२ वैशाख २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

उपन्यासकार पदम काफ्लेको 'युग यात्रा’ लोकार्पण

उपन्यासकार पदम काफ्लेको भुटानी नेपालीभाषीको कथाव्यथा समेटिएको ‘युग यात्रा’ उपन्यासको लोकार्पण भएकाे छ।

वरिष्ठ साहित्यकारहरू - कृष्ण धराबासी, डा. शैलेन्दु नेपाल, राधेश्याम लेकाली, डा. कविता लामा, मीना पौडेल, शेखर खरेल, डा. तारालाल श्रेष्ठ, सञ्जय बान्तवा, समाजशास्त्री मीना पौडेल, चित्रकार अस्मिना रञ्जित लगायतले उपन्यासकाे लाेकार्पण गरेका हुन्।

काठमाडाैं अनामनगरस्थित डालो रेस्टुरेन्टमा भएकाे कार्यक्रमकाे सहजीकरण साहित्यकार एवं सम्पादक पारशप्रकाश नेपालले गरेका थिए।

उक्त कार्यक्रममा साहित्यकार धराबासीले भुटानी नेपालीभाषीहरू जन्मभूमिबाट लखेटिएर पूर्वी नेपालमा आएदेखि आफूले उनीहरूको मुद्दा उठाएको स्मरण गर्दै ‘युग यात्रा’ ले त्यस कालखण्डलाई पठनीय रूपमा अभिलेखीकरण गरेको बताए।

कार्यक्रममा शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले कृतिका लागि पदम काफ्लेलाई बधाई दिँदै भाषासाहित्यले नै कुनै पनि जातिलाई जीवन्त बनाउने धारणा राख्दै काफ्लेले उपन्यासमा भुटानी शरणार्थीको पहिचानको विषय उठाएको बताए।

यसैगरी साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालले जसको आत्मकथा पनि आख्यानका रूपमा आउन सक्ने भन्दै विधाभन्दा सिर्जनालाई हेरिनुपर्ने बताए। उनले भने, ‘नत्र त आख्यान यथार्थवादी हुन्छ पनि भन्न पाइएन। यस कृतिको भाषा प्रवाहमय छ, कथा मनमुटु छुने खालको छ। एकाध प्रसंग पढ्दा मेरा आँखा रसाए।’

यस्तै उपप्राध्यापक डा. तारालाल श्रेष्ठले भुटानी नेपालीभाषीहरूको शरणार्थी जीवनदेखि तेस्रो देश पुनःस्थापनासम्मको दुःखसुखलाई ‘युग यात्रा’ ले समेटेको बताए।

समाजशास्त्री मीना पौडेलले जुनजुन मुलुकमा पुनःस्था पना गराइए पनि भुटानी नेपालीभाषीहरूले आफ्नो पहिचान भुल्न नसकेको उल्लेख गर्दै ‘युग यात्रा’ ले त्यसलाई प्रतिविम्बित गरेको बताइन्।

यस्तै पत्रकार शेखर खरेलले ‘जीवनमा केही कुरा यस्ता हुन्छन्, जसलाई सोझै भन्न सकिँदैन भन्दै ‘त्यसैले आख्यान चाहिने बताए।

उपन्यासकार काफ्लेले अग्रजहरूका प्रशंसा र आलोचनालाई आफूले शिक्षाका रूपमा लिने बताए। कृति ‘युग यात्रा’ खुम्बिला बुक्सले प्रकाशन गरेको हो। 

प्रकाशित: २ वैशाख २०८३ १३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App