२८ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

आचार्य कमल रिजालको एक्काइसाैं कृति ‘दर्शनागार’ सार्वजनिक

आध्यात्मिक लेखक आचार्य कमल रिजालको २१औँ कृति ‘दर्शनागार’ (दर्शनको वैश्विक रूपरेखा) सार्वजनिक गरिएको छ।

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा दर्शनसम्बन्धी प्रामाणिक विषय समेटिएको छ। ३२० पृष्ठको पुस्तकमा पौरस्त्य दर्शन, पाश्चात्य दर्शन, इस्लामिक दर्शन, अन्तरसंयोजन दर्शनप्रकरण, प्रयोगात्मक प्रश्नवादी दर्शनप्रकरण जस्ता विषय र ती विषयसँग सम्बन्धित सामग्री समेटिएका छन्।

राजधानीमा आज आयोजित पुस्तक सार्वजनिकीकरण कार्यक्रममा लेखक रिजालले १० वर्षको चिन्तनबाट पुस्तक तयार पारिएको बताए। पूर्वार्द्धका तीन खण्ड सम्बन्धित दर्शनकै ग्रन्थबाट उद्धृत गरिएको बताउँदै उनले अन्तरसंयोजन र प्रयोगात्मक प्रश्नवादी दर्शन तीनवटै दर्शनको समन्वयवादी दर्शनका रूपमा आफूले समीक्षा गरेर लेखेको सुनाए।

साहित्यकार डा. नवराज लम्सालले पौरस्त्यदर्शन निर्माणको जग वेद भएको उल्लेख गर्दै आफ्नै कर्ममाथि प्रश्न गरेर हेर भनी लेखकले पुस्तकमा सन्देश दिन खोजेकाे बताए। अध्यात्म र भौतिकवादी दर्शनको तुलनात्मक अध्ययन पुस्तकमा गरिएको उनले सुनाए। दुवैको समन्वय गरिएकाले यसलाई समन्वयवादी दर्शनको पुस्तकमा रूपमा पनि अध्ययन गर्न सकिने साहित्यकार लम्सालको विचार थियो।

पुस्तकमाथि समीक्षा गर्दै प्राडा भागवत ढकालले पौरस्त्यदर्शनको सुरुवात् नै जिज्ञासाबाट भएको बताए। पूर्वको आध्यात्मिकता, पश्चिमको वैज्ञानिकता र नेपालको बहुसांस्कृतिकतालाई संयोजन गरेर नयाँ दर्शन बन्न सक्ने विचार पनि उनल राखे। पौरस्त्य र पाश्चात्य दर्शनको तुलनात्मक अध्ययन गर्न पनि दर्शनागार कृति महत्त्वपूर्ण भएको ढकालले बताए।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले दर्शन विधामा फरक तरिकाले लेखिएको पुस्तकका रूपमा दर्शनागार सार्वजनिक भएको बताए। रिजालको यसअघि प्रकाशन भएको शकुन्तला उपन्यास पनि फरक धारबाटै नेपाली साहित्यमा स्थापित भएको जानकारी पनि उनले दिए। रिजालले अध्यात्म, धर्म र दर्शनका विषयमा धेरै लेख्नुभए पनि मूल्याङ्कन कम भएको साहित्यकार श्रेष्ठको भनाइ थियो।

समीक्षक शैलेन्द्र अधिकारीले दर्शनागार पुस्तकले दर्शनप्रति आम मानिसमा जिज्ञासा बढाउने बताए। जसबाट दर्शनका विषयमा जान्न र बुझ्न सहज हुने उनको भनाइ थियो। पुस्तकको अन्त्यमा सन्दर्भ ग्रन्थ सूची दिइएपनि पाद टिप्पणी अनुच्छेद टिप्पणी नराखिँदा नयाँ प्रयोगमा पुस्तक लेखिएको हो कि जस्ता लाग्ने भनाइ पनि समीक्षक अधिकारीको थियो।

शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले लेखक रिजालका धर्म, दर्शन र अध्यात्मसम्बन्धी पुस्तक प्रकाशनलाई विगतदेखि नै निरन्तरता दिँदै आएको र आगामी दिनमा यस्ता कृति पढ्न पाइने विश्वास व्यक्त गरे। पुस्तकको मूल्य ७९५ रुपैयाँ छ।

प्रकाशित: २८ भाद्र २०८३ ०७:५७ आइतबार