१२ पुस २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

माइली र मेरो देश

कविता

माइली हिँड्दै थिई

असह्य प्रसवपीडाले छटपटाई

रुखको फेद

दुई हातले समाती

त्यही बखत

पहाडको खोँच सुनसानमा

एक्कासी च्याँच्याँ गर्दै

जन्मियो ठुले

भर्खरै आमा भएकी माइलीले

मजेत्रो च्यातेर

रगत र फोहोरमा लतपतिएको

आफ्नै शरीरबाट निस्किएको

त्यो अबोधलाई

पुछेर सफा गरी

रगत बगेर कमजोर भएको

आफ्नो शरीरको वास्ता नगरी

आफू अस्वस्थ हुँदा पनि

त्यो रगतको डल्लोलाई

ममताकी खानीले स्तन चुसाउन थाली

त्यसपछि

जंगलको बाटो हुँदै

आमाको पोल्टाको तातोसँगै

गुटमुटिएर झुप्रोमा ठुले भित्रियो

परदेशमा पसिना बगाइरहेको

उसको खसमलाई माइलीले सन्देश पठाइन्–

‘छोरो जन्मियो’

परदेशीले सन्देश पढ्यो पढेन

त्यो त थाहा नै भएन

तर केही दिनपछि

ऊ फर्कियो

काठको बाकसमा

अरूको काँध चडेर

माइलीको छोरो ठुले

अहिले लाठे भयो  

ऊ पनि परदेश जान्छु भन्छ

धन कमाउन

माइली बुढी भइसकी

एक मात्र आफ्नो सहारालाई  

कसरी जानू भन्नु  

नजाऊ भन्न माइलीको आँट छैन

किनकि दुई छाक टार्ने

सामल छैन

ठुले परदेश गयो

यस्तै कथाले भरिएको

बुढाबुढी मात्र बस्ने

पीडाले छटपटिएको

रेमिटेन्सले चलेको  

मेरो देश !

प्रकाशित: २८ असार २०८२ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App