३ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

उमेर ढल्दै जाँदा समाउने हात अनि हिँड्ने बाटो हुँदैन!

गजल

१) गजल

जसो भन जे भन मेरो डेग चल्दैन ता

चिड्चिडेको जितमा इतिहास ढल्दैन ता।

जीवनयात्रामा नबुझे जस्तो किन भयो

त्यस्तो जालीझेली कुराले सत्य गल्दैन ता।

दृढतामा केको बिज रोप्दै आएथ्यौ हिजो

बोटल ब्रशको वृक्षमा फल फल्दैन ता।

राम्रो काम नगर्दा पनि हुन्छ भन्थ्यौ तिमी  

प्रगतिबिना दुश्मनको मन जल्दैन ता।

२) गजल

बाबु तिमी जति सक्छौ माथि चढ्ने गर

भोलिलाई सम्झदै पुस्तक पढ्ने गर।

बुबा भन्नुहुन्थ्यो जिउन सजिलो छैन

सत्य र निष्ठाको लागि सधैँ लड्ने गर।

कुर्सीमा बसी कलम चलाइ खान्छौ भने

संस्थागत मर्यादामा अघि बढ्ने गर।

व्यतीत भइसकेपछि बुझ्नुको के अर्थ

आजै परीक्षणको आगोमा डढ्ने गर।

३) गजल

तिम्रा जितहरूमा आशाको दियो बल्न सकोस्

निराशा र बेरोजगारीका जगहरू ढल्न सकोस्।

के गर्‍यो सरकारले भनी सोधिरहने कुरूप

असल दृष्टि नभएका अँखाहरू बदल्न सकोस्।

राष्ट्रिय उत्पादनमा सुक्दै गएका रुखहरूमा

लगानी लाउँदै सयौं ट्रक डलर फल्न सकोस्।

सिनोमा स्यालले लुछाचुँडी गरे जस्तो होइन

सतिसाल भएर स्थायी सरकार चल्न सकोस्।

४) गजल

मैले जति दु:ख सहें, तिमीले त्यति पाउनू परोस् 

सबैसामु आफ्नै भोगाइ आँसु झारी गाउनू परोस्।

यो जीवनको घाउ कति गहिरो छ, बुझेनौ कहिल्यै

अर्को जुनी सफलताको तड्पाइमा धाउनू परोस्।

आँगनमा हाँसो भर्न तड्पिएको मनलाई, खै त्यो प्यार  

अर्को जुनीमा प्यास मेट्न, सयौंसँग माया लाउनू परोस्।  

टाल्दा टाल्दै थाकिसकें म चुहिरहने मायाको छानो

तिम्रो अर्को जन्ममा सयौं थोत्रा छाना छाउनु परोस्।

५) गजल

भोक लाग्ला बिनाश्रम यो मुखमा लगाउने आटो हुँदैन

गतिहीन जीवन सुखद् बिताउने कुनै पाटो हुँदैन। 

त्यो पाखुरीमा दम छदा, कति डराउँछौ मेहनत गर्न

आफ्नो काम सानो होस् वा ठूलो, एक अर्कामा साटो हुँदैन। 

बोलीले ठिक्क पार्दै गर्दा, व्यवहारले जिउँदै मारिराख्यौ

गलत व्यवहार लुकाउन चाहँदैमा, उ लाटो हुँदैन।

आफैँ रुने अनि आफैँ हाँस्दै, आफ्नालाई कोप वर्षा गर्नेको,

उमेर ढल्दै जाँदा, समाउने हात अनि हिँड्ने बाटो हुँदैन।

प्रकाशित: १९ चैत्र २०८२ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App