२ श्रावण २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

अनुभवले कोरिएको इतिहास

पुस्तक

साहित्यका विविध विधामध्ये नियात्रा र संस्मरण एक प्रकारले अनौपचारिक इतिहास पनि हो।  यसले त्यो देश तथा कालको भूगोल, संस्कृति र जनजीवन बोल्छ। यही संस्मरण लेखन- प्रकाशनको लहरमा हालै साहित्यकार चन्द्रकान्त आचार्यको ‘खुसीका पलहरू’ शीर्षकको पुस्तक पाठकमाझ आएको छ।

समग्रमा ‘खुसीका पलहरू’ सत्तरी वर्षअघिदेखि अहिलेसम्म लेखकले द्रष्टा, स्रष्टा र कर्ता भएर भोगेका देश–विदेशका घटना र विकासक्रमका अनुभव–अनुभूतिको फेहरिस्त हो।  

२०१६ सालमा राजा महेन्द्रको पश्चिमाञ्चल भ्रमण, त्यसपछि उनले संसदीय व्यवस्था भंग गरी पञ्चायत व्यवस्था सुरु गर्ने समयका विभिन्न घटना र खासगरी २०१८–२०१९ सालमा गुल्मी–अर्घाखाँचीमा भएको सशस्त्र क्रान्तिका प्रत्यक्ष द्रष्टा मात्र नभई कतिपय अवस्थामा सहभागीसमेत भएको आफ्नो बाल्यकालीन अनुभव यस कृतिले उजागर गरेको छ।  इतिहासका जिज्ञासुहरूका लागि यो राम्रो खुराक बन्नेछ।

पुस्तकको एक चौथाइ भाग लेखकको सोभियत संघ अध्ययनकालका रोमाञ्चक अनुभवले भरिएको छ।  यसमा वर्णित त्यहाँको जनजीवनका झझल्काहरूले जोकोहीलाई मोहित पार्छन् र त्यही परिवेशले साहित्य सिर्जना गर्न प्रेरित गरेको कुरा लेखकले अवगत गराएका छन्।  

उच्च शिक्षाको अध्ययन सकेर नेपाल फर्केपछि लेखकलाई सर्भे इन्जिनियरका रूपमा नेपाल–भारत सीमाजस्तो संवेदनशील कामको टोलीमा खटाइएको रहेछ।  त्यस बेला नेपाल–भारत सीमाका जटिलताका कुरा र सुस्ता समस्याको समाधानका उपाय समेटिएका विषयहरूलाई उनले यसमा विस्तृत रूपमा वर्णन गरेका छन्।  यो अहिलेको परिप्रेक्ष्यमा पनि समयसापेक्ष र रोचक छ।

हालसालै राज्यस्तरदेखि जनस्तरसम्म उठेका ‘क्रस बोर्डर अक्युपेसन’का सम्बन्धमा पचास वर्षअघिको स्थिति के थियो र समाधानका उपाय के देखाइएका थिए भन्ने कुरा ‘भादानाला’को उदाहरणबाट पुस्तकमा राम्ररी प्रस्तुत गरिएको छ।

यसमा वर्णित सिमानाको अस्पष्टताबिच २०२८ सालमा कोठियाघाटमा भारतीय निर्माण व्यवसायीहरूले नेपालको क्षेत्रमा प्रवेश गरेर ढुंगा निकाल्दै भारत लैजाने गर्थे।  यो चुनौतीलाई कसरी एउटा भर्खर पढेर आएको युवा इन्जिनियरले सामना गरे र सो क्षेत्र नेपालको हो भन्ने प्रमाणित गरी भारतीय समकक्षीहरूलाई सहमत गराए भन्ने तथ्य गौरव लाग्दो छ।  लेखकको पेसागत दक्षताले नेपालको शिर उँचो गराएको यो उदाहरणले जोकोहीलाई पनि उत्साहित बनाउँछ।

यो पुस्तक प्रकाशनको आफ्नै लामो कथा रहेछ। बाह्र–तेह्र वर्षपहिल्यै यस कृतिको मस्यौदामाथि नेपाली साहित्यका महारथीहरू डा. ताना शर्मा र प्रा. राजेन्द्र सुवेदीबिच अन्तक्र्रिया गरिएको रहेछ। उहाँहरूले यो संस्मरण रोमाञ्चक उपन्यासजस्तो छ भन्नुभएको रहेछ। समयक्रममा ती विशिष्ट व्यक्तित्वहरू पनि यो लोकबाट बिदा भएर गए।

यस पुस्तककी प्रकाशिका लेखककी अर्धांगिनी निर्मला आचार्य हुनुहुन्छ।  उहाँले लेखकको पहिलो उपन्यास ‘ज्वाला’ दाम्पत्य जीवनको पच्चिसौं वार्षिकोत्सवमा र योचाहिँ पचासौं वार्षिकोत्सवमा प्रकाशन गर्ने दायित्व लिनुभएको कुरा पढ्दा पाठकहरूमा समेत उत्साह सञ्चार हुन्छ। आहा ! यस्तो पो उपहार हो भन्न मन लाग्छ।

साँच्चिकै प्रकाशकले भन्नुभएझैं यस पुस्तकमा दाम्पत्य जीवनका पचास वर्ष मात्र छैनन्, त्योभन्दा पहिलेका पचास वर्ष पनि अटाएका छन्।  ऊबेला पहाडका कन्दराबाट खालीखुट्टा हिँडेका यात्रीले विभिन्न महासागर र महादेश पार गर्दै बिस–तिस घण्टा उडेर पुगेका ठाउँहरूको शब्दचित्र छ।  यस हिसाबमा पुस्तकले आजको पुस्तालाई दुवै समयका अचम्म लाग्ने तस्बिर देखाउन सक्नेछ।

लेखक चन्द्रकान्त आचार्य पेसाले सर्भे इन्जिनियर हुन्।  यसअघि उनका दर्पण महाकाव्यसहित दर्जनौं उपन्यास, नियात्रा, संस्मरण र कथासंग्रह प्रकाशित भइसकेका छन्।  यो पुस्तकमा केवल तथ्यगत विवरण मात्र छैन, त्यहाँ स्मृति, संवेदना र मानवीय प्रतिबद्धता पनि छ।  विगतका दिनचर्याको विवेचना गर्दा लेखकले घटनाक्रमको विश्लेषण मात्र गर्दैनन्, बरु नागरिक जिम्मेवारी, कर्मशीलता र विवेकको सुवास पनि छर्छन्।  यस्ता पुस्तकले अनुभवहरूको आदानप्रदानमार्फत मानवहरूबिच भावनात्मक सेतु निर्माण गर्ने प्रयास गर्छन्।  पुस्तकमा संस्मरणहरू भरसक कालक्रमअनुसार प्रस्तुत गर्ने जमर्को गरिएको छ र बिचबिचमा प्रवाहित दर्पण महाकाव्यका अंशहरूले यसमा मिठास थपेका छन्।

पुस्तकको अन्त्य पनि अत्यन्त मार्मिक ढंगले गरिएको छ।  लेखकका दाजु, गुल्मी–अर्घाखाँचीका शिक्षाका ज्योति तथा प्रजातान्त्रिक योद्धा ज्ञानहरि आचार्यको सालिक रेसुंगा क्याम्पसको प्रांगणमा स्थापना गरिएको छ।  २०६८ पुस १४ गते उहाँहरू सालिकअगाडि उभिनुभयो।  लेखकलाई लाग्यो– ‘सालिक मुस्कुराइरह्यो र दाइले भनेझैं लाग्यो– आउँदै गरे।’ ती अमर ज्ञानहरि सदैव मुस्कुराइरहनेछन् र हाम्रा सन्तान–दरसन्तानलाई सोधिरहनेछन्– ‘खोइ, को–को बाँचिरहेका छौ ?’ कृतिकारले आफ्नो जीवन तिनै सहिदका प्रेरणाबाट अघि बढेको रोचक वर्णनसाथ कृतज्ञता अर्पण गरेका छन्।  

प्रकाशित: २ श्रावण २०८३ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App