चर्चित हास्यकलाकार जितु नेपाल भोटेकोशीको बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुगेका छन्।
टेलिसिरियल ‘जिरे खुर्सानी’ का आफ्ना पुराना सहकलाकार दामोदरको परिवारले बाढीमा आफन्त गुमाएको खबर पाएपछि उनी आइतबार राहत लिएर सिन्धुपाल्चोक पुगेका हुन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। विपद्को तेस्रो दिन त्रिशूलीका दामोदरसँग सम्पर्क हुँदा उनले आफू सकुशल रहे पनि परिवारका धेरै सदस्य गुमाएको र किरियामा बसेको पीडा सुनाएका थिए।
कलाकार नेपालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दामोदरको आग्रहअनुसार नै आवश्यक सामग्री जोहो गरेर पुगेको बताएका छन्।
दामोदरले घर सुरक्षित रहे पनि बिजुली नहुँदा सोलार लाइट, कम्बल र ग्यासको चरम अभाव रहेको जानकारी दिएपछि नेपालले ती सामग्री लिएर प्रभावित क्षेत्र पुगेका हुन्।
त्यहाँ पुगेर दामोदरको समन्वयमा आफन्त गुमाएका ३० परिवारलाई प्रत्यक्ष भेटेको नेपालले उल्लेख गरेका छन्।
बाढीको विभत्स रूप सुनाउँदै उनले लेखेका छन्, ‘एउटा घरमा त एकै परिवारका ६ जना महिला गुमाउनुभएको रहेछ। त्यो सुन्दा मन नै थाम्न सकिएन। कसैका आमा, बुवा, कसैका श्रीमान्- श्रीमती र दिदीबहिनी हेर्दाहेर्दै गुम्दाको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन।’
प्रभावित क्षेत्रमा पुग्दा स्थानीय पीडितहरूले सरकारी उद्धारको भने खुलेर प्रशंसा गरेको नेपालले उल्लेख गरेका छन्।
‘पीडितहरूसँग कुरा गर्दा धेरैले गृह मन्त्रीज्यूको प्रशंसा गर्नुभयो,’ जितुले लेखेका छन्, ‘उहाँ आफैँ खटिनुभएको, आफैँ डोजर लिएर आउनुभएको र हरेक कुरामा प्रत्यक्ष सहभागी भएको कुरा पीडितहरूकै मुखबाट सुन्दा निकै खुसी लाग्यो।’
विपद्को यस घडीमा राहत सामग्री जुटाउन सहयोग गर्ने सम्पूर्ण मनकारी व्यक्तिहरूप्रति कलाकार नेपालले विशेष आभार व्यक्त गरेका छन्।
प्रकाशित: २२ भाद्र २०८३ १८:१४ सोमबार



-600x400.jpg)
-600x400.jpg)
-600x400.jpg)