३१ श्रावण २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

जिन्दगी

कविता

समयको सौन्दर्य

कालो बादलसरि

मडारिएर

ममाथि ठोकिन आइपुगेको

सुशासन र सुव्यवस्था नामको एउटा सेतो परेवा

म माटो वादीकै

टाउकोमा ठोकिएर

आशा र प्रतीक्षाको सञ्जीवनी बुटी पर्खिरहेको

मेरै कारण घाइते भएपछि

त्यही समयलाई धिक्कार्दै

म दुविधाको शहरमा

सगरमाथा र लुम्बिनीलाई साक्षी राखेर

कोशी र बागमतीलाई कर्णालीमा

मिसेको सपना सजाएर

स्वयम्भूका आँखाले हेरेर

माटोको खेती खोज्न

निरन्तर लागिरहेको छु

सायद जीवन चिन्ने

अभिलाषामा

लर्खराएका पाइलाहरूलाई

पहाडको उचाइमा झन्डा गाड्ने

एउटा अविरल यात्री बनेर

मनको मन्दिरको गजुरलाई

हेर्दै

जीवन खोजिरहेछु

पहाड ठिङ्ग उभिएर

मेरो अगाडि

मलाई जिस्काउँदै

अविरल कठिनाइका अहोरात्र

छिचोल्दा

म नथाकेकै यात्रीकै अगाडि

मेरै खुट्टामा पड्केर त्यो निर्जीव ढुङ्गा

लागेर ठेस म ठोक्किँदा

मेरै दोषको भारी बोकेर

नलडी फेरि उठ्न खोजेको

एउटा नयाँ

आशालाग्दो

राष्ट्र र राष्ट्रियता पक्का भएको

हृदयमा देश र देशको माटो बल्झेर

एक दिन आउनेछ मेरो उज्यालो दिन

म मरेपछि नै किन नहोस् भन्दै

पर्खिरहेछु म भोग्न र मर्न बाँकी जिन्दगी।

प्रकाशित: ३१ श्रावण २०८३ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App