१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

जलेको छु आफैँभित्र, देखाऊँ म कसरी?

गजल

१) गजल

जलेको छु आफैँभित्र, देखाऊँ म कसरी,

जे लेख्यो भाग्यले ललाटमा, मेटाऊँ म कसरी।

बहिष्कृत गर्‍यौ जुन दिलबाट निःशब्द निर्दयी भई,

त्यही उजाड हृदयभित्र फेरि आऊँ म कसरी।

परदेशी जीवन आफैँ अधुरो महाकाव्य बनेको छ,

सुखकै आवरण ओढी दुःख बताऊँ म कसरी।

'विप्लवी' मौनताको व्याख्या शब्दले कहाँ सक्छ र?

अथाह पीडाको सागर छातीमा, सुनाऊँ म कसरी।

२) गजल

के रहस्य लुकेको छ तिम्रा ती अधरमा,

वा भ्रमको कुहिरो छ मेरो नै नजरमा।

सँगै हिँड्ने कसम खाएका ती पाइलाहरू,

कसको श्राप पर्‍यो आज हाम्रो सफरमा।

मुटुका सम्पूर्ण ऋतुहरू तिमीलाई सुम्पेर,

म उभिएको छु अझै त्यही पुरानो बगरमा।

'विप्लवी' प्रेमको दीप बोकी आज पनि उभिएको,

तिमी फर्किने विश्वास छ मेरो प्रत्येक प्रहरमा।

प्रकाशित: ७ श्रावण २०८३ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App