‘बब डाइ’ चलचित्रको छायांकन सुरु भएको छ। रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रको गएको सोमबार शुभमुर्हुतसँगै छायांकन सुरु गरिएको हो।
चन्द्रागिरीबाट छायांकन सुरु भएको ‘बब डाइ’ को ४५ दिनको छायांकन तालिका तोकिएको छ। यो अवधिमा काठमाडौंको कीर्तिपुर र चन्द्रागिरी आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ।
प्रबिन श्रेष्ठले चलचित्रकाे निर्देशन गर्दै छन्। यसअघि ‘मोक्ष’ चलचित्रका निर्देशन गरेका प्रबिनले १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दै छन्। निर्देशक श्रेष्ठका अनुसार ‘बब डाइ’ मा कीर्तिपुरकै कथा छ।
चलचित्रको नामबारे निर्देशक श्रेष्ठ भन्छन्, ‘खासमा बब डाइ भनेको बब दाइ हो। नेवारी ट्युनमा दाइलाई डाइ भनिने भएकाले नाममा त्यसरी राखेका हौं।’ उनका अनुसार ‘बब डाइ’ को भूमिकामा सौगात मल्ल देखिनेछन्।
चलचित्रमा सौगात मल्ल, सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय रहनेछ।
चलचित्रमा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा छ। चलचित्रको मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने र सहायक निर्देशकमा दिनेशबहादुर राउत छन्।
चलचित्रलाई श्याम तामाङको टिमले खिच्दै छ भने प्रबिन श्रेष्ठले नै सम्पादन गर्नेछन्। निरपेश रुपाखेती कास्टिङ डिरेक्टरको रूपमा छन् भने सुरेन्द्र महर्जन प्रोडक्सन म्यानेजर हुन्। पोस्टर डिजाइन रोयल भिमसेनको रहेको छ।
चलचित्रमा कोरियोग्राफी सृष्टि महर्जनको छ भने सहायक निर्देशनमा विवेकराज भट्ट र आयुष दाहाल पनि छन्। चलचित्रका राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रविन्द्र प्रजापती कार्यकारी निर्माता हुन्। चलचित्रको प्रदर्शन मिति तोकिएको छैन।
प्रकाशित: ५ मंसिर २०८२ ११:३५ शुक्रबार



-600x400.jpg)

