२३ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

निमोठेर फाल्न खोज्नेको हातमा पनि सुगन्ध छर्न मन छ!

मुक्तक

१) मुक्तक

कहिले हल्का चिसोपन कहिले राप भइदिए पुग्छ

सम्बन्धभित्र मायाको सुमधुर छाप भइदिए पुग्छ

अप्ठ्यारोमा ती सम्बन्धिले साथ दिँदैनन् यदि भने,

नजिक आउँदा केही क्षण चुपचाप भइदिए पुग्छ।

२) मुक्तक

स्वार्थीले गरेका वाचा सुनिश्चित हुन्न रहेछ

कपटपूर्ण सम्बन्धले कसैको हित हुन्न रहेछ

श्रद्धा, सद्भावका साथ गाँस्नु रहेछ सम्बन्ध,

र निश्वार्थ सम्बन्ध शब्दमा सीमित हुन्न रहेछ।

३) मुक्तक

स्वावलम्बी चरित्रले आफैँलाई नै खास बनाउँछ

स्वतन्त्र र जिम्मेवारपूर्ण छु भन्ने आभास बनाउँछ

अर्काको नक्कल गरेर माथि पुग्न त सकिएला,

तर अन्त्यमा यसले मालिक होइन दास बनाउँछ।

४) मुक्तक

सकेसम्म निमुखाको खातिर केही त्याग गर्न मन छ

निराशाले तड्पिएको भेटे थोरै उत्साह भर्न मन छ

सबैका लागि बत्तीस लक्षणयुक्त व्यक्ति बन्न नसके पनि,

निमोठेर फाल्न खोज्नेको हातमा पनि सुगन्ध छर्न मन छ।

५) मुक्तक

कर्मले नै तुच्छ अनि कर्मले नै महान बनाउने रहेछ

कर्मले नै व्यक्तित्वको असली पहिचान बनाउने रहेछ

संघर्षरत समयमा जति अत्यास लाग्छ नि महोदय,

त्यही संघर्षले जीवनलाई बलियो चट्टान बनाउने रहेछ।

६) मुक्तक

भित्र जेसुकै होस्, देखाउनकै लागि बार्नुपर्ने रहेछ

खुसी बाँडेर सर्वत्र दुःखकष्ट एक्लै काट्नुपर्ने रहेछ

जरैसम्म खोतल्न थाल्छन् आफ्नै भन्नेले पनि यहाँ,

त्यसैले आफ्नो कमजोरी लुकाएर राख्नुपर्ने रहेछ।

७) मुक्तक

कर्म गर्नेहरू गरिरहेका छन् हेर्ने हेरेका हेर्‍यै छन्

छद्मभेषीहरू सर्पले झैँ काँचुली फेरेका फेर्‍यै छन्

खुट्टा तान्ने तान्न छोड्दैनन्,अघि बढ्ने रोकिँदैनन्,

कोही विरोधको शैलीमा उल्टो बाटो घेरेका घेर्‍यै छन्।

८) मुक्तक

कतै सत्संग, सदाचार त कतै अत्यधिक जालझेल देखिन्छ

कहिले शान्त वातावरण कहिले आँधीबेहरी बाँचुन्जेल देखिन्छ

कसैको आँखा छलेर दुरुपयोग नगरौं आफ्नो सामर्थ्यको,

किनकि ढिलो चाँडो कर्मको खेलसँगै समयको खेल देखिन्छ।

९) मुक्तक

आत्मसुझावले दिने भन्दा अचुक उपचार के हुन सक्छ र

निमुखालाई दिने खुसीभन्दा ठुलो उपकार के हुन सक्छ र

दौलताभन्दा पनि विश्वास र सम्मान बाँड्ने कोसिस गरौँ हजुर,

किनकि विश्वास र इज्जतभन्दा महँगो उपहार के हुन सक्छ र!

१०) मुक्तक

तिमीभित्रै आशा देखेँ, तिमीलाई नै खास देखेँ

तिम्रो अनुपस्थितिमा आफैंलाई उदास देखेँ

प्यास तृप्तिको लागि सागर धाउन जरुरी थिएन,

तिमीसँगै बिताएका क्षणमा स्वर्णिम मधुमास देखेँ।

प्रकाशित: १३ जेष्ठ २०८३ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App