१२ वैशाख २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

साहित्यकार बजगाईंले ल्याए ‘देउसी खेल्ने भूत’

साहित्यकार कृष्ण बजगाईंको बालउपन्यास ‘देउसी खेल्ने भूत’ बजारमा आएको छ। नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्यमा कलम चलाउने बजगाईं नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील छन्।

‘देउसी खेल्ने भूत’ उपन्यासमा घरघरमा गएर भूतहरूले समेत देउसी खेल्ने र बर्सेनि गाउँलेहरू चिहानघारीमा गएर देउसी खेल्नुपर्ने अनौठो परम्पराको रोचक प्रसङ्ग छन्।

देउसी खेल्न निस्केका बालकहरू भूतसँग मिलेर देउसी खेलेका र भूतसँग मित लगाएका जस्ता डरलाग्दो प्रसङ्गहरू उपन्यासमा छन्।

रहस्यहरूले भरिपूर्ण रोमाञ्चकारी र अनपेक्षित घटनाहरू समावेश यस उपन्यासले पाठकलाई सातो जाने गरी तर्साउँछ। उपन्यासले मित्रता र एकताको महत्त्व बताउँदै साहसी बन्न सिकाउँछ।

विद्यार्थी, शिक्षक र अभिभावकका लागि उपयोगी बालमनोविज्ञानमा आधारित यो उपन्यास ज्ञानवर्द्धक, शिक्षाप्रद र प्रेरणादायी छ। बालबालिकाको भाषिक क्षमता अभिवृद्धि गराउन उक्त कृति उपयोगी छ।

लामो समयदेखि विदेशमा बसेर साहित्य लेखन, पत्रिका प्रकाशन र साहित्यिक संगठनको नेतृत्व गर्दै आएका बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष हुन्।

उनले सन् २००७ देखि ‘समकालीन साहित्य डट कम’ अनलाइन साहित्यिक पत्रिका र सन् २०१७ देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ सम्पादन गर्दै छन्।

बियोन्ड स्टोरिज प्रालि काठमाडौंबाट रंगीन चित्रसहित प्रकाशित ‘देउसी खेल्ने भूत’ को मूल्य ३५० रुपैयाँ रहेको छ।

प्रकाशित: ९ वैशाख २०८३ १०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App