१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

आध्यात्मिक आँगनबाट देश नियाल्दा

चिन्तन

विश्व सभ्यताका देशहरू जन्मिँदै बिलाउँदै गरिरहेका छन्। युरोपका ससाना पहाड, अमेरिकाका मलिला पाखा र सम्म परेका फाँट, अफ्रिकाका मैदान, अस्ट्रेलिया, इन्डोनेसियाका पहाड र सम्म जमिन, चीन र जापानका उर्बर भूमिमा उब्जिने अनाज र वनस्पतिहरू मात्रै होइन, केही पनि नफल्ने र नउम्रिने मरुभूमिका बालुवामाथि समेत गगनचुम्बी भवनहरू ठडिएका छन्। सूर्यको प्रचण्ड गर्मीमा त्यही सूर्यको प्रकाशबाट ऊर्जा उत्पादन गरेर चिसो वातावरण सिर्जना गरेर त्यहाँ सभ्यता ठड्याइरहेका छन्।

वर्तमानका यी सभ्यताहरू सूर्यको तापको थोरै मात्र उतारचढावमा ढल्न सक्छन्। चन्द्रमाको अवस्थितिमा थोरै मात्र हलचल हुँदा डुब्न सक्छन्। पुरातत्त्वलाई जमिनमुनि खोतल्न र गोताखोरलाई समुद्रमुनि गएर पत्ता लगाउन वर्षौं लाग्छ। मानिस सभ्यताको युगमा प्रवेश गरिसकेपछि पनि दस हजार वर्षको अन्तरालमा कैयौं विश्व सभ्यता केही समय अस्तित्व दर्साए, अनि बिलाए।

हिमालयको काखमा रहेको नेपाल सदियौंदेखिको अन्तरालमा पनि आफ्नो अस्तित्वलाई जीवन्त राख्न सक्षम रहेको छ। आखिर यहाँ त्यस्तो के शक्ति छ र यहाँको सभ्यता जीवन्त रहेको छ त भन्ने प्रश्न स्वाभाविक छ।

अरू जीवमा पनि जीवन देख्न सक्ने, एकअर्काको अस्तित्वमा सहजीवन देख्न सक्ने, एकअर्काको संस्कृति र सभ्यताको सम्मान गर्न सक्ने मानवतायुक्त शक्ति नेपालमा विद्यमान रहेको छ। विश्वदेशका मानिसहरूले नमुनाका रूपमा हेर्न सक्ने, एउटा आध्यात्मिक राष्ट्रका रूपमा उदाहरण बनेर विश्वमञ्चमा खडा हुन सक्छ। त्यो विशाल सम्भावना नेपाल र नेपालीमा विद्यमान रहेको छ। छिरलिएर रहेका संस्कृति, बिथोलिएका सभ्यता राजनीतिको लप्काले डामिएका मनहरूलाई अध्यात्मको दीपले जाज्वलित गरेर आध्यात्मिक शक्ति राष्ट्रको रूपमा हाम्रो देश नेपाललाई उभ्याउन सकिन्छ।

सूर्योदयसँगै सूर्यतर्फ फर्केर नमस्कार गर्दै सूर्यको पहिलो किरणसँग आँखा जुधाएर बात मार्न सक्ने, प्रभातको लालीसँगै घन्किने शङ्ख र घण्टको आवाजसँगै दिनको शुभारम्भ गरी दिनभर कर्ममा रहेर साँझको सूर्यलाई अघ्र्य दिई बिदाइ गरेर चन्द्रको स्वागतमा तयार रहने सभ्यता हो हाम्रो नेपाली सभ्यता।

एक सय पचास किलोमिटरको उत्तर–दक्षिण र एक हजार किलोमिटरको पूर्व–पश्चिम फैलावटको दुरीमा अत्यधिक चिसो, घमाइलो वातावरण र प्रचण्ड गर्मी हुने अनुपम वातावरण विद्यमान रहेको छ। प्रकृतिका चारवटै ऋतुलाई अँगालेर हराभरा, फूलैफूलको बगैंचा, हिउँको सिरेटो र तराईको तातो गरी प्रकृतिको स्वभाव अनुसारको सम्पूर्णतामा बाँचेको समाज र यही वातावरणमा विकास भएको सभ्यता नेपाली सभ्यता हो। एक सयभन्दा बढी भाषा र एक सय भन्दा बढी जातजाति र संस्कृतिको एकीकृत सभ्यताको नाम नै नेपाली सभ्यता हो।

यही सभ्यताको आँगनमा विश्वका मानिसहरू शान्तिको अनुभव गर्न आउन सक्दछन्। धर्तीको स्वर्गको अनुभूति गर्न सक्छन्।

शक्ति राष्ट्रको परिभाषामा आध्यात्मिक शक्तिलाई आधार मान्दा सदियौंदेखिको जिउँदो सभ्यता भएको राष्ट्र हो नेपाल। विश्वका अनेकौं सभ्यताहरू ढलेर खण्डहर बनी माटोमा विलीन भइरहेका छन्  तर पशुपति र स्वयम्भूका शक्तिबाट सिञ्चित नेपाली सभ्यता पाँच हजार वर्षको अन्तरालमा पनि उस्तै जीवन्त खडा छ। ‘वसुधैव कुटुम्बकम्’ र ‘कृण्वन्तोविश्वमार्यम्’ गुन्जाउँदै सारा मानिसहरू बन्धुबान्धव हुन् र विश्व सबै प्राणीको साझा घर हो भनेर मानवीय विवेकको विकास भएको कुरा उद्घोष गरिसकेका थिए हाम्रा पुर्खाले। ‘अहं ब्रह्मास्मि’ र ‘अप्प दीपो भव’ भनेर आफैंभित्र नियाल, सारा ब्रह्माण्डको शक्ति तिमीभित्रै छ भन्दै हरेक व्यक्तिलाई आध्यात्मिक जागरणका लागि प्रेरित गरिरहेका छन्।

सृष्टिका हरेक तत्त्वमा पञ्चतत्त्व (पृथ्वी, जल, अग्नि, वायु र तेज) हुन्छ भनेर पत्ता लगाई नश्वर देहको प्रकृति थाहा पाएर इन्द्रियका वशमा नपरी मन र मस्तिष्कलाई आफ्नो अस्तित्वमा लगाएर चेतन तत्त्व जगाई चेतनाको माथिल्लो विन्दुमा पुग्न सक्छ भनेर सिकाएको पनि यही धर्तीले हो। साथै भविष्यलाई आशा देखाउने पनि यही भूमिले हो।

यो भूमिमा कार्लमाक्र्स, लेनिन, माओ वा अन्य देशका समाजवादी चिन्तकहरू नाचेका छैनन्, यहाँका खेतबारीमा बुर्कुसी मारेका छैनन्। हामीकहाँको ऊर्जाको प्रवाह अन्यत्रको भन्दा फरक छ। उनीहरूको अध्ययनको दायरा उनीहरूकै समाज हो, उनीहरूकै भौगोलिक अवस्थिति र आवश्यकता हो। हाम्रो व्यवस्था उनीहरूले सोचेजस्तो हुन सक्दैन। अर्काले विकास गरेको सोच र विचारलाई आफ्नो भूमिमा स्थापित गर्नुपर्छ भन्ने सोच क्षणिक हो। यो धेरै समय टिक्दैन।

हजारौं वर्षदेखि हाम्रा पुर्खाले हामीलाई आध्यात्मिक निधि, प्रेम र शान्तिको उपहार दिएका छन्। व्यक्तिवादलाई सामूहिकतामा ल्याउने हाम्रो सामाजिक पद्धतिलाई सामाजिक व्यवस्थाको आधार बनाउनु जरुरी बनेको छ।

आजभन्दा करिब ८५ सय वर्ष अगाडिदेखि विकास भएको मेसोपोटामियाको सभ्यता (हालको इराक, सिरिया र टर्की), त्यही कालमा चीनको हेनानमा विकास भएको जियाहु सभ्यता, ३५ सय वर्षअगाडिको दक्षिणी अमेरिकाका पेरु (माचुपिचु), इक्वेडर र चिलीमा फैलिएको इन्का सभ्यता त्यही कालमा यल्लो नदी र यांग्ज्ते क्षेत्रमा फैलिएको चीनको सभ्यता, त्यहीताका टर्कीको अनातालियामा फैलिएको क्याटालिक सभ्यता, दक्षिणी अमेरिकामा फैलिएको माया सभ्यता, नाइल नदीको किनारमा विकास भएको इजिप्टको सभ्यता, ३३ सय वर्षअगाडि मेक्सिकोमा फैलिएको एज्टेक सभ्यता, २८ सय वर्षअगाडिको इटलीबाट फैलिएको रोमन सभ्यता र ग्रिसमा फैलिएको ग्रिक सभ्यता, २५ सय वर्षअगाडि इरानमा फैलिएको पर्सियाको सभ्यता, त्यही समयमा सिन्धुनदीको किनारमा विकास भएको सिन्धुसभ्यता सबै मानव सभ्यताको विकासको निरन्तरतामा महत्त्वपूर्ण खुड्किलाहरू हुन्। हजारौं वर्षअघिदेखि प्राकृतिक जीवनशैली अपनाएर स्वयं विकास भएका अस्ट्रेलिया - न्युजिल्यान्डका आदिवासी सभ्यताको अझैसम्म पनि निरन्तरता भएको मानिन्छ।

सभ्यताको आँगनमा सुरु भएदेखि अनेकौं उतारचढाव सहँदै भए तापनि जीवन्त सभ्यताको रूपमा नेपाली सभ्यताले अध्यात्मलाई अँगालेर निरन्तर अगाडि बढिरहेको छ। विश्वका कैयौं जल्दाबल्दा सभ्यताका अवशेषहरू जमिनमुनि र जमिनमाथि खोजिरहँदा नेपाली सभ्यता शब्दको उत्पत्तिदेखि अक्षरले थाहा पाएको अवधि र श्रुति परम्परादेखि भोजपत्र, ताडपत्र, शिलापत्र, ताम्रपत्र सबैमा जीवन्त रहँदै आएको छ। वेदका ऋचा हुँदै उपनिषद्को दर्शन र पुराणदेखि वर्तमानसम्म जीवन्त छ।

चन्द्रमामा आँधी नआउन्जेल, सूर्यमा महाविस्फोट नहोउन्जेल, पृथ्वी आफ्नो कक्षमा घुमुन्जेल, पृथ्वीमा जीवन–अस्तित्व रहुन्जेल चन्द्र र सूर्यको प्रतिविम्बका रूपमा हाम्रो संकल्प र अठोट जीवन्त रहिरहनेछ। यही पृष्ठभूमि र विकासक्रममा हाम्रो देशलाई आध्यात्मिक राष्ट्र घोषणा गरेर विश्वमञ्चमा यसका मानकहरू बताई सारा मानवतालाई अध्यात्म बुझ्न, जीवन–दर्शनको बोध गराउन सकिन्छ।

हामीले अब देशलाई विकासको मार्गमा लानुपर्नेछ। विकासका लागि बुद्धि चाहिन्छ। त्यसमा अलिकति मानवीय भावना र संवेदना जोड्ने हो भने स्वस्थ विकास हुन सक्छ। अब मानवीय संवेदनाले भरिएको यात्रामा नेतृत्व गर्न सक्ने नेता चाहिएको छ देशलाई।

हाम्रो यति राम्रो देश, यति सहनशील र कर्मशील नेपालीका हातले दश वर्ष मात्रै मेहनत गर्दा पनि हामीले हाम्रो देशलाई सम्पन्न र विकसित देशका रूपमा उभ्याउन सकिहाल्छौं। आध्यात्मिकताको बलियो जग भएकाले हामीकहाँको विकास दिगो पनि हुन्छ।

विश्वका सभ्यताहरू चहारीरहँदा कताकता हाम्रो देशलाई किन सम्पन्नतामा लान सकिएन भनेर चुकचुक मानिरहेको नवीन पुस्ता अगाडि आइसकेको छ। दिन, महिना र वर्ष गर्दै देशको समय पनि बितिरहेको छ तर हाम्रो देश कसरी बनाउने भन्ने सोच नै नभएकाहरूको चंगुलमा परिरहेको र त्यसलाई चिर्न कठिन भइरहेको छ।

एकपटक अहिलेको चक्रलाई चिरेर नेपाली सोच र विश्व सभ्यताबिच समन्वय गर्न सक्ने नेतृत्व हुनासाथ सबै कुरा सही मार्गमा आइहाल्छ। विश्वसभ्यतासँग अन्तरक्रिया गर्दै नेपाललाई नयाँ मार्गमा डो¥याउनका लागि अविचल नेतृत्वको अपेक्षा देशले गरिरहेको छ।  

प्रकाशित: ११ आश्विन २०८२ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App