चर्चित कमेडी टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन’ मा केही समयका लागि अभिनेता तथा निर्माता जीतु नेपाल कार्यकारी अध्यक्षका रूपमा देखिने भएका छन्।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ठाउँमा उनी देखिने भएका हुन्। केही समय अगाडि दीपाश्रीको शल्यक्रिया भएका कारण उनी उनको स्थानमा आएका हुन्। सामाजिक सञ्जाल मार्फत जीतुले उक्त स्थानमा आफू चयन भएकोमा आभार व्यक्त गरेका छन्। उक्त जिम्मेवारीलाई उनले सिकाइको अवसर तथा ठुलो गर्भको विषयको रूपमा उल्लेख गरेका छन्।
शोको अनुभवलाई साझा गर्दै उनले शनिबार दुई भागको छायांकन सकिएको र रमाइलो अनुभव रहेको उनले सुनाए। उनले थपे, ‘२०७५ साल कार्तिक १९ गते सोमबार नेपाल टेलिभिजनबाट प्रसारण भएको मुन्देको कमेडी क्लबमा दीपा दीदी अध्यक्षको रूपमा विराजमान हुनुभएको थियो। आज उहाँकै स्थानमा बसेर केही समय जिम्मेवारी सम्हाल्न पाउनु मेरो लागि साँच्चिकै ठूलो सौभाग्य हो।’
दीपाश्रीको विश्राम अवधिमा आफू कार्यवाहकको जिम्मेवारी इमान्दारीपूर्वक निभाउने उल्लेख गरेका छन्।
प्रकाशित: ३ श्रावण २०८३ १३:३६ आइतबार





