बलिउड अभिनेता गोविन्दा पछिल्लो समय अभिनयभन्दा बढी आफ्नो निजी जीवनलाई लिएर चर्चामा छन् । आगामी चलचित्र ‘रूपा’की सहअभिनेत्री कोमल रानी स्वर्णकारसँग सार्वजनिक कार्यक्रममा देखिएपछि उनीहरूबीच प्रेमसम्बन्ध रहेको अड्कलबाजी सुरु भएको थियो । गोविन्दाले भने यस्तो चर्चालाई अस्वीकार गर्दै आफ्नो सम्बन्ध व्यावसायिक मात्र रहेको बताएका छन् ।
केही दिनअघि मुम्बईको प्रसिद्ध लालबागचा राजाको दर्शनका क्रममा गोविन्दा कोमलसँगै देखिएपछि सामाजिक सञ्जालमा उनीहरूबीचको सम्बन्धलाई लिएर विभिन्न चर्चा चलेका थिए । उनीहरूको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसअघि पनि दुवै जना विमानस्थलमा सँगै देखिएपछि यस्तै अड्कलबाजी चलेको थियो । यद्यपि गोविन्दा र कोमलले प्रेमसम्बन्धबारे सार्वजनिक रूपमा पुष्टि गरेका छैनन् ।
सम्बन्धबारे भइरहेको चर्चाबीच गोविन्दाले समाचार संस्था एएनआईसँग कुरा गर्दै आफ्नो निजी जीवन अरूका लागि चर्चाको विषय बन्न नहुने बताएका छन् । उनले कोमलसँग आफ्नो सम्बन्ध कामसँग जोडिएको र आफू अहिले चलचित्रमै केन्द्रित रहेको स्पष्ट पारे ।
‘यो अरू कसैका लागि चर्चाको विषय होइन, अफेयर भए पनि । म काम गरिरहेको छु र व्यावसायिक सम्बन्ध कायम राखिरहेको छु,’ गोविन्दाले भनेका छन् ।
लालबागचा राजामा कोमलसँगै पुग्नुको कारण पनि उनले स्पष्ट पारेका छन् । लामो समयपछि नयाँ चलचित्रको काम सुरु गर्न लागेकाले ‘रूपा’ सफल होस् भनेर गणेशको दर्शन गर्न गएको उनको भनाइ छ ।
गोविन्दाले यसअघि पनि अभिनेत्री करिश्मा कपुर र रवीना टण्डनसँग मन्दिर गएको प्रसंग सम्झँदै ती चलचित्र सफल भएको बताएका छन् । त्यसैगरी अहिले ‘रूपा’को काम सुरु गर्नुअघि कोमलसँगै दर्शनमा गएको उनले बताएका छन् ।
तर गोविन्दाको स्पष्टीकरण यतिमै रोकिएन । आफूविरुद्ध भइरहेको निजी जीवनसम्बन्धी चर्चालाई उनले आफ्नो छवि बिगार्ने र परिवारबाट टाढा बनाउने योजनासँग जोडेका छन् ।
‘यो कुनै एक व्यक्तिको गल्ती होइन, निकै सोचविचार गरेर बनाइएको योजना हो । यस्ता कुरा आगामी दिनमा पनि हुन सक्छन् । यो मलाई परिवारबाट अलग गर्न र समाजमा मेरो छवि बिगार्ने योजना हो,’ उनले भनेका छन् ।
पत्नी सुनीता पनि चर्चामा
गोविन्दा र कोमलको सार्वजनिक उपस्थितिपछि उनकी पत्नी सुनीता आहुजा पनि चर्चामा आएकी छन् । गोविन्दा लालबागचा राजामा कोमलसँग पुगेको केही घण्टाअघि सुनीता भने एक्लै दर्शन गर्न पुगेकी थिइन् । त्यसपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मानिसप्रति अविश्वास झल्किने अभिव्यक्ति दिएकी थिइन् ।
यसअघि पनि सुनीताले गोविन्दा र कोमलको सम्बन्धलाई लिएर सार्वजनिक टिप्पणी गरेकी थिइन् । उनले कोमललाई आफ्नी छोरीको उमेरसरह भएको भन्दै गोविन्दाको आलोचना गरेकी थिइन् । पछि गोविन्दाका व्यवस्थापक शशि सिन्हाले गोविन्दा र कोमलबीच विवाह हुने कुनै प्रश्न नरहेको बताएका थिए ।
यसैबीच अभिनेता अनुपम खेरले भने गोविन्दाको निजी जीवनभन्दा उनको कामलाई प्राथमिकता दिन सुझाव दिएका छन् । उनले व्यक्तिगत विषयले समग्र जीवन र करियरलाई ओझेलमा पार्न नहुने धारणा राखेका छन् ।
कोमल रानी स्वर्णकार गोविन्दाको आगामी चलचित्र ‘रूपा’बाट बलिउडमा प्रवेश गर्दैछिन् । गोविन्दा चलचित्रका मुख्य अभिनेता हुनुका साथै निर्माणमा पनि संलग्न छन् । चलचित्रसँग जोडिएको व्यावसायिक सम्बन्धकै कारण आफूहरू सँगै देखिएको गोविन्दाको स्पष्टीकरण छ ।
यसरी ‘रूपा’को प्रचार र सार्वजनिक उपस्थितिसँगै सुरु भएको गोविन्दा–कोमल चर्चा अहिले उनको निजी जीवन, वैवाहिक सम्बन्ध र सामाजिक सञ्जालको बहससम्म पुगेको छ । तर प्रेमसम्बन्धबारे दुवैबीचबाट पुष्टि नभएको अवस्थामा अहिलेको चर्चा अड्कलबाजीमै सीमित छ ।
प्रकाशित: १० आश्विन २०८३ १५:२२ शनिबार





