३ चैत्र २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

म राजा तिमी रानी अब मिलेर शासन चलाउनुपर्छ

मुक्तक

१) मुक्तक

दुनियाँमा आफूलाई नै शक्तिशाली ठान्छ मान्छे

घमण्ड र दम्भ देखाई आफै ठुलो मान्छ मान्छे

जिउँदो हुँदा भाको रवाफ मर्दासम्म देखाइरन्छ,

घाटमा जल्न जाँदा पनि काँध चढेर जान्छ मान्छे।

२) मुक्तक

सधैंभरि भ्रम त्रास असफलताको डर बोकेर

बित्यो जिन्दगी पनि सयौं अनिदो प्रहर बोकेर

बाबा भन्नुहुन्थ्यो धनभन्दा प्रेम ठूलो हो छोरा

घाटमा जाँदैन कोही सम्पत्ति अनि घर बोकेर।

३) मुक्तक

आफ्नै हुँ म भन्नेहरूले पीडा दिन्छन् किन होला

नजिक भए जस्तो गरी खुसी छिन्छन् किन होला

अरूको मात्र दोष देखाई नानाथरी आरोप लगाई,

जहिल्यै यिनले मेरै मात्र हुर्मत लिन्छन् किन होला?

४) मुक्तक

परिवर्तित छ समय पलपल नयाँ आविष्कार हुन्छ

छोडिन्छ पुरानो पद्धति यस्तो प्रक्रिया लगातार हुन्छ

विकासको क्रम तीव्र छ यहाँ यो विज्ञानको युग हो,

यहाँ हरेक चिजको अन्तरसञ्जालमै चिरफार हुन्छ।

५) मुक्तक

कहिलै बाँच्नु नपरोस् मैले कसैसँग पनि नजाति भएर

म सधैंभरि जलिरहन पाउँ दियोभित्रको बाती भएर

हरक्षण सुकर्म गरूँ सेवा गरूँ दुखी र पीडितहरूको,

चढ्न पाउँ प्रेमको मन्दिरमा प्रसाद फुलपाती भएर।

६) मुक्तक

उनै हुन् मठमन्दिर चैत्य गुम्बा र चारधाम उनै हुन् 

प्रकृति तेज वायु धर्ती आकाश र जून घाम उनै हुन् 

मभन्दा पर देखोस् भनी हामीलाई राखेर काँधमा

पिता मात्र होइनन् हाम्रा लागि भगवान राम उनै हुन्।

७) मुक्तक

म राजा तिमी रानी अब मिलेर शासन चलाउनुपर्छ

भर्दै प्रेमिल रङ सिँगारेर यो सिंहासन चलाउनुपर्छ

जम्मा पारेर साथ दिने भाइभारदार अनि बन्धुहरू,

गर्नुपर्छ सद्भावको  बैठक र सभासन चलाउनुपर्छ।

८) मुक्तक

रेटेपछि सारङ्गी अनि ठोकेपछि मादल सङ्गीत हुन्छ

जलेपछि मात्र बाती दियोमा आफू प्रज्वलित हुन्छ

पोलिन्छ पिटिन्छ फलामलाई हतियार बन्नु पहिले,

सहेपछि मात्र घामको राप पत्थर शिलाजित हुन्छ।

९) मुक्तक

रच्नु छ मिलेर छुट्टै इतिहास अब हामी अब्बल बन्नु छ

सबैलाई अटाउने सुन्दर अनि नरम मखमल बन्नु छ

लेख्नु छ अब यथार्थमा आम जनजीवनका अवयवहरू, 

लक्ष्य चुम्नलाई अब सारा  समस्याहरू को हल बन्नु छ।

१०) मुक्तक

कहिले फूल बनेर अनि कहिले सुवास छर्दै बहार बनेर

जोगाउनु छ हाम्रो संस्कृति परम्परालाई म आधार बनेर

फरक छ रीतिरिवाज फरक छन् हाम्रा चाडपर्वहरू पनि,

आउँछन् यी ल्होसार रमजान साकेला दशैं र तिहार बनेर।

(‘शिलाजित’ मुक्तकसंग्रहमा सङ्गृहीत।)

प्रकाशित: ८ कार्तिक २०८२ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App