१५ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

कन्दराको एटलान्टा कन्सर्टको २१ लाख बाढी पीडितलाई

कन्दरा ब्यान्डले कन्सर्टमार्फत भोटेकोशी बाढी पीडितका २१ लाख नेपाली रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ। कन्दराको आह्वान र अग्रसरतामा बिएनएमको आयोजना तथा एटलान्टा, अमेरिकामा रहेका नेपाली दर्शक, संघ–संस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा समुदायको सहभागितामा सम्पन्न कार्यक्रममा रकम संकलन गरिएको हो।

एटलान्टास्थित नाफारहित संस्था नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खाताबाट प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको कन्दराले आफ्नो सामाजिक सञ्जालबाट जानकारी गराएको हो। २१ लाख रुपैयाँको सहयोग विपद्प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीको राहत, उद्धार र पुनर्स्थाका लागि समर्पित गरिएको कन्दराले जनाएको छ।

कन्दराका गायक तथा संस्थापक विवेक श्रेष्ठले भने, ‘‘यो केवल एउटा सांगीतिक कार्यक्रम थिएन। हजारौँ माइल टाढा रहेर पनि मातृभूमिको पीडासँग जोडिएको नेपाली मनहरूको सामूहिक अभिव्यक्ति थियो।’’

उनले देश दुखिरहेको बेला गीत गाउन सजिलो नभए पनि संगीतलाई पीडामा मल्हम लगाउने माध्यम बनाउन सकिन्छ भन्ने विश्वासका साथ कार्यक्रम अघि बढाइएको समेत बताए ।

“संकटको यस घडीमा हामीले संगीतलाई मनोरञ्जनबाट सेवातर्फ मोड्ने निर्णय ग‍¥यौँ। एटलान्टाका नेपाली दाजुभाइ–दिदीबहिनीले देखाउनुभएको एकता, माया र सहयोगले यो सम्भव भयो,” गायक श्रेष्ठले भने।

गत ७ अगस्टदेखि आगामी ३० सेप्टेम्बरसम्म दुई महिना लामो अमेरिकाको टुरमा रहेको कन्दराले बोस्टन सहरबाट कन्सर्ट सुरु गरेको थियो। ‘रिदम अफ चेन्ज’ नाम दिइएको सांगीतिक टुरलाई निरन्तरता दिँदै ब्यान्डले एटलान्टापछिका बाँकी दुई सहर भर्जिनिया र कोलोराडोमा प्रस्तुति दिनेछ। यी दुवै प्रस्तुतिमा ब्यान्डले भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढी प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउने बताइएको छ।

गत बुधबार, २६ अगस्टमा नेपालमा आएको विनाशकारी विपद्पछि कार्यक्रम स्थगित गर्ने दबाब र भावनात्मक चुनौतीबीच कन्दराले कार्यक्रम रोक्ने होइन, कार्यक्रमलाई सेवामा रूपान्तरण गर्ने निर्णय लिएको गायक श्रेष्ठको भनाइ छ।

प्रकाशित: १५ भाद्र २०८३ १५:२७ सोमबार