‘एउटी कुलघरानकी सुन्दर कन्याको कुरा आएको छ, बिहे गर्ने हो बाबु?’ लमी बाजेले सेता दाँत देखाउँदै सोधे।विदेशबाट घर फर्केर बिहे गर्ने सुर कसेको रमेशका लागि यो प्रस्ताव मानौँ प्रतीक्षाकै फल थियो। भोलिपल्टै ऊ लमी बाजेको पछि लागेर केटीको दैलो टेक्न पुग्यो। पहिलो नजरमै चार आँखा जुधे। मनभित्र कतै अदृश्य डोरी गाँसियो। सुनिताको लजालु मुस्कानले उसलाई चन्द्रमा छोएझैँ आनन्दित बनायो।
धुमधामसँग विवाह भयो। खुसीका दिन सधैँ कहाँ आउँछन् र! विवाहको दिन रमेशका लागि जीवनकै उत्कृष्ट दिन ठहरियो।
तेस्रो दिन ‘दुराने’ जाने तयारी भयो। ‘आज त ससुराली जाने पहिलो दिन, छिटो तयार होऊ है!’ रमेशले हतार गर्यो।
सुनिताले ठट्टा मिसिएको कडा स्वरमा भनिन्, ‘म तयारी चाउचाउ हो र दुई मिनेटमै तयार हुन?’
रमेश ट्वाल्ल पर्यो तर रातो साडीमा सजिएकी उनलाई देखेपछि सबै गुनासा बिर्सियो।
गफिँदै हिँड्दा बाटो कटेको पत्तै भएन। ससुरालीको आँगनमा असामान्य चहलपहल थियो।
रमेशले जिस्क्यायो, ‘हेर न, छोरीज्वाइँलाई स्वागत गर्न गाउँ नै भेला भएछ।’
‘हाम्रा छिमेकी पाहुनाको आदर गर्न जान्दछन्,’ सुनिताले गर्व गरिन्।
तर आँगन टेक्नेबित्तिकै गर्जन सुनियो, ‘घर चलाउन नसकेर माइती बसेकी भन्दैमा अर्कैसँग बिहे गरिदिने? सुनिता मेरी पत्नी हो। फिर्ता नल्याए पनि जारी त चाहिन्छ!’
ज्वाइँछोरी देखेर सुनिताका बा घोसेमुन्टो लगाएर चुप लागे। पूर्वपतिलाई देखेर सुनिता निस्तेज भइन्। रमेशका सपनाहरू भने एकाएक चिराचिरा भए, मानौँ उकालो चढ्दै गरेको पहाडबाट हठात् पहिरो खस्यो र उसकै मुटुमाथि बजारियो।
प्रकाशित: ११ आश्विन २०८३ ०७:२९ आइतबार





-600x400.jpg)