"बिन्ती, तिमीले धूमपान गर्छ्यौ?" महेशले आफ्नो श्रीमतीलाई सोध्यो।
"कस्तो कुरा गर्नुहुन्छ! हजुरले मलाई कहिले सिग्रेट खाएको देख्नुभाको छ? " उसले अचम्म मान्दै साेधी।
"देखेको छैन र त सोधेको नि।" उसले भन्यो।
"होइन सरको मनमा यस्तो कुरा कसरी आयो हँ आज? किन शङ्का जाग्यो अचानक? " बिन्तीले मलिन हुँदै सोधी।
महेशले भन्यो, "शङ्काका केही स्राेत हुन्छन्। मानिसले आफ्नो व्यवहारले जन्माएका हुन्छन्।"
बिन्तीले भनी, "के भन्न खोजेको, मैले त कत्ति पनि बुझिन हजुरको भनाइ।"
"यो के हो?" महेशले सिग्रेटको प्याकेट देखाउँदै भन्यो।
"सिग्रेट हो हजुरले पिउन थाल्नुभयो? " बिन्ती ठट्याैली पारामा भनी।
महेशले भन्यो, "मैले होइन यो तिम्रो सिरानीमा थियो?"
"मेरो सिरानीमा!" ऊ झसङ्ग भई।
"हो यो तिम्रै सिरानीमा थियो! तिम्रो नभए अरू कसकाे? "महेश अलि चर्को स्वरमा बोल्यो।
ऊ बोल्नै सकिन। उनीहरूको केही महिनाअघि मात्रै विवाह भएको थियो।
"बिन्ती हामी दुई बिचमा केही कुरा लुकाउनु ठिक होइन। यदि तिमीलाई सिग्रेट पिउने बानी छ भने पनि भनिहाल।" महेशले फेरि पनि उस्तै गरी साेध्याे।
"होइन त्यो त कतै भेटाएर राखेकी!" ऊ डराउँदै भनी। उसका कुरामा सच्याइ नभएको प्रष्ट झल्किनथ्यो।
"अब मसँग झुट नबोल, मेरो अनुपस्थितिमा राति तिमी भेट्न को आएका थिए, त्यो भन? तिमीले नभने म भन्छु भनौँ?" महेशले शङ्का मिश्रित शैलीमा साेध्याे। उसलाई रिसाएको देखेर बिन्ती झनै डराई ऊ थरथर काँपिरहेकी थिई।
राति महेश घरमा थिएन।
"तारे आएको थियो।" उसको मुखबाट खाँटी कुरा फुस्किहाल्यो।
प्रकाशित: १५ कार्तिक २०८३ १२:०९ आइतबार





