अमेरिकी गायक तथा गीतकार नील यङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक अभियानसँग सम्बन्धित संस्था ‘ट्रम्प ४७ कमिटी इन्क’ विरुद्ध १ करोड अमेरिकी डलरको मुद्दा दायर गरेका छन्। ट्रम्पको चुनावी र्यालीमा आफ्नो अनुमतिबिना ‘रकिन इन द फ्री वर्ल्ड’ गीत प्रयोग गरिएको उनको आरोप छ।
सोमबार दायर गरिएको उक्त मुद्दामा ट्रम्पको टोलीले मध्यावधि निर्वाचनसँग सम्बन्धित र्यालीहरूमा राष्ट्रपति मञ्चमा प्रवेश गर्ने क्रममा नील यङको गीत बजाएको उल्लेख गरिएको छ।
‘रकिन इन द फ्री वर्ल्ड’ गीतको अनधिकृत प्रयोगलाई लिएर नील यङले ट्रम्पविरुद्ध कानुनी कदम चालेको यो दोस्रो पटक हो।
यसअघि सन् २०२० मा पनि यङले ट्रम्पविरुद्ध मुद्दा दायर गरेका थिए। उक्त विवाद पछि आपसी सहमतिमा टुङ्गिएको थियो। तर, अहिले दायर गरिएको नयाँ मुद्दामा ट्रम्पको टोलीले पुरानो सहमतिको सर्त उल्लङ्घन गर्दै पुनः गीत प्रयोग गरेको आरोप लगाइएको छ।
नील यङका अनुसार, सन् १९८९ मा सार्वजनिक भएको उनको चर्चित गीत ‘रकिन इन द फ्री वर्ल्ड’ को प्रयोग गर्न आवश्यक अनुमति ट्रम्पको टोलीले लिएको छैन।
मुद्दामा उक्त गीतले अमेरिकी राजनीतिक भाषण र वास्तविक सामाजिक अवस्थाबीचको अन्तरलाई उजागर गर्ने उल्लेख गरिएको छ। गीतले गरिबी, घरबारविहीन मानिसहरूको अवस्था, समाजबाट उपेक्षित व्यक्तिहरूको पीडा तथा आर्थिक असमानताजस्ता विषयलाई चित्रण गर्छ।
गीतका शब्दहरूले सडकमा देखिने कठिन वास्तविकता, आफ्ना सन्तानलाई छाड्न बाध्य आमा, निराशामा डुबेका लागूपदार्थका दुर्व्यसनी र सम्पन्नताबीच थुप्रिने फोहोरजस्ता दृश्य प्रस्तुत गर्छन्।
गीतको दोहोरिने मुख्य अंशले सबै मानिसले समान रूपमा स्वतन्त्रताको अनुभव गर्न नपाएको अवस्थामाथि व्यङ्ग्य गरेको यङको पक्षको तर्क छ। उक्त गीतले उठाएका विषयवस्तु ट्रम्पले समर्थन गर्ने राजनीतिक विचारसँग मेल नखाने दाबी पनि मुद्दामा गरिएको छ।
नील यङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मुखर आलोचकका रूपमा चिनिन्छन्। उनले ट्रम्पको राजनीतिक अभियानमा आफ्नो संगीत प्रयोग गरिएको विषयमा यसअघि पनि आपत्ति जनाएका थिए।
यङको पक्षका अनुसार, ट्रम्पलाई यस वर्ष भएका र्यालीहरूमा गीत बजाउन इजाजत आवश्यक पर्ने जानकारी थियो। तर, यङले आफ्नो गीत प्रयोग गर्न कुनै अनुमति नदिएको दाबी गरिएको छ।
अब यस मुद्दामा अदालतले के निर्णय गर्छ भन्ने विषयले संगीतको प्रतिलिपि अधिकार र राजनीतिक अभियानमा कलाकारका सिर्जनाको प्रयोगसम्बन्धी बहसलाई फेरि चर्चामा ल्याएको छ।
प्रकाशित: १० कार्तिक २०८३ १२:५३ मंगलबार





