२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

हुमानसिं भुजेलको भैंसी प्रेम

कविता

घटना २०७८ असार १ को हो

मेलम्चीको बाढीले–

हेलम्बुको गोर्नागेसँगै

हुमानसिं भुजेलको भैंसी बगायो

बाइस किलोमिटर तल

देवदूतजस्तो कुनै युवाले

उक्त भैंसीको उद्दार गर्‍यो  

संसारै लगेको बाढीले लगेको भैंसी  

अचानक भेटियो भन्ने थाहा पाउनासाथ

हुमानसिं  

हाम फाल्दै भैंसी भेट्न पुगे

 

हुमानसिंलाई देख्नासाथ भैंसी बरबरी रोयो  

आफ्नो प्राणप्यारी भैंसीको यस्तो हाल देखेर

हुमानसिंको कण्ठ अवरुद्ध भयो  

मृत्युको मुखबाट भैंसी थुतेर

ल्याउने त्यो देवदूतलाई

हुमानसिंले करुणामयी धन्यवाद दिए

 

त्यो देवदूतजस्तो युवाले

सूर्यजस्तो उज्यालो मुस्कान फर्कायो

तब, हुमानसिंलाई पछ्याउँदै भैंसी

हेलम्बु फर्कियो

हुमानसिं र भैंसी

बाढीले बगाउन बाँकी

आफ्ना साबिक थातथलोमा बस्न थाले

 

माथि उल्लिखित घटना कथा भइनसक्दै

गाउँमा एक दिन

हुमानसिं र भैंसीबिच

यस्तो संवाद भएको खबर फैलियो

हुमानसिंले दिएको मकैको खोले

चाटचुट पारेर उग्राउँदै

भैंसीले भनी रे–

हुमानसिं!

यहाँ बाढी आउनु अघिल्लै दिन

माथि हिमालबाट हुर्रिंदै एउटा काग

उ... त्यो चिलाउनेको रूखमा

बिसाएको थियो 

अत्तालिँदै

उतिबेलै त्यस कागले भनेको थियो–  

बाढी आउँदै छ, भाग् भैंसी भाग्!

त्यही साँझ

उ... त्यो उन्यु, सालिम्मो

र वनमारा हल्लाउँदै गएको कालो सर्पले

भनेको थियो– 

बाढी आउँदै छ, भाग् भैंसी भाग्!

त्यसपछि,

भ्यागुता, छेपारो, किथ्रा, जुरेली, ढुकुर, फिस्टा

सबै–सबैले नारा लाएका थिए–  

बाढी आउँदै छ! बाढी आउँदै छ! बाढी आउँदै छ!

 

तब मैले

आकाशमा मडारिरहेको बादललाई सोधेको थिएँ–

के साँच्चै बाढी आउँदै छ?

उसले निस्फिक्री भनेको थियो–

हो, पृथ्वीमा मनपरी गर्नेहरूविरुद्ध 

हामी एकजुट हुँदै छौं

बाढी अवश्य आउनेछ।

 

हुमानसिं! त्यसपछि मैले तिमीलाई

रात–रातभर कति पुकारेँ!

के तिमी मृत्युबोधअघिको

अन्तिम अनुनयको कल्पना गर्न सक्छौ?

जब तिमी बिहान घाँस दिन आयौ

मैले दाम्लो चुँडाउँलाझैं गरी बेलिविस्तार लाएँ

तर तिमीले  मेरो पशुबाक्के बुझेनौ

बार्दलीबाट आँगनको मगन्तेलाई भिख फ्याँकेझैं

पराल फ्याँकेर गइहाल्यौ

हो, त्यही बेला मलाई महसुस भयो कि

हामी दुईको प्रेमबिच खास दुरी छ

पशु र मानिसको प्रेमबिच दुरी छ

 

म तिम्रो भाषा बुझ्छु

र त युगौंदेखि म तिमीसित छु

तिमी मेरो भाषा बुझ्दैनौ

त्यसैले त तिमी यसरी मलाई

अछुतसरह

गोठ, खेत, बारी, बगरमा छाड्छौ!

जब मलाई त्यो दिन बाढीले बगायो

हजार मृत्युसित जुझ्दै

तर म बाँचेँ

किनभने मेरो पेटमा बच्चा थियो

अफसोस!

मैले तिमीलाई  

तिम्रो हातमा मेरो जीवित बच्चा थमाउन सकिनँ

तर हुमानसिं

म भैंसी हुँ, मलाई विश्वास गर!

तिम्रो दुःखमोचनका लागि म तिमीलाई

मेरा सारा सन्तानहरूको बलिदान दिन तयार छु

किनभने

म तिमीलाई

पशु प्रेम गर्छु

म मानिसलाई प्रेम गर्ने पशु हुँ

त्यसैले म तिमीसमक्ष

आफैंलाई भोग दिन तयार छु।

...अहो!

एउटा विस्मयकारी मौनतापछि

चिच्याए हुमानसिं भुजेल–

मेरी काली भैंसी...!

म तेरो जीवनभित्र आफ्नो जीवन घिसार्दै

यहाँसम्म आइपुगेको बुढो हुमाने हुँ!

तँ मेरी प्रिया होस् तर आमा समानकी

यस जुनीमा अब मलाई

तेरो प्रेमसिवाय अरू केही स्वीकार्य छैन

अब म मेरो जीवनलाई महायात्रा बनाउन चाहन्छु

तँ त बगिस्, मात्रै बाइस किलोमिटर

म अनन्त बग्न चाहन्छु तेरो प्रेमको बाढीमा

त्यसैले त  

जीवनभर सोहोर्न तयार भएको छु तेरो गोबर

सुँघ्न गन्ध प्रेमले यी औंलाहरूमा।

प्रकाशित: १२ वैशाख २०८३ १२:२६ शनिबार