२० श्रावण २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

सिंगान पुछिदिने बहानामा नाकै काटिदियाै!

मुक्तक

१) मुक्तक

तिम्रो याद मरिसक्याे अब सहानुभूति नखाेज भाे

भुइँमा झरेकाे फूल हाे ऊ, मन्दिर लान नखाेज भाे

आस त लासमाथि पनि भरपुर गरिन्छ  नि अन्तत:

चिताबाट फर्केर आउला कि भनेर नसाेच भाे।

२) मुक्तक

दिनरात चियाेचर्चाेमा मस्त छ ऊ

अरूकाे बदख्वाइँ गर्नमा व्यस्त छ ऊ

तिललाई पहाड बनाउन के बेर

हजारमा एक्लाे प्रशस्त छ ऊ।

३) मुक्तक

फूलकाे के बयान गर्छाै माली दाइ तिम्राे पसिनाकाे बयान गर

भुलकाे कुनै प्रायश्चित्त नगरे हुन्छ सुधारकाे नयाँ मार्ग चयन गर

ओइली जाने फूलहरू अर्काे वसन्तमा फेरि फुल्न सक्छन् मुस्कुराउँदै

फूलझैं कहाँ फुल्छाै हरेक वसन्तमा  दुनियाँकाे नयन भर।

४) मुक्तक

सुनै सुनकाे बहार आयाे

सुनमायालाई उपहार आयाे

झपक्क शिर पाउ ढाकाैली नि

के थाह नानू सुनमा घाेलिएर जहर आयाे।

५) मुक्तक

जाेड, घटाउ भागा गर हिसाब मिलेन

भुँइमान्छे र सुनमान्छेकाे निसाफ मिलेन

पानी मिल्याे बानी मिल्याे, मिल्याे सबै कुरा

अस्पतालमा जँचाउँदा पिसाब मिलेन।

६) मुक्तक

माछाे भन्याै खस्रे भ्यागुताे राखिदियाै हातमा

अविर लगाऊ भन्दै कालाे माेसाे घसिदियाै माथमा

सिंगान पुछिदिने  बाहनामा नाकै काटिदियाै

ए बैगुनी, अझै पहाड भएर बसिरहेछाै कि बाटामा?

७) मुक्तक

तिम्रो कल्पनाकाे सुन्दर सहर निर्धक्क  घुमायाै

रहर पूरा गर्ने हतारमा अस्मिता समेत गुमायाै

बाँकी अवशेष के नै छ र फिर्ता लिने

आफू जल्ने चिता आफ्नै हातले बनायाै।

८) मुक्तक

चराहरूले रुख त्याग्छन्

कर्मवीरले दुःख त्याग्छन्

वैराग्यकाे वशमा पर्दा

साधुहरूले सुख त्याग्छन्।

९) मुक्तक

जीवन बुझेकाहरू सहर त्याग्छन्

दु:ख बुझेकाहरू रहर त्याग्छन्

रहरकाे सहरमा रमाएकाहरू

अमूल्य प्रकृतिको उपहार त्याग्छन्।

१०) मुक्तक

झाडीभित्रकाे निरवताबाट तिम्राे झुपडीले पर्खंदैछ

क्षितिज परकाे गल्छी हेर्दै कुनै दिन ऊ फर्कदैछ

आश निराशाकाे दाेसाँधमा टाेलाउँदै भन्छ

फर्क ए! परदेशी तिम्राे मेराे मिलनकाे पल घर्कंदैछ।

प्रकाशित: १५ जेष्ठ २०८३ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App