पञ्जाबी अभिनेत्री ईशा रिखीले र्यापर–गायक बादशाहसँग सम्बन्धविच्छेदबारे पहिलोपटक पुष्टि गरेकी छन्। उनले दुवैजना अलग भइसकेको बताउँदै आफ्नो निजी जीवनलाई सार्वजनिक तमासा बनाउन नचाहेको उल्लेख गरेकी छन्।
ईशाले टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै भनिन्, “भन्नका लागि धेरै कुरा छन्, तर म यसबारे कुरा गर्न चाहन्नँ। यो सबै विगत भइसकेको छ र म आफ्नो जीवनको यो अध्यायलाई सम्मानका साथ समाप्त गर्न चाहन्छु।”
उनले थपिन्, “म सार्वजनिक रूपमा आफ्नो निजी जीवनको तमासा बनाउन चाहन्नँ। म मानिसहरूसामु आफ्नो निजी सम्बन्धको फोहोर फैलाउन चाहन्नँ, किनकि म त्यस्तो व्यक्ति होइन।”
बादशाहसँगको हालको सम्बन्धबारे सोध्दा ईशाले भनिन्, “यो निकै जटिल छ। म त्यो दिनको प्रतीक्षामा छु, जब म यसबारे पूर्ण रूपमा कुरा गर्न सकूँ। जब म सबै प्रश्नको सामना गर्न र तिनका जवाफ दिन सक्ने अवस्थामा हुनेछु। तर अहिले म आफ्नै एउटा संघर्षसँग जुधिरहेकी छु।”
र्यापर बादशाह र पञ्जाबी अभिनेत्री ईशा रिखीले गोप्य विवाह गरेको करिब ५ महिनापछि नै एकअर्काबाट अलग भएको घोषणा गरेका छन्।
बादशाहले सामाजिक सञ्जालमा दुवैको निर्णय आपसी सहमतिमा भएको बताउँदै यस कठिन समयमा आफ्नो गोपनीयताको सम्मान गर्न आग्रह गरेका थिए। उनले सम्बन्धबारे थप अनुमान नगर्न पनि आग्रह गरेका थिए। ईशा रिखीले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा यही बयान साझा गरेकी थिइन्।
प्रकाशित: २० भाद्र २०८३ १७:१९ शनिबार





