२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

दरबारकी देवी

लघुकथा

राजा निरञ्जनले मन्त्रीसहितको महत्त्वपूर्ण बैठकमा दरबारकी देवीलाई पनि बोलाए। बैठकमा देवीले सबैलाई सुमधुर स्वागत गर्दै आफ्नो सुन्दर परिचय दिइन्। दर्शनभेट पाएकोमा धेरैजसोले खुसी व्यक्त गरे। मक्ख परे। यसअघि युवराज भुपेन्द्रले नजिकबाट उनको दर्शन पाइसकेका थिए।

ती देवी कन्या राजाका चाहनाअनुरूप झिकाइएको थियो। चिना, कुण्डली र लक्षण राम्रोसँग हेरेर चार वर्षको उमेरदेखि दरबारकी देवी बनाउन उनका आमाबाबुलाई रकम दिएर ल्याइएको थियो। उनलाई हरेक दिन गोप्य रूपमा विशेष पदार्थ मिसाएको राजकीय खाना खुवाइन्थ्यो। पदार्थको मात्रा उनको उमेरसँगै बढाउँदै लगिएको थियो। सानैदेखि उनलाई विभिन्न कला, जासुसी, नाचगान आदि तालिमबाट पोख्त बनाइएको थियो। यौवन अवस्थामै उनको एक झिल्को मुस्कानले भद्र पुरूषलाई समेत अद्भूत सम्मोहित पार्न सक्ने भइसकेको थियो।

बैठकमा सबैका कुरा सुनेपछि जवाफ दिंदै राजाबाट हुकुम जारी भयो, "यो देशको शान्ति, सुरक्षा र विकासका लागि मेरो सरकारले केही बाँकी राख्ने छैन। तोकिएको काममा सबै खटियून् यसको मूल्याङ्कन गरि नै राखिएको छ।"

राजाको सम्बोधन नसकिँदै युवराज भूपेन्द्रले विष सेवन गरी आत्महत्या गरेको खबर भित्रियो। सबैतिर सन्नाटा छायो। नयाँ सोच बोकेका राजकुमार धेरै जनताको आशाका केन्द्र थिए। केही समयअघि देशमा अशान्ति, कोलाहल र भ्रष्टाचार बढेको भन्दै गरेको जनआन्दोलन समेत उनले मत्थर पार्न सफल भएका थिए।

राजाले तुरुन्तै सुरक्षा प्रमुख सहितको आपतकालीन बैठक त्यहीँ बसाले। बैठकमा सरकारले गरेका कामको बेलिबिस्तार गर्ने, देशद्रोही पहिचान गर्ने गरी भव्य श्रद्धाञ्जली सभा गर्ने निर्णय भयो।

दोस्रो जरुरी बैठकको निर्णय भइसक्ने बेलासम्म पनि भाइ अधिराजकुमार र दरबारकी देवी दुवैको उपस्थिति हुन सकेको थिएन।

प्रकाशित: १९ कार्तिक २०८२ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App