम्ब-प्रतिबिम्व!

चालढाल उहाँहरूकै

बोल्ने शैली उहाँहरूकै

देख्नेबित्तिकै मान्छेहरू टाढैबाट भन्छन् -

"सर्लक्कै हामी उहाँहरू जस्तै नै छौं !"  

होइन र....?

जबजब हामी बोल्न थाल्छौं

उहाँहरूकै शब्दहरू उच्चारित हुन पुग्छन्!

जीवनमा मिल्यो जो सफलता हामीलाई

लाग्छ, त्यो सबै पितृको शुभआशीष न हो!

बालबालिकामा जुन जे छाया‍छवि देखिन्छ

सम्भवतः सबै त्यो हजुरबा-हजुरआमाहरूकै नै त हुन्छ....

हजुरबाले झैँ कहिलेकाहीँ बच्चाहरू गाली पनि गर्छन्,

अनि फेरि कहिलेकाहीँ हजुरआमाले झैँ

उनीहरू चेपारो'नि घस्छन्!

तब लौ भनौं कसरी कहाँ हामीबाट पितृहरू टाढा छन्?

अतः उहाँहरू सर्वत्र हामीमै समाहित भइरहेको हुनुहुन्छ,

जलमा पनि थलमा पनि

सा‍ँच्चै भनौं त गर्भदेखि चिहानसम्मै!

यी पण्डित-पुरेत बाजेहरूचाहिँ खै के भन्छन् के-

"पितृहरू हाम्रासामु श्राद्ध पक्षमा मात्रै आउ‍ँछन्,

हामीलाई आशीर्वाद प्रदान गर्न

तृप्त गराउनू उहाँहरूलाई!"  

लौ अब नढाँटी भन्नुस् -

कहाँ कहिले टाढिन्छन् र पितृहरू हामीबाट?

प्रकाशित: २४ आश्विन २०८३ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App