४ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

शोषकहरू त थुप्रै भेटिन्छन् माहुरीहरूको घारमा पनि

मुक्तक

१) मुक्तक

देशलाई बचाएझैं गरी देश बेचेर सत्ता चलाउनेहरू

घरभित्रै सुरुङ बनाएर देशको ढुकुटी लुकाउनेहरू

बाँचुन्जेल तड्पिने छन्, मर्ने बेला पानी पाउने छैनन्

जनताको रगतपसिनामा पौडी खेल्दै रमाउनेहरू।

२) मुक्तक

दलाल नेताको खोल ओढ्नमा पाइला सार्ने कस्तो नियति तिम्रो?

आफ्नो जागिर बँचाउन कलिला युवा मार्ने कस्तो नियति तिम्रो?

देशभक्त थियौ भने बर्दी फुकालेर आदेश दिनेलाई लात मार्थ्यौ,

भ्रष्टको आदेशमा आमाको कोख रित्तो पार्ने कस्तो नियति तिम्रो?

३) मुक्तक

सुरक्षाको घेरा तोड्ने छोरा तिमी पनि अपराधी हौ

आगो लगाउने घर फोड्ने छोरा तिमी पनि अपराधी हौ

शान्तिपूर्ण आन्दोलनमा सहभागी भएर कुकर्म गरी

लुटपाट गरेर सम्पत्ति जोड्ने छोरा तिमी पनि अपराधी हौ।

४) मुक्तक

दुर्गन्ध हट्यो हुरी रोकियो बर्षात चल्यो अब त हाँस्नुहोस्

ठग बन्धन, ...हरूको सरकार ढल्यो अब त हाँस्नुहोस् 

आज हाम्रो नेपाल देशमा सहिदहरूको बलिदानबाट

विशाल रूपमा परिवर्नको दिप बल्यो अब त हाँस्नुहोस !

५) मुक्तक

करेन्ट पनि हुन्छ, उज्यालो पनि हुन्छ बिजुलीको तारमा पनि

सबै पापी नै थिएन, थिए असल व्यक्तित्वहरू सरकारमा पनि

एउटा माहुरीले मीठो मह बनाउँछ एउटा माहुरीले खाइदिन्छ

यहाँ शोषकहरू त थुप्रै  भेटिन्छन् माहुरीहरूको घारमा पनि।

प्रकाशित: १६ आश्विन २०८२ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App