११ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

झन्डै एक दशकपछि निर्देशनमा फर्किएका निखिललाई ‘आचार्य’ले कम शो पाउँदा चित्त दुखाइ

झन्डै एक दशकपछि अभिनेता निखिल उप्रेती नेपाली चलचित्रमा आफ्नै निर्देशन र अभिनय रहेको चलचित्र ‘आचार्य’ लिएर फर्किएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले भने अपेक्षाअनुसारको शो नपाएपछि निखिल असन्तुष्ट देखिएका छन् ।

विदेशी चलचित्रको प्रभाव कम गर्दै नेपाली चलचित्रलाई प्राथमिकता दिनुपर्ने उद्देश्यसहित ‘आचार्य’ निर्माण गरेको निखिलको भनाइ छ । तर चलचित्रले अपेक्षित शो नपाउँदा आफूलाई चित्त दुखेको उनले बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै निखिलले भने, ‘आचार्यले अपेक्षित शो नपाउँदा मेरो पनि असन्तुष्टि छ । कतिपय दर्शकले पनि हाम्रो भनेको समयमा शो छैन भनिरहेका छन् ।’

चलचित्रले कम शो पाउनुका साथै अग्रिम टिकट बिक्री खुलाउन पनि ढिलाइ भएको निखिलले बताएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आउने अन्य नेपाली तथा विदेशी चलचित्रको अग्रिम टिकट बिक्री बुधबारदेखि नै खुलिसकेको अवस्थामा ‘आचार्य’को भने बिहीबार दिउँसो मात्र टिकट बिक्री सुरु भएको उनको भनाइ छ ।

टिकट बिक्री ढिलो खुल्नुको कारणबारे भने निखिलले स्पष्ट जानकारी दिएका छैनन् । प्रविधिसँग सम्बन्धित कारण हुन सक्ने अनुमान गरिएको छ ।

‘आचार्य’ निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र हो । चलचित्रको निर्देशनसँगै मुख्य भूमिकामा पनि निखिलकै अभिनय छ । ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा रहेको ‘आचार्य’ मार्फत निखिल लामो समयपछि नेपाली चलचित्र निर्देशनमा फर्किएका हुन् ।

प्रकाशित: १० आश्विन २०८३ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App