नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नेपाली कलाक्षेत्रको एउटा सर्वोच्च सरकारी निकाय हो। यसको कार्यक्षेत्रभित्र चित्रकला, मूर्तिकला, हस्तकला, वास्तुकला र अन्य केही सिर्जनात्मक कलाहरू पर्छन्। यी कलासम्बन्धी राष्ट्रिय नीति, प्राज्ञिक बहस, छलफल गर्नुगराउनु, कला विकासको दृष्टिकोण र योजना ल्याउनु, कलाकृतिहरू छानेर राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्नु, उत्कृष्ट कृतिहरूलाई पुरस्कृत गर्नु, वरिष्ठ कलाकारहरूलाई सम्मान गर्नु कलाको अनुसन्धान गर्नुगराउनु यस प्रतिष्ठानका प्रमुख उद्देश्य हुन्। सो कार्यका लागि नीतिनियम बनाउन एउटा प्रज्ञासभा छ, जसमा विभिन्न विधाका विशिष्ट विद्वान्हरू हुन्छन्। अर्को प्रज्ञापरिषद् छ, जसमा पूर्णकालीन रूपमा कार्यलयमा बसी प्राज्ञिक कार्य गर्ने प्राज्ञहरू हुन्छन्।
प्राज्ञिक परिषद्का पदाधिकारीहरू जस्तो - कुलपति, उपकुलपति, सदस्य सचिव, परिषद् प्राज्ञ सदस्यहरू, विभागीय प्रमुखहरूले मासिक पारिश्रमिकसाथै यातायात र घरभाडा समेत लिन्छन्। प्राज्ञ परिषद् सदस्यहरूलाई परिषद्को बैठकले विभागीय प्रमुखहरूमा विभाजित गर्छन्। जो परिषद् सदस्य विषयगत हुन्छ, विभागीय प्रमुख हुन्छन्, जो विषयगत हुँदैन, कुनै विषयको काम गर्नु भनेर सो विषयको विभागीय प्रमुख बनाइन्छन्।
प्राज्ञ र प्राज्ञपरिषद्को कार्यलाई सहयोग गर्न, प्रशासन लेखा अधिकृत, अधिकृतका साथै कार्यालय सहायक र सहयोगीहरू सचिवालयमा हुन्छन्। यी सबै पदाधिकारी र कर्मचारीको पारिश्रमिक राज्यको कोषबाट खर्च हुन्छ। त्यसकारण प्रज्ञापरिषद्ले कलाकार, देश र जनताका लागि कार्य गर्न आवश्यक छ।
वर्तमान अवस्थामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान छ, पदाधिकारीहरू छन्, कर्मचारीहरू छन्, कार्यालय छ, विभिन्न क्रियाकलापहरू भइरेहका छन् तर कलाकार, देश र जनताको हितमा कामहरू भएका छैनन्। कुलपति, उपकुलपति, सदस्य सचिव, परिषद् सदस्यहरू सरकारमा भएको राजनीतिक पार्टीहरूले आफ्ना राजनीतिक कार्यकर्तालाई जागिर खानलाई नियुक्ति गरेका छन् जस्तो मात्रै देखिन्छ।

यस्तो लाग्छ - पार्टीको भक्त हुनु, राजनीतिक बल तथा नेताको पछि लाग्नु एउटा प्राज्ञको सबैभन्दा ठुलो योग्यता हुन पुगेको छ। प्रतिष्ठानका कार्यकलापले यही नै जनाउँछन् कि कला सिर्जना गर्नु, अनुसन्धान गर्नु, व्याख्या, विश्लेषण र बहस गर्नु कुनै आवश्यकता नै छैन। केवल कलाकारको नाटक र बहाना मात्र गरिन्छ। आवरणमा प्रज्ञा भनिन्छ तर काम, कुरा, व्यवहारमा विद्वान्मा हुनुपर्ने किञ्चित गुण देखिँदैन।
वास्तवमा यस प्रकारले जागिर खानका निम्ति असक्षम र अयोग्य व्यक्तिलाई सरकारले प्राज्ञ छान्दा देश, जनता र वास्तविक कलाकारमाथि अन्याय भएको देखिन्छ। कलाकारको आस्था र विश्वास सरकार र प्राज्ञमाथि टुटेको देखिन्छ। नियुक्त भएका प्राज्ञलाई पनि आफ्नो इज्जत धान्न धौधौ परेको देखिन्छ। बोली र भाषणमा प्राज्ञहरूले राम्रो गर्ने, सेवा गर्ने, कला र कलाकारको विकास गर्ने भनेको सुनिन्छ तर व्यवहारमा आफूलाई कसरी फाइदा हुन्छ, अयोग्य भए पनि आफ्ना मान्छे, नातापातालाई कसरी फाइदा हुन्छ, त्यो काम गरेको देखिन्छ। आफ्ना मानिसलाई जागिर खुवाएको, गर्न नसक्ने कामहरू दिइएको देखिन्छ। सरकारी स्रोत व्यक्तिगत प्रयोजन, भत्ता, भ्रमण र मस्तीका लागि प्रयोग भएको देखिन्छ। प्राज्ञिक कार्य एउटा देखावटी बहानामा सीमित भएको छ।
राष्ट्रिय प्रदर्शनीमा पुरस्कृत हुने कृतिहरूको कलात्मक स्तर उच्च देखिँदैन। उच्चकोटिको कलाकृतिले पुरस्कार पाउँदैन। पुरस्कार प्राप्त गर्ने आधार राजनीतिक पार्टीमा संलग्न हुनु, व्यक्तिको भक्ति गर्नु, कुनै सम्प्रदाय, समूह र जातिमा पर्नु आदि मानिन्छन्। यस्तो अवस्था देख्दा लाज नै लजाइरहेको भान हुन्छ। ललितकलाको राष्ट्रिय प्रदर्शनीमा प्रदर्शित कलाकृतिको स्तर निम्नकोटिको छ। केवल धेरै कलाकृति जम्मा गर्न सकेकोमा प्रतिष्ठानले गर्व गरेको देखिन्छ। स्तरीय कलाकृति सिर्जना गर्ने वातावरण निर्माणमा प्रतिष्ठान र प्राज्ञहरू उदासीन देखिएका छन्।
प्रज्ञा–प्रतिष्ठान र प्राज्ञहरू उपयोगी, हितकारी र ठोस प्राज्ञिक कार्य गर्न उदासीन देखिन्छन्। तर प्रचारबाजी, कलाकारको बहानाबाजी र ठुला काम गरेको नाटक देखाउन, विज्ञापन गर्न र आडम्बरमा खुसी देखिन्छन्। यस्तो देखावटी कार्य प्रतिष्ठानको मर्मविपरीत छ। प्राज्ञ र कलाकारहरूको बोली, लेखाइ, तर्क, कलाकृति र व्यवहार असान्दर्भिक र असङ्गत छ। हरेक बोलीमा तर्कहीनता र लोभको झल्को आउँछ। प्राज्ञहरूलाई हेर्दा सरकारले असक्षम र पार्टीको कार्यकर्तालाई प्राज्ञ बनाएको देखिन्छ। धेरै कलाकार र तिनीहरूका कलाकृति हेर्दा जालझेल, अरूको अनुकरण, बौद्धिक चोरी, नाटक, बहानाबाजी, आडम्बर, देखावटी र सतहीपन देखिन्छ।
समकालीन अवस्थालाई आधुनिक भनिन्छ। तर, हाम्रा व्यवहार र कलाकृति हेर्दा पश्चगामी, प्रज्ञाहीन र स्वार्थप्रेरित जङ्गलीय देखिन्छ। समय र सभ्यता उल्टोतर्फ घुमेकोजस्तो देखिन्छ। प्राज्ञ र प्रज्ञा–प्रतिष्ठानको रङ र लय छैन। एउटा कुरूप नाट्य मञ्चन भइरहेको देखिन्छ। प्राज्ञ र प्रज्ञा–प्रतिष्ठान अरूलाई दिने उच्च ठाउँमा पुगेको अवस्था हो। तर, प्राज्ञहरूको आफ्नै तिर्खा मेटिएको छैन। दिनुभन्दा कसरी अरूबाट लिन सकिन्छ, त्यसैमा प्राज्ञहरू तल्लीन भएका देखिन्छन्। यसले गर्दा ‘ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापना नै समयभन्दा छिटो भएको त होइन?’ भन्ने प्रश्न खडा भएको छ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनी गर्दै आइरहेको छ। जुन कुरा अनावश्यक देखिन्छ। किनभने, यसले कलाकारहरूको राष्ट्रिय ललितकला प्रदर्शनीमा भाग लिन पाउने अधिकारलाई वञ्चित गरेको छ। नियम यस्तो बनाइएको छ कि प्रादेशिक प्रदर्शनीबाट छानिएका कलाकृतिहरू मात्र राष्ट्रिय प्रदर्शनीमा भाग लिन पाउँछन्।
यस्तो नियमले कलाको प्रवर्धनभन्दा अवरोध सिर्जना गरेको छ। यस्तो अनावश्यक बखेडा, नियम र बहानाबाजीभित्र एउटा स्वार्थ लुकेको स्पष्ट देख्न सकिन्छ। प्रादेशिक ललितकलाको बहानामा हरेक वर्ष प्राज्ञहरू सातै प्रदेश भ्रमण गर्छन्, यातायात तथा दैनिक भत्ता पचाउँछन्। यसरी दुई दर्जनजति प्राज्ञहरू हरेक वर्ष सातै प्रदेशको भ्रमण गर्दा र तिनीहरूको खानपान र बसोबासको प्रबन्ध गर्दा प्रज्ञा–प्रतिष्ठानको धेरैजसो बजेट खर्च हुन्छ। बाँकी रहेको रकम कर्मचारी र प्राज्ञहरूको तलबमा खर्च हुन्छ।
कला अनुसन्धान, लेखन, प्रकाशन र प्राज्ञिक कार्यका लागि रकम अपुग हुन्छ। प्रदेशमा पनि प्रज्ञा–प्रतिष्ठानहरू छन्। त्यसैले, प्रादेशिक प्रदर्शनी प्रदेशले आफैं गर्न सक्छ। केन्द्रमा रहेको प्रज्ञा–प्रतिष्ठानले प्रदेशमा हस्तक्षेप गर्नु उपयुक्त देखिँदैन। यो एउटा प्राज्ञको भ्रमणका लागि बनाएको बहाना हो, जुन अति महँगो र प्रतिफल शून्य छ। त्यसकारण, प्रादेशिक ललितकला प्रदर्शनी रोक्न अति आवश्यक छ।
नेपाल ललितकला प्रज्ञा - प्रतिष्ठान धेरै काम गरेको देखाउन आतुर छ। त्यसैले, विद्यालयका बच्चाहरूलाई प्रज्ञा - प्रतिष्ठानको भ्रमण गराई, फोटो खिची, सामाजिक सञ्जालमा राखी सो कुरालाई आफ्नो उपलब्धिमा गणना गर्छ। कलासँग सम्बन्ध नभएका, रुचि नभएका, आवश्यकता नभएका मानिसलाई जम्मा गरी, भिड भएको देखाई, हुने–नहुने उटपट्याङ गरी, फोटाहरू फेसबुकमा राखी धेरै काम गरेको, व्यस्त रहेको नाटक र नौटङ्की प्राज्ञहरूले गरेका छन्।
यसरी काम नदेखाउँदा ‘हामीलाई विद्वान् प्राज्ञ भनेर अरूले मान्दैनन् कि!’ भन्ने डर प्राज्ञहरूमा छ। पठन, अनुसन्धान, लेखन, सिर्जन र प्राज्ञिक बहस गर्न यिनीहरूलाई मन पर्दैन। किनकि, त्यो क्षमता उनीहरूमा देखिन्न। तर, उनीहरू भने आफूलाई प्राज्ञ प्रमाणित गर्न नाटक गरिरहेका देखिन्छन्। उनीहरूमा छटपटी र बेचैनी देखिन्छ। स्थिरता, लगनशीलता, आत्मविश्वास, मेहनत, सेवा–भाव प्राज्ञहरूमा देखिँदैन।
कलाकार, कला लेखक र अनुसन्धान कर्तालाई उत्प्रेरणा छैन। आफू प्राज्ञ भएको मौकामा अरू वास्तविक प्राज्ञिक काम गर्ने विद्वान्, कलाकारमाथि घोडा चढी उनीहरूलाई आत्मग्लानि हुने कार्य भइरहेको छ। प्रज्ञा–प्रतिष्ठान र प्राज्ञहरूप्रति आम कलाकारको सम्मान, भरोसा र विश्वास देखिँदैन। संसद्मा आफैंले लेखेको अक्षर पढ्न नसक्ने सांसदहरू देशको नियम–कानुन बनाउँछन्। त्यसै गरी शिक्षा आर्जन नगरेका व्यक्तिहरू पनि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आएका छन्। प्राज्ञिक कार्य, अनुसन्धान र सिर्जनाभन्दा भोको पेट र जागिर अगाडि आएको छ। सेवा गर्नुभन्दा खान बढी महत्त्वपूर्ण छ।
समग्रमा, आग्रह यत्ति मात्रै हो - प्रज्ञा–प्रतिष्ठानले सही तरिकाले कार्य सम्पादन गर्न सरकारले प्राज्ञहरू छनोट गर्दा उपयुक्त विद्वान्–कलाकारलाई छान्नुपर्यो, जसले प्राज्ञको गरिमा राख्न सकोस्। छनोट भएका प्राज्ञ विद्वान् सिर्जनात्मक, समालोचनात्मक, तार्किक, अनुसन्धान क्षेत्रमा दक्ष होऊन्, ताकि तीमाथि आम जनता र कलाकारले विश्वास गर्न सकून्। तिनले देखावट र प्रचारभन्दा सानो भए पनि ठोस, इमानदार र सिर्जनात्मक कार्य गरून्। यसो गर्न सक्दा सरकार, प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ, देश र कलाकारको प्रतिष्ठा बढ्छ। अन्यथा, प्रज्ञा–प्रतिष्ठानको अस्तित्व नै सङ्कटमा पर्ने देखिन्छ।
- लेखक नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व सदस्य सचिव हुन्।
प्रकाशित: १४ भाद्र २०८२ ०८:४७ शनिबार





