२७ वैशाख २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

‘आज पनि चमेली बोल्दिने कोही भएन’

नेपालका सुप्रसिद्ध जनवादी गायक रामेश्वर श्रेष्ठ (रामेश) ले क्रान्तिकारी गीतहरू गाएर सत्ताको भर्‍याङ चढेका राजनीतिक दल र नेताहरूले गरिब तथा सीमान्तकृत वर्गलाई धोका दिएको बताएका छन्।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा प्रधानसम्पादक गुणराज लुइटेलसँग कुराकानी गर्दै गायक रामेशले व्यवस्था फेरिए पनि भुइँमान्छेको अवस्था नफेरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

२०२८ सालतिर सिर्जना गरिएको कालजयी गीत ‘गरिबको चमेली बोल्दिने कोही छैन...’ को सन्दर्भ कोट्याउँदै उनले ५० वर्ष अगाडिको गीत आजको लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै सान्दर्भिक हुनु देशको विडम्बना भएको बताए।

‘त्यो बेला हामीले पञ्चायत र निरंकुशताविरुद्ध जनता जगाउन यो गीत गाएका थियौं। हिजो यही गीत गाएर हिँड्नेहरू आज सत्ताको उच्च ओहोदामा पुगे,’ गायक रामेशले भने, ‘तर, उनीहरूले गरिबको नाम मात्र बेचे। आज पनि गरिबलाई न्याय दिने र उनीहरूको पक्षमा बोल्ने कोही भएन।’

उनले देशको वर्तमान अवस्थाप्रति व्यंग्य गर्दै युवा पलायनको मुद्दालाई प्रमुखताका साथ उठाए। कृषि प्रधान देश भएर पनि अन्न आयात गर्नुपर्ने र देशका लाखौं युवाहरू खाडी मुलुकमा पसिना बगाउन बाध्य भएको यथार्थले आफूलाई दुःखी बनाएको सुनाए।

‘देशमा ४० लाख युवा अरबको खाडीमा चेपिएका छन्, कतिको ज्यान गएको छ। तर, सत्तामा बस्नेहरूलाई यसको कुनै वास्ता भएन,’ उनले भने।

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह लगायत नयाँ पुस्ताका नेताहरूले समेत ‘गरिबको चमेली’ गीतलाई प्रयोग गरेको सन्दर्भमा सोधिएको प्रश्नमा रामेशले गीतको मर्मअनुसार काम गर्न सुझाव दिएका छन्।

‘गीत गाउनु वा कार्यक्रममा बजाउनु मात्र ठूलो कुरा होइन। यदि गीतको भावनालाई बुझेर साँच्चै गरिब र निमुखाको पक्षमा काम गरिन्छ भने त्यसको अर्थ हुन्छ,’ उनले सुनाए, ‘अन्यथा, आफ्नो स्वार्थपूर्तिका लागि मात्र प्रयोग गरिन्छ भने त्यो गीतको अपमान हो।’

अन्तर्वार्ताका क्रममा उनले ‘राल्फा’ आन्दोलनको इतिहास र आफ्ना सहयात्री मञ्जुलसँग गाउँ–गाउँ पुगेर गरेका सांगीतिक अभियानहरूको स्मरण गरेका थिए।

समाजका विकृति, विसंगति र अन्यायमाथि प्रश्न उठाउनकै लागि राल्फा आन्दोलन र यस्ता क्रान्तिकारी गीतहरूको जन्म भएको उनको भनाइ थियो।

हेर्नुहोस् पूरा अन्तर्वाता : 

प्रकाशित: ९ वैशाख २०८३ २१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App