१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

भोटेकोशी बाढीको प्रभावः ‘फेस अफ नेपाल-२०२६’ को फिनाले सेप्टेम्बर ६ मा सर्‍यो

भोटेकोशी बाढीले देशमा उत्पन्न विपद्को ख्याल गर्दै फेसन रियालिटी शो ‘फेस अफ नेपाल-२०२६’ को ग्रान्ड फिनाले स्थगित गरिएको छ।

शोको आयोजक एमएस प्रोडक्सनले एक सूचना जारी गर्दै विपद्को यस अवस्थामा सहभागी तथा सम्बन्धित सबैको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फिनाले स्थगित गर्ने निर्णय गरिएको जनाएको हो।

यही अगस्ट ३० मा आयोजना हुने तय भएको फिनाले अब सेप्टेम्बर ६ मा हुने आयोजकले जनाएको छ। फिनाले ग्वार्कोस्थित रोयल टुलिपमा बेलुका ५ बजे सुरु हुनेछ। आयोजकले २८ अगस्टमै फिनाले स्थगित गरेको जानकारी दिएको थियो भने आज नयाँ मिति सार्वजनिक गरेको हो।

योसँगै आयोजकले प्रतियोगी, साझेदार, प्रायोजक, सञ्चारमाध्यम तथा शुभेच्छुकहरूको समझदारी र सहयोगप्रति आभार व्यक्त गरेको छ। साथै, विपद्को अवस्थामा सबैलाई सुरक्षित र बलियो रहन आग्रह गरेको छ।

आयोजकका अनुसार फिनालेका लागि कुल १९ जना प्रतियोगी प्रतिस्पर्धामा छन्। जसमा ८ जना महिला र ११ जना पुरुष प्रतियोगी रहेका छन्।

फिनालेको निर्णायक मण्डलमा एसिया मोडल फेस्टिभलका अध्यक्ष याङ युई सिङ, फेस अफ नेपाल-२०२१ तथा अभिनेत्री, मोडल नीति शाह, राष्ट्रिय निर्देशक मेनुका माझी, फेस अफ नेपाल-२०२४ का हिमाञ्चल राज केसी, भ्यालेन्टिनो बुटिक तथा भ्यालेन्टिनो इन्टरनेसनल कलेज अफ फेसन एन्ड इन्टेरियरका संस्थापक तथा फेसन डिजाइनर सुकनीता चौलागाईं र नेपालका लागि कोस्टारिका गणराज्यका मानार्थ वाणिज्यदूत तथा ग्लोबल इक्विटी फन्डका संस्थापक प्रबन्धक साझेदार मनीष थापा छन्।

याङ युई सिङ कोरियान फेसन शोका परिचित अनुहार हुन्। उनी यो शोको ग्रान्ड फिनालेका लागि नेपाल आइसकेका छन्।

फेस अफ नेपाल-२०२६ अन्तर्राष्ट्रिय प्रतिष्ठित एसिया मोडल फेस्टिभल, दक्षिण कोरियाको नेपालको आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो।

प्रकाशित: १९ भाद्र २०८३ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App