१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

‘जयसिंह धामीको देश’ लोकार्पण

भूगोल साहित्य समाजले कवि दिनेशविक्रम थापाको कवितासंग्रह ‘जयसिंह धामीको देश’ लोकार्पण गरेको छ।

वरिष्ठ गजलकार एवं अनुवादक रामबहादुर पहाडीकाे अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति एवं कवि डा. विष्णुविभु घिमिरेकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

प्रमुख अतिथिको आसनबाट बोल्दै डा. घिमिरेले कविता लेख्न सजिलो नहुने बताउँदै कविता आफैँमा गम्भीर विषय भएको बताए। उनले दिनेशविक्रम थापा कविता लेखनमा स्पष्ट भएको उल्लेख गर्दै उनका कविता मार्मिक र चित्रजस्तै स्पष्ट भएको बताए।

डा. घिमिरेले भने, ‘कविता लेख्न गाह्रो छ। लेखिएका कविता पाठकको मनमा बस्न झन् गाह्रो हुन्छ। त्यसैले कविले पाठकको मनमा बस्ने कविता लेख्नुपर्छ।’

कार्यक्रममा कवि विधान आचार्यले लोकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले  कवि दिनेशले इमानदारीपूर्वक कविता लेखेको बताए। उनले २५ पात्रमा लेखिएको कृतिका २५ कवितामा दुई सयभन्दा बढी पात्रको चरित्र चित्रित भएको बताए।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा कवि थापाले आफ्ना रचनाको रचनागर्भ र कृतिप्रकाशनबारे सुनाउँदै चाँडै अर्को कृति प्रकाशित हुने बताए।

समाजका सदस्य एलपी पराजुलीले सञ्चालन गरेकाे कार्यक्रममा संस्थाका अध्यक्ष  विनोद नेपालले शब्दमार्फत अतिथिजनकाे स्वागत गरेका थिए।

कवि थापाका ‘समय रक्तस्नान गरिरहेछ’ (कवितासङ्ग्रह, २०६४), ज्योतिका युगीन स्वरहरू (संयुक्त कवितासङ्ग्रह) र तेस्रो फूल (कवितासङ्ग्रह २०७१ प्रकाशित छन्।

प्रकाशित: २५ वैशाख २०८३ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App