१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
कला/साहित्य

'एक्स-मेन' प्याट्रिक स्टुअर्टको ८६ वर्षमा नि*धन

हलिउडका चर्चित अभिनेता प्याट्रिक स्टुअर्टको २८ अक्टोबरमा अमेरिकाको लस एन्जलसस्थित आफ्नै निवासमा निधन भएको छ। उनी ८६ वर्षका थिए।

सार्वजनिक समाचार अनुसार उनलाई अल्जाइमर रोग र लेवी बडी डिमेन्सिया भएको पुष्टि भएको छ।

प्याट्रिक स्टुअर्ट ‘स्टार ट्रेक’ मा क्याप्टेन जिन–लुक पिकार्ड र ‘एक्स–मेन’ चलचित्र शृङ्खलामा प्रोफेसर चार्ल्स जेभियरको भूमिकाबाट विश्वभर चर्चित थिए। उनको निधनपछि परिवार, साथीभाइ तथा चलचित्र क्षेत्रमा उनीसँग काम गरेका कलाकारहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।

अभिनेता ह्यु ज्याकम्यानले स्टुअर्टसँग बिताएका पलका तस्बिरहरू सार्वजनिक गर्दै ‘लोगन’ चलचित्रको छायाङ्कनका केही तस्बिरसमेत साझा गरेका छन्।

उनले लेखेका छन्, ‘आज हामीले मञ्च र पर्दाका एक महान् कलाकार गुमाएका छौँ। मेरा लागि उहाँ एक असल साथी र असाधारण मानिस हुनुहुन्थ्यो। मैले उहाँबाट धेरै कुरा सिकेको छु। प्याट्रिक स्टुअर्ट, म तपाईंलाई सधैँ सम्झिरहनेछु।’

‘लोगन’ चलचित्रमा स्टुअर्टसँग काम गरेकी अभिनेत्री डाफ्ने किनले पनि उनलाई सम्झँदै भावुक सन्देश लेखेकी छन्।

उनले लेखेकी छन्, ‘उहाँ अत्यन्तै दयालु, वास्तविक, रमाइला, अनौठा, अरूको ख्याल गर्ने र आकर्षक व्यक्तित्वका धनी हुनुहुन्थ्यो। मलाई उहाँका थुप्रै ठट्टा, सबैको ख्याल राख्ने बानी र रंगीन चस्माहरू याद आउनेछन्।’

प्याट्रिक स्टुअर्टको पछिल्लो चलचित्र ‘एभेन्जर्सः डुम्सडे’ का निर्देशक रुसो ब्रदर्सले पनि उनलाई श्रद्धाञ्जली दिएका छन्।

प्रकाशित: १३ कार्तिक २०८३ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App