२५ आश्विन २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

आधा आकाश थामेका हातहरू

कविता

ऊ जन्मिँदा

आँगनमा कुनै उत्सव थिएन,

सानैदेखि उसका खुट्टामा

मर्यादाका डोरीहरू बाँधिए

र पखेटामा

“यति मात्रै उड्नू” भन्ने

सिमा रेखा कोरियो

ऊ भने

क्षितिजभन्दा परको नीलो आकाश

आँखाभरि बोकेर हुर्किन चाहन्थी

ऊ छोरी थिई, दिदी थिई,

बुहारी बनाइयो, आमा बनाइयो,

तर

कतै पनि

ऊ  “ऊ” भएर बाँच्न पाइनँ।

उसका हातहरूले

चुल्होको आगो सल्काए,

बाल्यकालका सपना सुम्सुम्याए,

बुढा आमाबुबाका काँपेका हात समाते,

घरका भित्तामा माया पोते,

तर उसका आफ्नै सपनाहरू

धुलो लागेको ऐनाझैँ

एक कुनामा टाँसिएर बसे।

उसको हाँसो, उसको खुशी

आफ्नै चिहानमाथि फुलेको

फूलझैं बनिदियो।

उसले

अनेक अपमान

तिलहरीझैं गलामा झुण्ड्याई

र मौनतालाई

आफ्नो सबैभन्दा विश्वासिलो भाषा बनाई।

समाजले भन्यो

“त्याग गर,

यही नै नारीको गहना हो।”

उसले त्याग गरिरही

तर कसैले सोधेन

त्यागको भारले

उसको मेरुदण्ड कतिचोटि भाँचियो?

ऊ आधा आकाश थामिरही,

तर

उसलाई जमिनको एउटा कुनासमेत

आफ्नो भन्न दिइएन।

उसले संसारलाई जन्म दिई,

तर आफ्नै जन्मको अर्थ

सधैँ अरूको नाममा लेखियो।

एक दिन

ऊ आफ्नै मौनतासँग ठोक्किई।

आँखाभित्र दबिएका वर्षौंदेखिका

आँधीहरू

एकैचोटि बोल्न थाले।

त्यस दिन

उसले कसैसँग युद्ध गरेकी थिइन,

उसले केवल

आफ्नो डरमाथि विजय प्राप्त गरेकी थिई।

उसले सिकी  

उन्मुक्ति कसैले दिने पुरस्कार होइन,

आफ्नै आत्माको ढोका हो

आफ्नै हातले खोल्ने साहस हो।

तब  

उसका पाइला

अनुमतिको प्रतीक्षामा हिँड्दैनन्।

उसका पखेटा

मर्यादाको नाममा काटिएका तारहरू

आफैँ उखेलेर उड्न थालेका छन्।

ऊ आज पनि

आधा आकाश थामेकी छे

तर फरक यति मात्र छ

पहिले

उसले अरूका लागि मात्र आकाश थाम्थी,

आज

त्यही आकाशमुनि

आफ्नो नाम,

आफ्नो सपना,

आफ्नो अस्तित्व

निर्भीक भएर लेख्दै छे।

र भोलि अझ निर्भीक भरेर

लेखनु छ

महिलाले विजयी गाथाहरू।

नारीको विजय

पुरुषको पराजय होइन,

हुँदै होइन

त्यो विजय त

मानवताको

सबैभन्दा उज्यालो बिहान हो।

र त्यो बिहानमा,

आधा आकाश थामेका ती हातहरूले

पहिलोपटक

आकाशलाई होइन,

आफ्नै स्वतन्त्रतालाई अँगालो हाल्नेछन्।

प्रकाशित: २५ आश्विन २०८३ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App