श्रीकृष्ण जन्माष्टमीको दिन पोखराको बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरले श्रीकृष्ण जन्माष्टमीको दिन यही साउन ३१ गते शनिबार राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं शृङ्खला आयोजना गर्ने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पोखरा–१६ बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगिताका लागि साउन २७ गते अपराह्न ५ बजेसम्म भजन समूहको नाम दर्ता गराउन पाइने प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिइन् । भजन समूह दर्ताका लागि ३ हजार शुल्क तोकिएको उनले बताइन् ।
‘कला साहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य’ भन्ने नाराका साथ २०४५ सालमा जन कवि केशरी धर्मराज थापाको अध्यक्षतामा स्थापना भएको यस प्रतिष्ठानले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन कृष्ण भजन प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको अध्यक्ष गौतमले बताइन् । प्रतियोगितामा यसअघि कृष्ण भजन मात्रै गाउन दिइँदै आएको थियो । तर यस वर्ष भने कृष्ण भजनसँगै महाभारतलाई पनि कथा वस्तु बनाएर भजन गाउन पाइने बनाइएको उनले बताइन् ।
प्रतिष्ठानले राष्ट्रिय भजन प्रतियोगिताबाहेक अन्य साहित्य गोष्ठी, कार्यशाला र सेमिनारहरू पनि आयोजना गर्दै आइरहेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए । उनले भने,‘प्रतिष्ठानले साहित्यिक धरोहर एवम् राष्ट्रिय व्यक्तिहरूको जीवन वृत्तान्त ‘समकालीन स्रष्टा र सिर्जना’ विशेष परिचर्चा कार्यक्रम पनि गर्दै आएको छ ।’
प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ७५ हजार, तृतीय हुने समूहले ५० हजार, सान्त्वना हुने समूहले २५ हजार र प्रत्येक सहभागी समूहले ५/५ हजारका दरले प्रोत्साहन पुरस्कार प्राप्त गर्ने प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए ।
प्रतियोगिता आयोजनाका लागि १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ । प्रतिष्ठानले स्थापनाकालदेखि नै द्विवार्षिक रुपमा राष्ट्रिय पुरस्कारसँगै साहित्यका विविध विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूको पहिचान गरी, बाल साहित्य पुरस्कार, मदन चन्दा स्मृति पुरस्कार र लोक कवि चेतबहादुर स्मृति पुरस्कारसहित ४ वटा पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानले साहित्य विकासमा पुस्ता हस्तान्तरणलाई ध्यानमा राखेर कविता, निबन्ध, लोककथा आदि साहित्यका विधाहरूमा सृजनशील प्रतियोगिताहरू राख्दै नवोदित प्रतिभाहरूको खोज्ने र साहित्यमा अभिरुचि जगाउने कार्य गर्नुका साथै नेपाली भाषा साहित्यको संरक्षण एवम् संवर्धनमा जोड दिँदै आएको छ ।
प्रकाशित: २३ श्रावण २०८२ १५:१० शुक्रबार





