८ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

केजिया बनिन् मिस युनिभर्स इन्डिया–२०२६

केरलकी १९ वर्षीय केजिया लिज मेजो यो वर्षको मिस युनिभर्स इन्डिया–२०२६ बनेकी छन्। उनले आफ्नो सुन्दरता र बौद्धिकताबाट ५२ प्रतियोगीलाई पछि पर्दै उक्त ताज जितेकी हुन्। उनलाई मिस युनिभर्स इन्डिया–२०२५ की विजेता मनिका विश्वकर्माले ताज पहिराइदिइन्।

अब केजियाले अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतिनिधित्व गर्नेछिन्। यस वर्षको अन्त्यमा प्युर्टो रिकोमा आयोजना हुने ७५औँ मिस युनिभर्स प्रतियोगितामा विश्वका विभिन्न देशका सुन्दरीहरूले सहभागिता जनाउनेछन्।

तमिलनाडुकी वैष्णवी गणेश प्रथम रनर–अप र गुजरातकी अनुश्री सातवलेकर द्वितीय रनर–अप बनेकी छन्। जयपुरस्थित जी–स्टुडियोमा आइतबार राति ‘मिस युनिभर्स इन्डिया–२०२६’ को ग्रान्ड फिनाले आयोजना गरिएको थियो। प्रतियोगितामा देशभरबाट ५२ जना फाइनलिस्टले आफ्नो प्रतिभा, सुन्दरता र आत्मविश्वास प्रस्तुत गरेका थिए।

केजियाले यसलाई उपलब्धि मात्र होइन, ठूलो जिम्मेवारीको रुपमा लिएकी छन्। अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिनिधित्व गर्न पाउनु गर्व र सम्मानको विषय भएको उनको भनाइ छ।

उनले भनिन्, 'यस अवसरमार्फत म भारतको विविधता, संस्कृति, प्रतिभा र नयाँ पुस्ताको शक्तिलाई विश्वसामु प्रस्तुत गर्नेछु।’

प्रतियोगितामा बलिउड अभिनेत्री तथा पूर्व मिस युनिभर्स सुष्मिता सेन, दुई पटक मिस युनिभर्स इन्डिया बनेकी उर्वशी रौतेला र मिस युनिभर्समा प्रथम रनर–अप बनेकी सेलिना जेटली निर्णायक थिए। फिल्म निर्माता तथा वातावरणविद् प्रज्ञा कपूर र मिस युनिभर्स इन्डियाका मालिक निखिल आनन्द पनि निर्णायक मण्डलमा थिए। मिस युनिभर्स इन्डिया–२०२४ की विजेता रिया सिंघा पनि कार्यक्रममा उपस्थित थिइन्।

सबै प्रतियोगीहरूले आफ्नो परिचयबाट फिनालेको सुरुवात गरेका थिए।परिचय दिने क्रममा प्रतियोगीहरूले आफ्नो राज्य र सहरबारे पनि जानकारी दिएका थिए।

प्रकाशित: ८ भाद्र २०८३ १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App