ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरले कमला पराजुलीकाे ‘ॐ शान्ति’ कवितासङ्ग्रह लोकार्पण गरेकाे छ।
ब्रह्मकुमारी राजयोग केन्द्र विराटचोक, मोरङकी प्रशिक्षक ब्रह्मकुमारी कविता पोखरेलको अध्यक्षता र साहित्यकार छवि वैरागी घिमिरे प्रमुख अतिथिमा कार्यक्रम भएकाे हाे।
कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’ को सञ्चालनमा भएकाे उक्त कार्यक्रममा सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपाने, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला लगायतकाको सहभागिता थियो।
कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीले कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए। विरहीले ‘ॐशान्ति’ कवितासङ्ग्रह ज्ञानको पञ्ज भएको बताए। ‘शान्ति खोज्न कहीँ जानु पर्दैन, शान्ति आफैँभित्र छ, त्यसलाई खोज्न मात्र जान्नुपर्छ’ भन्ने सन्देश कृतिले दिएको बताए।
साथै विरहीले कृति शब्द र भावको पुञ्ज मात्र नभएर यो व्यक्ति तथा समाजको एउटा इतिहास पनि भएकाले आगामी पुस्ताले यसलाई अध्ययनको सामग्रीसमेत बनाउन सक्ने हुँदा यस्ता कृति प्रकाशन गर्दा भाषिक संरचना तथा वर्णविन्यासमा ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि छवि वैरागी घिमिरेले कविता विशिष्ट साधनाबाट निस्कने कोमल सिर्जना भएको बताए। कविले जेमा पनि कविता भेट्न सक्नु साधना भएको उल्लेख गर्दै उनले ब्रह्माकुमारी राजयोगको आध्यात्मिक अभ्यास र निरन्तर साधनाबाट ‘ॐ शान्ति’ कवितासङ्ग्रह जन्मिएको बताए।
सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद न्यौपानेले सिर्जनाभित्रको सौन्दर्यशास्त्रबारे उल्लेख गर्दै यस कवितासङ्ग्रहले शान्ति कहाँ पाइन्छ भन्ने प्रश्नको खोजी गरेको बताए। उनले आउँदाे संस्करणमा भाषा तथा वर्णविन्यासमा ध्यान दिनुपर्ने सुझाए।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले वर्तमान समयमा मानिसभित्र बढ्दै गएको अशान्ति र द्वन्द्व न्यूनीकरण गर्न आध्यात्मिक चिन्तन आवश्यक रहेको बताए।
कृतिकार पराजुलीले आफ्ना अनुभव, आध्यात्मिक चिन्तन र अनुभूतिलाई प्रस्तुत गर्दै जाँदा कृति तयार भएको बताइन्। केही वर्षअघि नै कविता लेख्न सुरु गरेको बताउँदै कृतिकार पराजुलीले भौतिकभन्दा आध्यात्मिक चिन्तनबाट बढी ऊर्जा र शक्ति प्राप्त गर्ने बताइन्।
ध्यान केन्द्रमा तथा विभिन्न कार्यक्रममा कविता सुनाउँदा श्रोताले मन पराएपछि ती रचना सङ्कलन गरेर पुस्तक प्रकाशन गरेको उनको भनाइ छ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटचोकमा आयोजित कार्यक्रममा कोसी साहित्य–कला परिषद् नेपालको सहकार्यमा भएकाे हाे। कार्यक्रममा ब्रह्मकुमारी कविता पोखरेलले उपस्थितजनलाई शब्दमार्फत स्वागत गरेकी थिइन्।
प्रकाशित: २६ आश्विन २०८३ १०:३२ सोमबार





