२०८३ सालको सुरुवात चलचित्र क्षेत्रमा सुखद देखियो। ‘लालीबजार’, ‘परालको आगो’देखि ‘गौंथली’सम्मका चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भए। कपिल रिजाल निर्देशित चलचित्र ‘गौंथली’को कुरा गर्ने हो भने साउन १ गतेदेखि प्रदर्शनमा रहेको यसले नेपालको सर्वाधिक कमाउने चलचित्रको दोस्रो स्थान बनाउन सफल भएको छ। हालसम्म पनि ‘गौंथली’ सिनेमा घरमा प्रदर्शनरत छ।
त्यसैगरी, वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको ‘लालीबजार’ साढे तीन करोड रुपैयाँको लगानीमा निर्माण भएको थियो। यसले आफ्नो प्रदर्शन अवधिमा कुल ९ करोड ३२ लाख रुपैयाँ कलेक्सन गर्न सफल भयो। यसलाई हामी हिट चलचित्रको सूचीमा राख्न सक्छौँ।
चलचित्र निर्माणकर्ताहरूका अनुसार नेपालमा एउटा चलचित्र निर्माण गर्दा कम्तीमा दुईदेखि तीन करोड रुपैयाँ लागत लाग्ने गरेको छ। यसरी हेर्ने हो भने २०८३ वैशाखदेखि हालसम्म करिब १७–१८ वटा चलचित्र सिनेमा घरमा प्रदर्शनमा आएका छन्। तर, यति लामो सूचीमा सफल चलचित्र भने कमै छन्।
फ्लप चलचित्रको सूची हेर्ने हो भने निकै लामो छ। दुईदेखि तीन करोड रुपैयाँमा निर्माण भएका, स्टार कलाकारसमेत देखिएका र ठूलो प्रचार–प्रसार गरिएका चलचित्रले बक्स अफिसमा आफ्नो लगानी सुरक्षित गर्नु त परै जाओस्, ५० लाख रुपैयाँसमेत उठाउन सकेका छैनन्।
करिब दुई दर्जन चलचित्र प्रदर्शनमा आउँदा एक दर्जनभन्दा बढी चलचित्रले ५० लाख रुपैयाँसमेत कलेक्सन गर्न सकेनन्। चलचित्र फ्लप हुनुका कारण अनेकौँ हुन सक्छन्। तर स्टार कलाकार वा प्रचार–प्रसारमा भने कमी देखिँदैन।
उदाहरणका लागि असार ५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘आई एम जीत बहादुर’लाई लिन सकिन्छ। हास्य कलाकार जितु नेपालको निर्माणमा तयार भएको यो चलचित्रमा वर्षा राउत, नीति शाह, दीपकराज गिरीदेखि प्रियंका कार्कीसम्म देखिएका छन्। चलचित्रको प्रचार–प्रसारमा जितुले पनि कुनै कसर बाँकी राखेनन्।
मिडियामा विवादित बयान दिएर होस् वा प्रचार–प्रसारमा चलचित्रकी अभिनेत्रीले साथ नदिएको विषयमा अभिव्यक्ति दिएर, पशुपतिनाथ मन्दिरमा आरतीको समयमा आफ्नो चलचित्रको प्रचार गरेर विवादमा आएर होस्, जितुले चलचित्र चलाउनका लागि हरसम्भव प्रयास गरे। तर दर्शकले चलचित्रलाई नपत्याएपछि ती प्रयासले खासै काम गरेनन्।
चलचित्र फ्लप हुनुमा कमजोर कथावस्तु र निर्देशनसँगै त्यस समयमा देश–विदेशमा चलिरहेको विश्वकप पनि एउटा कारण रहेको देखिन्छ। जसका कारण चलचित्रले आफ्नो प्रदर्शन अवधिमा कुल ३१ लाख ३६ हजार रुपैयाँ कलेक्सन गर्यो। यो कलेक्सन चलचित्र विकास बोर्डको पोर्टलमा उल्लेख छ।
त्यसैगरी, भदौ ५ गतेदेखि प्रदर्शनमा आएको ‘मास्टर्नी’ एक महिना नबित्दै सिनेमा घरबाट उत्रिएको छ। प्रियंका कार्कीको निर्माण तथा अभिनय रहेको यो चलचित्रको अवस्था पनि उस्तै रह्यो। ठूलो प्रचार–प्रसार र स्टार कलाकारको उपस्थितिका बाबजुद यसले बक्स अफिसमा आफ्नो जादु देखाउन सकेन। आफ्नो प्रदर्शन अवधिमा यसले जम्मा ४० लाख १५ हजार रुपैयाँ कलेक्सन गर्यो।
यससँगै यस्ता थुप्रै चलचित्र छन्, जसले आफ्नो लागतको २५ प्रतिशत पनि उठाउन सकेनन्। ‘लाइफ ड्यामेज’ले ३४ लाख ४० हजार, ‘काजी’ले ४४ लाख ३८ हजार, ‘मालती मंगले’ले ५१ लाख ७३ हजार, ‘गुरु आमा’ले २९ लाख ४२ हजार, ‘एक मुठ्ठी बादल’ले ५ लाख २१ हजार, ‘कुम्भ’ले ४ लाख २५ हजार, ‘आई एम जीत बहादुर’ले ३१ लाख ३६ हजार, ‘जाड’ले १ लाख १६ हजार, ‘कमला मिस’ले २ लाख ६१ हजार, ‘हली’ले २३ लाख २४ हजार, ‘लज्जावती’ले ७ लाख ७५ हजार र ‘मास्टर्नी’ले ४० लाख १५ हजार रुपैयाँ कलेक्सन गरेका छन्।
अब प्रश्न उठ्छ, यति धेरै चलचित्र फ्लप भइरहँदा पनि किन महिनामा सातदेखि आठवटासम्म चलचित्र प्रदर्शनमा आइरहेका छन्? के लगानीकर्तासँग पैसा बढी भएर हो? वा विषयवस्तु छनोट गर्न नसक्दा हो?
यी सबै प्रश्न हालका लागि निर्माता र लगानीकर्तामै छोडौँ।
प्रकाशित: ३० भाद्र २०८३ १५:०२ मंगलबार





-600x400.jpg)