बाल्यकाल मानव जीवनको सबैभन्दा कोमल, निष्कलंक र स्वच्छन्द अवस्था हो। यो समयमा मानिसले न धेरै सोच्छ, न धेरै चिन्ता गर्छ। उसको संसार सानो हुन्छ, त्यो संसार असीमित आनन्द, उत्सुकता र कौतूहलले भरिपूर्ण हुन्छ। बाल्यकाल खुला आकाश हो–जहाँ बादल खेल्छन् र संसार अद्भुत रंगले भरिन्छ। कुनै पनि मानिसको जीवनको सबैभन्दा रंगीन अध्याय हो, बाल्यकाल। त्यो उमेरमा संसारका दुखहरू टाढै रहन्छन् र रमाइलोका साना–साना क्षणहरूले दिन पूरा भरिन्छ। तर यो रमाइलोपनलाई पूर्ण बनाउन जसको हात सबैभन्दा अगाडि फैलिएको हुन्छ, त्यो हो–बुबा।
बुबा, यो शब्द सुन्दा मात्रै हृदयमा न्यानोपन अनुभूति हुन्छ। हरेक बालबालिका लागि बुबा जीवनको पहिलो छहारी हुन्, जसले प्रारम्भिक जीवनमा आउने हरेक बाधा व्यवधान छेक्ने दरिलो आड दिन्छन्। बुबाको हात समात्दा बच्चा निडर हुन्छ। बुबाको मुस्कानले डरका सबै रङ्गहरू मेटिन्छ। बाल्यकालमा बुबा केवल पिता मात्र होइनन्, जीवनको पहिलो शिक्षक, पहिलो मित्र, पहिलो पथप्रदर्शक र पहिलो कवि हुन्।
बुबा बाल्यकालको पहिलो नायक हुन्। बच्चा लड्दाँ, बुबाले नै हात समाएर उभ्याउन सिकाउँछन्। बच्चा डराउँदा, बुबाले नै काँधमा बोक्छन्। जब बच्चा नयाँ बाटोमा हिँड्छ, बुबाले औँला दिन्छन्। बाल्यकालका सबै दृश्यहरूमा बुबा कहिले सुरक्षा कवच जस्ता लाग्छन्, कहिले खेलौनाभन्दा रमाइला साथी त कहिले सपना देखाउने मार्गदर्शक। बालकका लागि बुबा कठोर अनुशासन पालक पनि हुन्। र, सबै दुःख मेटाइदिने जादूगर पनि। बुबाको काँधमा बसेर देखिएको आकाश अझै फराकिलो हुन्छ र बुबाको नजरमा हेर्दा देखिने गर्वले बच्चाको मुटु फूलझैँ ढक्क फुल्छ।
बाल्यकाल र बुबा भन्नासाथ सम्झना आउँछ– बुबाको काँधमा चढ्दा देखिने आकाश, बुबाले हात समात्दा पाइने आत्मविश्वास र बुबाको मुस्कानमा झल्किने त्यो अदृश्य शक्ति जसले भन्छ– डर नमान, म छु। बुबा हुनु भनेको जीवनको पहिलो कविता हुनु हो। बुबाको अनुहार हेर्न पाउनु, हात समात्नु, बुबाको आवाज सुन्न पाउनु–यी सबै अनुभव जीवनका अमूल्य क्षण हुन्।बुबा भन्नासाथ केवल प्रेम र सुरक्षा सम्झिनु पर्याप्त छैन। बुबा जीवनको मूल्य, अस्तित्वको गहिराइ र मानवता बुझाउने पहिलो शिक्षक पनि हुन्।
तर, बाल्यकाल सबैको लागि एकै जस्तो हुँदैन।कसैको बाल्यकाल उज्यालो रंगले भरिएको हुन्छ भने कसैको जीवनमा यतिबेला अँध्यारो छायाँ हुन्छ। मेरो बाल्यकाल पनि यस्तै विरोधाभासी अनुभवहरूले भरिएको थियो– एकातिर माया, अर्कोतिर रिक्तता।
मेरो बाल्यकाल सबैको जस्तो उज्यालो थिएन।कतिपयको बाल्यकाल अधुरो हुन्छ– जहाँ बुबा चाँडै हराउँछन् र बालपन अचानक रिक्तताको साक्षी बन्न पुग्छ। साथीहरूको हातमा बुबाको हात देख्दा आफ्नै हात खाली हुनु, त्यो उमेरको सबैभन्दा ठूलो पीडा हो। यस्तो अधुरोपनले बाल्यकाललाई सपनाभन्दा बढी आँसुमा रंगाउँछ।
बाल्यकालमा बुबा हुनु भनेको हरेक बालकको लागि आकाशमा टाँसिएको सूर्योदय हो, जसले उज्यालो मात्र दिन्छ। बाल्यकालमा बुबा गुमाउनु भनेको त्यो सूर्योदयलाई छायाँले ढाकिदिनु हो, जसको याद भने जीवनभर मुटुभरि उज्यालो बनेर बसिरहन्छ।
तर, मेरो बाल्यकालमा एउटा ठूलो कमी थियो– बुबाको अनुपस्थिति। त्यो उमेरमा मृत्युको अर्थ बुझ्न सक्दैनथेँ, तर हरेक दिन कुनै न कुनै रूपमा उहाँको अभाव महसुस हुन्थ्यो।
मैले चार वर्षको उमेरमै बुबा गुमाएँ।जीवनको प्रारम्भिक अध्यायमै बुबा गुमाउनु भनेको एउटा ठूलो अक्षर मेटिनु जस्तै बनिदिँदो रहेछ, जीवनको पहिलो प्रकाश हराउनु जस्तै रहेछ। जुन मेरो जीवनको पहिलो दुःखद् अनुभूति बन्यो। जुन प्रकाशले बाल्यकाललाई उज्यालो बनाउँथ्यो, त्यसले मेरो सोच, मेरो मार्ग दर्शन, मेरो सपनासम्म पनि उज्यालो पार्थ्याे त्यही प्रकाश मैले महसुस गर्न सुरु मात्रै गरेको दिनमा ढल्यो। त्यो उमेरमा बच्चाले संसार बुझ्न त भ्याउँदैन, तर आगोले पोल्दा हात दुख्छजस्तो नै अभावको पीडा भने गहिरो गरी महसुस हुन्छ। बुबाको अभावले बाल्यकालमा आँसु मात्र बाँकी छोडेन, यसले मेरो संवेदनशीलता, मेरो हृदयको गहिराइ, र मेरो भित्री संसारको गहिरो भावलाई जन्म दियो।
चार वर्षमा बुबा गुमाउँदा, सम्झनामा कहिल्यै पुरा अनुहार पनि रहँदैन। बुबाको सम्झनाहरू धुवाँधुवाँ छन्। अनुहारको झल्को दिने धुम्मधुम्म तस्बिर, अधुरो आवाजको गुन्जन, हातको स्पर्शको अधूरो अनुभूति, टुटेका शब्द मात्रै मनको कोठरीमा बाँच्छन्। बुबाको काखमा खेलेको, कहिलेकाहीँ मुस्कानमा बोलाएको झल्को मात्र पाइन्छ। तर यति भए पनि त्यो क्षण जीवनभरको सम्पत्ति बनेको छ।
बुबा भन्नु केवल जन्मदातामात्र होइनन्, संसार बुझाउने पहिलो शिक्षक पनि हुन्। तर चार वर्षमै त्यो शिक्षक हराउँदा, पाठशाला अधुरो भयो। साथीहरूको बुबा स्कुल पठाउन आउँदा मेरो नजर ढोका बाहिर टोलाइरहन्थ्यो–कसैको प्रतिक्षामा, जसले कहिल्यै फर्केर आउनै सकेनन्।त्यो दिनदेखि ‘मसँग पनि बुबा थिए’ भन्ने कुरा भन्नु आफैँमा आँसु हुने कथा बन्यो।
त्यो उमेरको बच्चाले ‘जीवन’को गहिरो अर्थ बुझ्दैन, तर ‘अभाव’ भने चाँडै बुझ्न थाल्दो रहेछ।मैले पनि बुबा गुमाएको दिन, शायद त्यतिखेर सबै कुरा प्रस्ट बुझेको थिइनँ, तर बुबाको अनुहार हराउँदा मेरो बालापन अकस्मात वयस्कतामा धकेलिन पुगेको थियो।
उमेर बढ्दै जाँदा पीडाले फरक रूप लिन थाल्दो रहेछ।बालापनमा नबुझिएको अभाव किशोरावस्थामा घाउ भएर बल्छ। बुबाको काँधमा चढ्न नपाएको, मेलापर्वमा हात समात्न नपाएको, पहिलो किताब पढ्दा बुबाले हेरेर मुस्कुराउने अवसर नपाएको विषयले मनलाई अमिलो पार्दारहेछन्। मानौं एउटा सम्पूर्ण अध्याय सुरु नहुँदै अन्त्य भयो।
बुबा नभएको पीडाले मानिसलाई कमजोर मात्र बनाउँदैन, उसलाई बलियो पनि बनाउँछ।जीवनको पहिलो जिम्मेवारी समयभन्दा अघि आउँछ, संवेदनशीलता गहिरिन्छ।कहिलेकाहीँ लाग्छ, चार वर्षमै बुबा गुमाउनु भनेको मेरो जीवनको पहिलो तितो पाठ थियो, जसको नाम ‘अभाव’ दिने गर्छु।
आज पनि बुबाको मुख हेर्ने दिन आउँदा, म रित्तो बन्छु। आँखाले अनायास बुबा खोज्छन्, तर देखिनुहुन्न।मनको आँखामा भने उहाँको अनुहार झल्झली आइदिन्छ– उही मुस्कान, उही आत्मविश्वास, उस्तै वात्सल्य दृष्टि जसले त्यो बेला मेरो मनको डर भगाउँथ्यो। बुबाको भौतिक अनुपस्थितिले मेरो बाह्य संसारमा रिक्तता छोडे पनि उहाँको आत्मा मेरो हृदयको प्रत्येक कुनामा उज्यालो ज्योति बनेर बाँचेको छ। जसले मेरो जीवनका हरेक दैनन्दिन काममा साहस दिइरहन्छ। त्यो ज्योतिले मेरा काम र निर्णयहरूमा ऊर्जा दिन आइपुग्छ। बुबाले बाल्यकालमा दिनुभएका दुर्लभ उज्याला क्षणलाई सँगालेर राख्नु मेरो विवशता पनि हो। ती क्षणले रिक्त मनमा सिर्जना हुने अधुरोपनलाई हाबी हुन दिँदैनन्। अन्तर्मनको संसारलाई गहिराइ प्रदान गर्छन्।
बुबा अभावको पीडाले मलाई केवल रुन सिकाएको छैन, यसले ममा संवेदनशीलता दिएको छ, मेरा शब्दमा वजन दिएको छ र मेरो भावनात्मक भाषामा शक्ति प्रदान गरेको छ। बुबाको झल्कोमा आउने आँसुहरू केवल दुःखको साक्षी मात्र बनेका छैनन्, त्यसले जीवनजगत जित्न एक भरपर्दो आड पनि बन्छन्।
सम्झनाको सुगन्ध कहिल्यै हराउँदैन।बुबाको बोली, बुबाको चाल, बुबाको स्मृति बाल्यकालको गहिराइमा सधैं गुञ्जिरहन्छ। त्यो गुञ्जन मेरो आत्मविश्वास बनेर थामिरहेको छ। सम्झनाले मलाई साहित्यिक आत्मा दिन्छ। अधुरो अनुहार, अधुरो बोली, केही अधुरा क्षण–यी सबैकुरा मेरो व्यवहारमा परिणत भएका छन्। पीडाले शब्दको रूप लिन्छ र स्मृतिले भावको रंग थप्छ।
त्यही अधुरोपन मेरो जीवनको पहिलो पाठशाला बन्यो।संसारलाई चाँडै बुझ्न सिकायो, संवेदनशीलताको पाठ पढायो। सायद यसैले गर्दा म सामान्य कुरा पनि गहिरो गरी महसुस गर्न सक्ने भएँ। अरूले बुबा गुमाउँदा पछि मात्र शोक गर्छन्, मैले त शोकलाई जीवनकै प्रारम्भिक अध्यायमा पढिसकेँ।
बाल्यकालले मलाई धेरै कुरा सिकायो। जीवन सधैं सजिलो हुँदैन, यसमा रमाइला पनि हुन्छन् र दुःख पनि।आमाको मायाले मलाई बलियो बनाउन मद्दत ग¥यो, तर बुबाको अभावले मलाई धैर्य र स्वावलम्बनको पाठ पढायो।यसले समयभन्दा अगाडि नै जीवनको कटु सच्चाइसँग परिचित गरायो।
यसरी, बुबाको अनुपस्थिति केवल विगतको दुखद् घटना मात्र होइन। बुबा भौतिक रूपमा हुनुहुन्न, तर उहाँको प्रेम, स्मृति र शिक्षा मेरो जीवनमा सदैव बाँचिरहन्छ। जसले हरेक दिन, हरेक क्षण, मलाई जीवन र शब्दको गहिराइ बुझ्न सिकाउँछ। अर्थात् म नै बुवाको स्मृति हुँ।
‘बुबाको मुख हेर्ने दिन’ मेरा लागि केवल पर्व मात्रै होइन, एउटा भावनात्मक तीर्थ पनि हो। यो दिनमा बुबा नभए पनि, म बुबाका स्मृतिसँग संवाद गर्छु। पुरानो तस्बिर हेर्छु, एकान्तमा मौन बसेर सम्झनाको दीप बाल्छु।त्यो दीप नै मेरो तर्पण हो, त्यो मौनध्यान नै बुबाप्रतिको मेरो श्रद्धा हो।
बुबा मसँग हुनु हुन्न, तर मेरो मनमा बुबा छाइरहनुहुन्छ।
प्रकाशित: ७ भाद्र २०८२ ०७:३४ शनिबार





-1200x560-600x400.jpg)