२१ भाद्र २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

पीडितलाई पानीभन्दा नेतालाई खादा

मुक्तक

१) मुक्तक

कहिले शासकको सन्किने बानीले देश रोयो

कहिले वृद्ध र काँचा बाबुनानीले देश रोयो

देश रोएको हेरेर रुने नियतिले छोडेन

बढी त आगजनी र पानीले देश रोयो।

२) मुक्तक

मान्छेलाई माया गर्ने यही प्रकृति

जीवित राख्ने पेट भर्ने यही प्रकृति

प्रकृतिलाई जित्न खोज्ने मान्छेहरूलाई

झुक्याएर संहार गर्ने यही प्रकृति।

३) मुक्तक

बस्ती र बालीनालीले लेदो र बालुवा ओढे

बाटा, बाँध र पुलले मट्टीमै नाता जोडे

विपत्तिले मान्छेलाई केही शिक्षा दिन्छ नै

के हुने हो यात्रा मोडे आफ्नो हिंड्न बाटो छोडे।

४) मुक्तक

खाने पिउने जीवन जिउने भोटेकोशी शरण भयो

यसकै साथमा जीवन धान्दै यसकै काखमा मरण भयो

यसकै जलले हराभरा प्रकृति नै स्वर्ग थियाे

जसबाट यो प्राप्त थियो उसैबाट हरण भयो।

५) मुक्तक

जब प्रकृतिको देखिन्छ वितन्डा

तब टिसर्ट र दलका झन्डै झन्डा

कामले होइन कुराले तँछाडमछाड

लासमा राजनीति र राहतमा भागबन्डा।

६) मुक्तक

उद्धार कार्यमा नेताबाटै बाधा

पीडितलाई पानीभन्दा नेतालाई खादा

प्राविधिज्ञलाई आदेश अनपढ नेताबाट

पीडित र कार्यकर्ता राहत आधाआधा।

७) मुक्तक

कतिले बगेकालाई ज्यान अर्पेर दुखले बचाए

कतिलाई ओडार ढुङ्गा र रुखले बचाए

जसरी पनि बचाउन सबै जुटेकै छन्

लेख्नेले फेसबुक अनि बोल्नेले मुखले बचाए।

८) मुक्तक

प्रकृति आफैंले दिएको अमूल्य दक्षिणा लग्यो

मानिस, पशु र संरचना ठूला र मसिना लग्यो

हराभरा धर्तीलाई बगरको रूपमा के हेर्नु

बाँच्नेको पनि त जीवनभरको पसिना लग्यो।

९) मुक्तक

जब आउँछन् चाडपर्व ऋणले मुटु डाम्ने

रित्तो गोजी छाम्ने हो कि भोको पेटै छाम्ने

कमाउने इच्छा मर्छन् आवश्यकता बढ्दा

भिरको चिन्डो यो जिन्दगी छोड्दिने कि थाम्ने?

०) मुक्तक

माटालाई माया गर्ने माटामा छन्

तिनैको प्रतीक्षा गर्ने बाटामा छन्

मानवभन्दा बग्रेठालाई प्यारो ठान्नेहरू

सुन र सिलिन्डरको नाफा र घाटामा छन्।

प्रकाशित: २१ भाद्र २०८३ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App